RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/४ गते
६८४ पटक

काठमाडौँ, चैत ४ गते । यातायात क्षेत्रको सिन्डिकेट अन्त्यको घोषणा भएको दुई वर्षपछि सरकारले औपचारिक रूपमा सिन्डिकेट अन्त्यसम्बन्धी कानुनी व्यवस्था गर्न लागेको छ ।

प्रतिस्पर्धा प्रवद्र्धन तथा बजार संरक्षण ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमार्फत सरकारले सार्वजनिक यातायात सञ्चालनमा एकाधिकार कायम गर्न नहुनेसम्बन्धी व्यवस्था सहितको विधेयक प्रतिनिधि सभामा दर्ता गरेको हो । सो विधेयक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका तर्फबाट दर्ता भएको हो ।

मूल विधेयकको दफा ८ मा सार्वजनिक यातायात सञ्चालनमा एकाधिकार कायम गर्न नहुनेसम्बन्धी व्यवस्था थप गर्न प्रस्ताव गरिएको छ । दफा ८ मा बजार सीमित गर्न नहुनेसम्बन्धी व्यवस्था छ । प्रस्तावित विधेयकमा ८ (क) थप गरिएको छ । सार्वजनिक यातायात र ढुवानीमा हुने एकाधिकार अन्त्यका लागि नयाँ व्यवस्था प्रस्ताव गरिएको विधेयकमा उल्लेख छ ।

प्रस्तावित व्यवस्थामा भनिएको छ, “कुनै खास सडक मार्ग वा त्यसको कुनै भाग वा निश्चित दूरीमा एकलौटी सेवा सञ्चालन गर्ने उद्देश्यले कुनै खास प्रतिष्ठानको स्वामित्वमा रहेको सार्वजनिक यातायातका साधन वा ढुवानीका साधनबाहेक अन्य प्रतिष्ठानको स्वामित्वमा रहेको सार्वजनिक यातायातका साधन वा ढुवानीका साधन सञ्चालन गर्न रोक लगाउने ।”

प्रतिस्पर्धा नियन्त्रण गर्ने उद्देश्यले मिलेमतो गरी आलोपालो वा चक्रीय प्रणाली लागू गर्न नहुने पनि विधेयकमा प्रस्तावित छ । सार्वजनिक यातायातका साधन तथा ढुवानीका साधन सञ्चालन गर्दा कुनै निश्चित संस्थाको सदस्यता लिन लगाउने, खास रकम तिर्न लगाउने कार्य पनि गर्न नहुने प्रस्ताव विधेयकमा गरिएको छ ।गोरखापत्र दैनिकबाट …

प्रतिकृया दिनुहोस्