RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/२ गते
५८९ पटक

विराटनगर-विश्वव्यापी रूपमा फैलिएको कारोना भाइरसको संक्रमणका कारण आयात–निर्यातमा समेत प्रभाव परेको छ । जसअन्तर्गत विराटनगर नाकाबाट हुने चीनसँगको व्यापार ३२ प्रतिशतले गिरावट आएको छ । कोरोनाको उद्गम चीनबाट आयातमा गिरावट आएपछि भन्सारको राजस्वमा समेत त्यसको असर परेको छ ।

विराटनगर–१८ आइसीपीस्थित भन्सार कार्यालयका अनुसार कोरोनाका कारण चीनबाट आउने सामग्रीहरूको आयात प्रभावित भएको हो । विशेष गरी गार्मेन्ट, खेलौना, स्याउ, प्लाष्टिकका सामान, जुत्ता, चप्पललगायतका सामग्रीहरूको आयात घटेको भन्सार कार्यालयका प्रवक्ता गोपी उप्रेतीले जानकारी दिए । प्रवक्ता उप्रेतीका अनुसार चालू आर्थिक वर्षको माघ मसान्तसम्म चीनसँग ८ अर्ब ५५ करोड रूपैयाँको कुल व्यापार भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा चीनसँग १२ अर्ब ७५ करोड रूपैयाँको व्यापार भएको भन्सार कार्यालयले जनाएको छ ।

अघिल्लो वर्षको तुलनामा यस वर्ष ८ अर्बभन्दा व्यापार घटेको देखिन्छ । “कोरोनाका कारण चीनसँगको व्यापार अझै गिरावट हुने देखिएको छ,” उप्रेतीले भने, “चीनबाट लोड भएर आएका सामान आउने क्रम जारी रहेका कारण हालसम्म आयातमा धेरै प्रभाव परेको नदेखिए पनि थप सामान चीनबाट नेपालका लागि लोड नभएकाले आयातमा अझै गिरावट आउने अवस्था छ ।”

विराटनगर नाका प्रदेश १ को प्रमुख नाका हो । यसबाहेक काकरभिट्टा, भद्रपुर, पशुपतिनगर र भान्टाबारी नाकाबाट पनि आयात निर्यात हुने गरेको छ । विशेष गरी विराटनगर र काँकडभिट्टाबाट तेस्रो मुलुक आयात निर्यात हुने गरेको छ । भारतमा समेत कोरोनाको संक्रमण फैलिएका कारण आयात–निर्यात अझै प्रभावित हुने प्रवक्ता उप्रेतीले बताए ।

यसैबीच, आइसीपी सञ्चालनमा आएपछि विराटनगर भन्सार कार्यालयको राजस्व असुलीमा सुधार भएको छ । विगतमा एक साता लाग्ने काम भन्सार कार्यालय आईसीपीमा सरेपछि एकैदिनमा हुन थालेपछि अन्य नाका प्रयोग गर्दै आएका व्यापारी पनि विराटनगर नाका हुँदै सामान आयात गर्न थालेपछि भन्सार कार्यालयको राजस्व असुलीमा सुधार आएको हो । कारोबार दैनिकबाट

प्रतिकृया दिनुहोस्