RaraNews

किशोर सुवेदी प्रकाशित : २०७६/१२/५ गते
१३१३ पटक
किशोर सुवेदी

युवा भन्ने बित्तिकै १८ वर्ष देखि ४० वर्ष सम्मका उर्जाका केन्द्र लाई बुझिन्छ ।प्रत्येक रास्ट्रको उन्नतिमा त्यस देशका सम्पुर्ण जनताको अहम् भुमिका रहेको हुन्छ भने युवाको भुमिका चाहिँ अन्य जनताको भन्दा विशिस्ट किसिमको पहिलो जिम्मेवारी र कर्तव्य रहेको हुन्छ।रास्ट्रमा आइपर्ने विभिन्न खाले विपत्तिको सामना गर्दै अगाडि बढनु युवाको प्रमुख दायित्व हुन आउछ ।

युवाको परिश्रम र ज्ञानले नै देश समृद्धितर्फ अगाडि बढ्ने हो।युवाको पसिनामा मोति फलाउन सक्ने,ज्योति चम्काउन सक्ने सामर्थ्य रहेको हुन्छ।देशमा ब्याप्त निरंकुशताविरुद्ध होस् चाहे समाजमा रहेका अन्धविश्वास लाई हटाउन होस् युवाको अग्रणि भुमिका रहेको छ।नेपालको इतिहास लाई केलाउदा पनि निरंकुश राणा शासनलाई फाल्न गङगालाल ,दशरथचन्द ,धर्मभक्त ,शुक्रराज जस्ता जुझारु युवाहरुले हासिहासी आफ्नो प्राणको आहुती दिन तयार भएका थिए।

२००४ सालको “जयन्तु सस्कृतम “आन्दोलन को नेतृत्व पनि युवा विद्यार्थीहरुले नै गरेका थिए । युवाहरु स्वभावैले आवेग ,संवेग र विवेक का केन्द्रबिन्दु हुन।युवाहरुमा भएको आवेग र संवेग लाई विवेक मा परिवर्तन गरि समाज र रास्ट्र रुपान्तरणमा लगाउन सकेको खण्डमा रास्ट्र छलाङमय गतिमा अगाडि बढने थियो।

युवाहरुलाइ प्रयोग र उपयोग गरियो रास्ट्रहितमा नभएर ब्यक्तिगत लाभ र पार्टीगत स्वार्थका लागि।निश्चित दल तथा नेताका गुन्डाको रूपमा होस् या त सशस्त्र युद्धका बेला युवाहरूलाई प्रयोग गरियो।शासन सत्ता हत्याउनका लागि निम्छरा शासकहरुले युवाहरुलाइ भर्र्याङ् बनाए।अहिले राज्यको महत्त्वपूर्ण राजनीतिक लाभको पदमा आसिन छोटे राजाहरुलाइ त्यो स्थितिमा पुर्याउनका लागि तत्कालीन अवस्थामा युवाहरुले आफ्नो जिउ ज्यान को बाजि लगाएर टाउकोमा रातो कफन बाधेर लागे।

अहिले तिनै युवाहरु खाडि मुलुकमा घरपरिवार पाल्नका लागि अमुल्य पसिना बगाइरहेका छन् ।हिजोको इतिहासलाई सम्झिएर भक्कानिनु बाहेक अहिले बाकी अरु केही रहेन ।पछिल्लो पुस्ताका युवाहरु मा निराशाको बादल मडारिनु को मुख्य कारण पनि हिजोको इतिहास हो।आजको परिवेश भनेको युवाहरूको आकर्षणको केन्द्र नै वैदेशिक रोजगार परेको छ।नेपालमा बसेर केही काम छैन ।

विदेश गैयो भने त अलि राम्रो ठाउमा घर घडेरि किन्न सकिएला घरपरिवार लाई राम्रो हेरचाह गर्न सकिएला भन्ने विचार व्यक्त हुन्छ,समाज परिवर्तन का वहाक उर्जाका केन्द्रबिन्दु भनिएका चेतनशील डिग्री हासिल गरेका युवाहरुको अनि कसरी बन्छ देश रास्ट्रका खम्बालाइ विदेशी को गुलामी बनाएर?आज दक्षिण कोरिया जानका लागि लोकसेवा आयोग को जस्तै परिक्षा पास गरि स्वास्थ परिक्षण गराई मात्रै जान पाइन्छ।

यसरी छानिछानी दक्ष ,अनुभवी र स्वस्थ मानव युवा जनशक्तिलाई विदेशी रास्ट्रहरुले लगे पछि अनि कसरी बनोस् हाम्रो देश।यो कुरा कहिले आउने हाम्रो रास्ट्र हाक्ने रास्ट्रनायकहरुको मगजमा।कुनै पनि देशका युवावर्ग भनेका रास्ट्रका धन हुन।रास्ट्रले आफ्नो यो धनलाइ उचित प्रयोग गर्न सकेमा नै रास्ट्रको समुचित विकास हुने हो र सम्भव छ।

युवाको शक्तिलाई उचित प्रयोग गर्न नसक्ने देशले कहिल्यै समृद्धिको शिखर स्पर्श गर्न सक्दैनन् ।रास्ट्रमा भएका युवाहरूको ठुलो संख्या लाई पहिचान गरि राज्यले तिनको क्षमता ,सीप अनुसारका कार्यमा सहभागी गराउन आवश्यक छ।हाम्रो देशमा युवा शक्ति को ठुलो जमात छ।हाम्रो देशमा भएको युवा शक्तिलाई राज्यले सहि सदुपयोग गर्न सकेको छैन ।

त्यसैले अन्य छिमेकी मुलुकको तुलनामा हाम्रो रास्ट्र भौतिक विकासमा पछि परिरहेको छ।रास्ट्रको पुर्ण विकास हुन सकिरहेको छैन ।हाम्रो देशको केही अस्थिर राजनीतिका कारण युवाहरुको जोश ,जागर र शक्ति विनाअर्थ खेर गइरहेको छ।जब युवाको मन,मस्तिष्क बौद्धिक र बैचारिक रूपमा खारिएर आवश्यक ज्ञान,सीप,त्याग ,संकल्प र आत्मविश्वासयुक्त हुन्छ,तब उ सच्चा युवा र होनहार नागरिक बन्छ।जवानिको जोश ,शारीरिक शक्ति ,अद्दितिय आत्मविश्वास ,केही गरु भन्ने भावना र आट यश उमेर का केही विशेषता हुन।

युवाहरूले अध्यन र चिन्तन मार्फत देश र जनताको अवस्थाबारे सुक्ष्म अध्यन तथा निरीक्षण गर्ने योग्यता पनि आर्जन गरेका हुन्छन् । यसले नै युवाहरू लाई देश विकास को अगुवा बनाउछ।जब युवाहरुले रास्ट्रको अवस्था थाहा पाउछन्, जब जनता अन्याय ,अत्याचार र दमनमा परेको महसुस गर्छन् त्यतिबेला युवाहरुको शारीरिक तथा बौद्धिक उर्जा त्यस्तो जनबिरोधी तत्व माथी प्रहार गर्न अग्रसर हुन्छ।विश्व मा भएका क्रान्ति ,आन्दोलन तथा विद्रोह यसका उदाहरणहरु हुन।जसमा युवा वर्ग नै अग्रपंक्तिमा रहेको पाइन्छ ।नेपालमा विगतमा भएका आन्दोलन र क्रान्तिले पनि यसको पुष्ठि गर्छ।

देश विकासको मेरुदण्ड राजनीति नै हो।जबसम्म जनता लाई अधिकार सम्पन्न बनाइ देश विकास मा लाग्ने ,लगाउने राजनीतिक ब्यवस्था हुदैन तबसम्म देश विकासको कुरा खाली गफ मात्र हुन्छ।अहिले को राजनीतिक परिवेशमा युवावर्ग यस्तै गफि र दलाल राजनीतिक ब्यवस्थाको विरुद्ध उत्रन सक्नुपर्छ ।ठग र गफि राजनीतिक ब्यवस्थामा नलतपतियर राजनीतिक परिवर्तन को सुत्रधार बन्न सक्नुपर्छ ।

अनि मात्रै सम्भव छ देश विकास गर्न।नेपालमा युवाहरूको लागि उचित गरिखाने ब्यवस्था छैन।त्यसैले युवाहरु आक्रोशित ,निराश र पलायनवादी भैरहेका छन।नेपालको जनसंख्याको सबभन्दा धेरै प्रतिशत युवाको छ झन्डै ४० प्रतिशतभन्दा बढी ।ती युवा कहाँ छन?सबैले दिने उत्तर हो वैदेशिक रोजगारी को लागि राहदानी लिने लाइनमा ,साउदी ,कतार ,दुबइ,मलेसिया ,अस्ट्रेलिया युरोप र अमेरिकामा।आम रूपमा सबैले देखेको दृश्य यो भयो।नेपाली युवा पाइने अर्को ठुलो ठाउ हो प्रहरी हिरासत ,जेल र लागुऔषध सुधारगृहहरु।

सिंहदरबार जानुभयो भने त्यहाँ तपाई ले देख्न सक्नुहुन्छ बुढाहरु को लर्को अनि जेलभित्र जानुभयो भने देख्नुहुन्छ युवाहरु को जमात।आन्दोलन गर्न र ब्यवस्था बदल्न युवा सधैं सडक मा उत्रिनुपर्छ।हजारौं हजार सहिदको सुचीमा सबै युवाहरूको नाम छ ,वृद्धहरुको नाम छैन। चुनाव प्रचारप्रसार देखि सबै काम युवाहरु कै अग्रसरता मा हुन्छ तर चुनाव जितेर मन्त्री -प्रधानमन्त्री ,उच्चस्तरीय पदमा हुने चाहिँ सधैं बुढाहरु हुन्छन् ।हत्या ,बलात्कार ,लागुऔषधको कारोबारोमा फरार अभियुक्तहरु सबै युवाहरु हुन्छन् ।

यो सबै अवस्था लाई विश्लेषण गर्दा सदियौ देखि उहीँ पुरानो अनुहारले सत्ता र राजनीतिको नेतृत्व सम्हालेको देख्दा युवाहरूलाई क्रोध उत्पन्न भएको जस्तो देखिन्छ ।युवाहरू मा देखिएको निराशा र आक्रोशको वेग लाई थाम्न सकिएन र युवाहरुलाइ उत्पादनमुलक कार्यमा लगाउन सकिएन भने देश फेरि अर्को दुर्घटनामा जान सक्ने खतरा बडेर गएको पाइन्छ ।

एमाआरपी सुरु भएयता मात्रै परराष्ट मन्त्रालयको राहदानी विभागले ६० लाख भन्दा धेरै पासपोर्ट जारी गरिसकेको छ।हरेक दिन दुई हजार भन्दा बढी को हाराहारीमा युवाहरुले वैदेशिक यात्राको बाटो तताउछन।खुला सिमा पार गरेर भारततिर चौकिदार गर्न जाने लाखौंलाख युवाको अभिलेख यो देशको कुनै निकाय संग छैन ।

यी र यस्ता तथ्यांकले देखाइरहेको छ ,युवाहरु मानसिक रूपमा बेचैनीमा छन ।हाम्रो देशको राजनीतिमा ३०/४० वर्षदेखि एकै पुस्ताका बुढाहरुले शाशनसत्ताको बागडोर सम्हालिरहेका छन।कानुन बनाछन बुढाहरु सास्ती खेप्नुपर्छ युवाहरुले।रेमिटेन्स पठाएर अर्थतन्त्र ढल्नबाट बचाउछन युवाहरु ,वृद्धभत्ता बढाएर केके न गरे भन्छन् बुढा शासकहरु।

एकै समयमा राजनीतिमा आएका ,उस्तै समयमा हुर्किएकाले त्यो बढो पुस्ताको सोच र व्यबहार पनि उस्तै छ।उनिहरुलाइ न युवाको आकांक्षाहरु थाहा छ न थाहा पाएर त्यसअनुसारको काम गर्छन् ।साम ,दाम ,दण्ड र भेद को प्रयोग गरि पार्टीमा बलियो गुट तयार गर्ने र जसरी पनि चुनाव जितेर सत्तामा जाने खेल मै लिप्त छन।नेपाली राजनीति लाई ओगटन बुढो पुस्ता निकै सक्रिय देखिन्छ।यसैका लागि चाहिने अथाह पैसाको जोहो गर्न भ्रष्टाचार हुने गरेको तथ्य प्रष्ट छ।

विश्वमा ठुलठुला परिवर्तन युवाहरुले नै गरेका छन ।नेपोलियनले २६ वर्षकै उमेरमा विश्वबिजय अभियान थालिसकेका थिए ,गौतम बुद्ध ले ३६ वर्षमै ज्ञान प्राप्त गरिसकेका थिए भने कार्ल माक्र्सले ३० वर्षको उमेरमै कम्युनिष्ट घोषणापत्र लेखी विश्वमा नयाँ राजनीतिक दर्शनको जग बसाइसकेका ,थिए।अहिले को परिस्थिति त्यस्तो रहेन ।बुढाहरु आफू बाचुन्जेल राजनीतिक लाभको पदमा लिप्त भैरहनुपर्ने ,सत्ताको भोगचलन आफुले मात्रै गर्नुपर्छ भन्ने मानसिकता नत्यागे सम्म नयाँ तरिकाको विकास र समृद्धि सम्भव छैन।

प्रतिकृया दिनुहोस्