RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/५ गते
८४५ पटक

बुटवल – बिदामा होस् वा साँझ–बिहान, आफ्ना बालबालिका मोबाइल र ट्याब धेरै चलाएर बिग्रिने हुन् कि भनी चिन्ता लिने अभिभावक धेरै छन्। कतिपय अभिभावकले बालबालिकाबाट ट्याब, मोबाइल लुकाएर राख्ने गरेका पनि छन्। बालबालिकाकै कारण अभिभावकले ट्याब र स्मार्ट मोबाइल प्रयोग गर्न छोडेर सामान्य मोबाइल बोकेका उदाहरण पनि भेटिन्छन्।

छोराछोरीको परीक्षाको मुखमा घरको नेट कनेक्सन हटाउने अभिभावक पनि कम छैनन्। तर बुटवलको एउटा विद्यालयका स्कुले बालबालिकाहरू भने घरमा मात्रै होइन स्कुल पनि ट्याब नै बोकेर जान्छन्। कक्षामा विषय शिक्षक प्रवेश गर्नासाथ झोलाबाट कापी–कलमसँगै ट्याब झिक्छन्। त्यसपछि बल्ल उनीहरूको पढाइ सुरु हुन्छ।

यसरी प्रविधिको प्रयोगबाट बालबालिकालाई स्मार्ट शिक्षा प्रदान गर्न सुरु गरेको हो, बुटवलको सहिद स्मारक बोर्डिङ स्कुलले। सो स्कुलले विगत दुई वर्षदेखि डिजिटलाइज्ड शिक्षण पद्दति अपनाउँदै आएको छ। कक्षा ६ देखि १० लाई बुकलेस (किताबरहित) बनाई डिजिटल माध्यमबाट पढाउँदै आएको विद्यालयका निर्देशक गणेश ज्ञवालीले बताए। प्रविधि प्रयोगमा दक्ष बनाई विश्वबजारमै प्रतिस्पर्धी र सक्षम शैक्षिक जनशक्ति उर्न डिजिटलाइज्ड अध्यापन सुरु गरेको उनले बताए।नागरिक दैनिकबाट

प्रतिकृया दिनुहोस्