RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/३ गते
९४ पटक

विराटनगर-संखुवासभा खाँदबारीका वीरेश राई व्यवस्थित बासका लागि सपरिवार मोरङको सुन्दरपुर झरे । पुख्र्यौली सम्पत्ति बेचेर तराई झर्ने उनी एक्ला होइनन्, कानुनी रीत पु-याएर बसाइँ सर्नेको संख्या दिनदिनै बढेको छ । अझ पछिल्लो समय पहाडका जमिन बिक्री हुन छाडेका छन् ।

बिक्री नभएपछि त्यतिकै छाडेर हिंडिरहेका छन् । “बिरामी हुँदा पैसा हुनेले पनि बेलैमा उपचार पाइँदैन,” राईले भने, “आफ्नोभन्दा सन्तानको सुरक्षित भविष्यको खोजीले मान्छे आफ्नो पुरानो थलो छाड्दो रहेछ ।” उनी प्रतिनिधि पात्रमात्रै हुन् । संखुवासभा मात्रै होइन पहाडी जिल्लाबाट बसाइँ सर्नेको ताँती नै लागेको छ पछिल्लो समय ।

भोजपुर भुल्केका कृष्ण भट्टराई गतवर्ष इटहरी झरे । गाउँबाट धेरैजसो बाहुन–क्षत्री परिवार बसाइँ गएका छन् । तिनमा पूर्वशिक्षक, दलका अगुवा र जनप्रतिनिधि पनि छन् । दशकअघि २ सय २० घरपरिवार रहेका भुल्केका भट्टराई समुदाय ५८ मा सीमित भएको छ । धोदलेखानी ५ नेपालटोलका सबै बसाइँ गए ।

छिमेकी र दाजुभाइले छाडेर गएपछि एक्लिएका मणिराम नेपाल पनि इटहरी झरे । उनका अनुसार गाउँबाट १२ घर बाहुन, १० क्षेत्री, ३ राई र २ घर तामाङ बसाइँ गए । हङकङ, सिंगापुर र बेलायती सेनामा नोकरीवालाको बसोबास रहेको धोद्लेखानी ३ को कटुन्जे गाउँमा केही पेन्सनवालाबाहेक अरूले पुरानो थलो छाडिसके ।

मोरङमा प्रदेश १४ जिल्लाका साथै रामेछाप, सिरहा, सप्तरी, सिन्धुली (दुम्जाका कोइरालाहरू बसाइँ गएका), धनुषा, रौतहटबाट समेत बसाइँ आउँछन् । उदयपुरको गाईघाटमा खोटाङ र ओखलढुंगाका मानिसहरू झर्ने गर्छन् । सुनसरी पनि मोरङमा झैं प्रदेश १ भरका सबै जिल्लाबाट बसाइँ आउँछन् । यस्तै, झापामा ताप्लेजुङ, पाँचथर र इलाम जिल्लाबाट बसाइँ आउँछन् । मधेश आन्दोलनपछि सुनसरीको इटहरी झर्नेको चाप छ ।

पूर्वी पहाडबाट तराईका जिल्लामा बसाइँ सर्नेको लर्को पछिल्ला समय अझ बढेको छ । वैदेशिक रोजगारीले पनि पुरानो बाबुबाजेको थलो छाड्ने क्रम बढाएको छ । कारोबार दैनिकबाट

प्रतिकृया दिनुहोस्