RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/८ गते
६५२ पटक

काठमाडौं । सरकारले कोरोना भाइरसको सम्भावित जोखिमसँग लड्न महत्वपूर्ण योजना सार्वजनिक गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै सरकार सम्भावित जोखिमलाई परास्त गर्न सक्षम हुने विश्वास व्यक्त गरेका छन् । उनले सबैको इच्छाशक्ति उच्च मनोबल र आपसी एकताले कोरोना भाइरसको महामारी रोक्न र पराजित गर्न सकिने विश्वास व्यक्त गरेका छन् । उनले संक्रमणबाट जोगिन सचेत भएर बस्न देशवासीलाई आग्रह गर्दै आतंकित नहुन अपिल गरेका छन् । प्रधानमन्त्री ओलीले कोरोना भाइरसको सम्भावित जोखिम न्यूनीकरण गर्न सार्वजनिक सेवादेखि अन्तर्राष्ट्रिय उडान बन्द गर्नेसम्मको योजना सार्वजनिक गरेका छन् । कालोबजारी रोक्न सरकार सक्रिय रहेको बताउँदै उनले सरकारले १० चैतदेखि लामो दूरीका बस सेवा केही अवधिका लागि सञ्चालनमा रोक लगाइएको जानकारी दिए ।

यसैगरी, नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडान आगामी ९ चैतदेखि १८ गतेसम्म स्थगित गरिने उनले बताए ।प्रधानमन्त्रीले आगामी ९ चैतदेखि २१ गतेसम्म सबै सार्वजनिक, सामुदायिक र निजी तहबाट दिइने अत्यावश्यकबाहेक सबै सेवा बन्द गरिने बताए । तर, सरकारी कार्यालय भने बन्द नहुने उनले जानकारी दिए । प्रधानमन्त्री ओलीले अति आवश्यक सेवा दिनुपर्नेबाहेकका कार्यालयको सेवा भने बन्द गरिने बताए ।

‘देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिएअनुसारका अत्यावश्यक सेवाबाहेकका अन्य सबै सेवा आगामी ९ चैतदेखि २१ चैत्रसम्म बन्द गरिएको छ’ प्रधानमन्त्री ओलीले आफ्नो सम्बोधनमा उल्लेख गरेका छन् । सीमा नाकाबाट आवागमन गर्ने यात्रुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखी संक्रमणबाट जोगाउन अनिवार्य स्वास्थ्य जाँचको व्यवस्थासहित आवागमनको व्यवस्था सरकारले मिलाएको छ । यस सम्बन्धमा छिमेकी मित्रराष्ट्रसँग आवश्यक समन्वय गरिने सरकारले जनाएको छ ।

मानिसको भिडभाड हुने स्थान सिनेमा घर आदि हाललाई बन्द गरिएको छ । विद्यालय तथा विश्वविद्यालयका पठनपाठन तथा परीक्षा हाललाई स्थगित गरिएको छ । ‘महामारीको अवस्थालाई हेरी, यहाँहरूकै सहयोगमा थप कदम चाल्न सकिनेछ’ ओलीको सम्बोधनमा उल्लेख गरिएको छ ।

यतिखेर कोरोना भाइरसको महामारीबाट उत्पन्‍न जटिल अवस्थाको कारण सिंगो विश्‍व इतिहासकै सर्वाधिक कठिन मोडबाट गुज्रिरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले विश्‍वका अधिकांश मुलुक यस महामारीको संक्रमणबाट आक्रान्त भएको बताए । ‘सुखद पक्ष, अहिलेसम्म यस संक्रमणको प्रत्यक्ष प्रभाव हाम्रो देश नेपालमा देखिएको छैन । तर, हामी पनि यस जोखिमबाट ढुक्‍क हुने अवस्थामा भने छैनौं’ ओलीले भने ।

देशमा संक्रमण भित्रिन नदिने, सचेतना जगाउने, निगरानी र क्वारेन्टाइनको प्रबन्ध मिलाउने तथा संक्रमितको उपचारको व्यवस्था मिलाउने रणनीति लिई सरकारले सुरुको अवस्थाबाट नै विशेष तयारी गर्दै आएको ओलीले बताए ।

प्रधानमन्त्री ओलीले आफ्नो सम्बोधनमार्फत सरसफाइमा उचित ध्यान दिन, साबुन पानीले पटकपटक हात धुने र स्यानिटाइजर प्रयोग गर्न, भिडभाडबाट टाढै रहन, सकेसम्म घरमै बस्न, अत्यावश्यक वस्तुको अधिक सञ्‍चय गर्न, हल्ला र अफवाहबाट भ्रमित र प्रभावित नहुन, चिकित्सक, विज्ञ तथा प्राविधिकको सल्लाहलाई पालना गर्न, धैर्यवान हुन र संयमता अपनाउनुका साथै सावधान हुन तर आतंकित नहुन अपिल गरेका छन् ।

संक्रमित मुलुकबाट नेपाल आएका सबैले आफू बच्‍न, आफ्नो परिवारलाई बचाउन र समुदायलाई संक्रमणबाट जोगाउन कम्तीमा १४ दिन घरमै क्वारेन्टाइनमा बस्नुपर्ने बताउँदै उनले यस अप्ठ्यारो घडीमा जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।

संक्रमणको रोकथाम, नियन्‍त्रण र उपचारमा सरकारले कुनै कसर बाँकी नराख्ने बताउँदै उनले देशभरका अस्पतालबाट सेवा प्रदान गर्ने, पर्याप्‍त औषधि र उपकरणको प्रबन्ध गर्ने, आवश्यक जनशक्तिको व्यवस्था गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखिएको बताए ।

यस कार्यमा प्रत्यक्ष रूपमा संलग्‍न रहने चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र सुरक्षा निकायलगायतका जनशक्तिलाई उचित प्रोत्साहनसहित उच्च मनोबलका साथ परिचालन गर्ने व्यवस्था मिलाइएको उनले बताए ।

विद्युतीय माध्यमबाट प्रवाह गर्न सम्भव हुने निजी क्षेत्रका सेवा सम्बन्धित कर्मचारी र सेवाप्रदायकले घरबाटै प्रदान गर्न सरकारले आग्रह गरेको छ । सबै सरकारी कर्मचारी र अत्यावश्यक सेवामा कार्यरत निजी क्षेत्रका कर्मचारीले यथावत् रूपमा आआफ्नो कार्यालयमा उपस्थित भई नियमित कामकाज गर्ने ओलीले आफ्नो सम्बोधनमा उल्लेख गरेका छन् ।

सार्वजनिक सेवा प्रवाहका लागि आवश्यक पर्ने निजीसहित सबै प्रकारका सवारी साधन आवश्यकताअनुसार सञ्चालन गर्न सकिने उनले बताए । निजी क्षेत्रको सहयोगमा खाद्यान्‍नलगायतका अत्यावश्यक उपभोग्य सामग्रीको नियमित आपूर्ति हुने व्यवस्था सरकारले मिलाएको छ । तर, अप्ठ्यारो समयको फाइदा उठाउँदै कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्ने, खाद्यवस्तुमा मिसावट गर्ने जस्ता आपराधिक काममा कोही संलग्न भएको पाइएमा प्रचलित कानुनबमोजिम कडाभन्दा कडा कारबाही गरिने चेतावनी सरकारले दिएको छ ।

मुलुकबाहिर ठूलो संख्यामा रहेका नेपालीलाई प्रधानमन्त्री ओलीले कोरोना भाइरसको महामारीका कारण नआत्तिन र चिन्तित नहुन आग्रह गरेका छन् । साथै उनले आवश्यक पर्दा आपूm रहेको देशको कूटनीतिक नियोगमा सम्पर्क राख्न अनुरोध गरेका छन् ।

कोरोना भाइरस महामारीविरुद्ध खर्च गरिने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आह्वान गरेको संयुक्त कोषमा नेपालले १० करोड सहयोग गर्ने घोषणा प्रधानमन्त्री ओलीले गरेका छन् । यस महामारीसँग जुध्न नेपाल छिमेकी, क्षेत्रीय मित्र र अन्तर्राष्ट्रिय समुदायसँग पारस्परिक सद्भाव र सहयोगका साथअघि बढ्ने प्रतिबद्धता ओलीले व्यक्त गरेका छन् ।

‘मिर्गाैला प्रत्यारोपण र उपचारपछिको शीघ्र स्वास्थ्य लाभमा यहाँहरूले मेरो इच्छाशक्ति र उच्च मनोबल प्रमुख कारक रहेको चर्चा गर्दैआउनु भएको मैले सुनेको छु । यस घडीमा मलुकले हामी सबैको दृढ इच्छाशक्ति र उच्च मनोबलको माग गरेको छ । हाम्रो इच्छाशक्ति, उच्च मनोबल र आपसी एकताले कोरोना भाइरसको महामारीलाई रोक्न, पराजित गर्न र अघि बढ्न निर्णायक भूमिका खेल्नेछ भन्ने मैले विश्वास लिएको छु’ ओलीले आफ्नो सम्बोधनमा उल्लेख गरेका छन् ।

२०७२ सालको विनासकारी भूकम्प र त्यसपछि सिर्जित प्रतिकूलतालाई नेपालीले दृढताका साथ सामना गरेको उल्लेख गर्दै उनले यस अप्ठ्यारो घडीमा पनि त्यस्तै दृढतासहित सबै नेपालीले पूर्णसहयोग र साथ दिनेमा प्रधानमन्त्रीले ओलीले आशा गरेका छन् ।

लक डाउनमा बन्द नहुने अत्यावश्यक सेवाहरु

१. डाँक, तार वा टेलिफोन सेवा
२. जल स्थल वा हवाईमार्गबाट यात्री वा मालसामान ओसार पसार गर्ने यातायात सेवा
३. हवाईअड्डा वा हवाईजहाजको देखभाल र सञ्चालनसम्बन्धी कार्य
४. हवाई ग्राउन्ड, रेल्वे स्टेसन तथा सरकारी गोदामका मालसामानसँग सम्बन्धित सेवा
५. प्रिन्ट वा सरकारी छापखानासम्बन्धी सेवा
६. हातहतियार तथा सैनिक सामान वा रक्षा व्यवस्थापनसम्बन्धी सेवा
७. सञ्चार सेवा
८. आन्तरिक सुरक्षासँग सम्बन्धित सेवा
९. खानेपानी सञ्चालन तथा वितरण सेवा
१०. पर्यटन, आवास, मोटेल, होटेल, रेस्टरेन्ट र रिसोर्टसम्बन्धी सेवा
११. पेट्रोलिय पदार्थ, एलपी ग्याँससमेतको भण्डारण तथा वितरणसम्बन्धी व्यवस्था
१२. अस्पताल, स्वास्थ्य केन्द्र र औषधि निर्माण तथा बिक्री वितरणसम्बन्धी सेवा
१३. फोहोरमैलाको संकलन, ढुवानी प्रशोधनलगायतका सेवा
१४. बैंकिङ सेवा
१५. बिमा सेवा
१६. विद्युत् सेवा
१७. दैनिक उपभोग्य वस्तुहरू (खाद्यान्न, दाल, चामल, नुन, तेलको पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा)

सेवा बन्द हुने
१. सबै अन्तर्राष्ट्रिय हवाई उडान ९ चैत्रदेखि १८ गतेसम्मका लागि स्थगित
२. सबै सीमा नाकामा अनिवार्य स्वास्थ्य जाँचको व्यवस्था
३. ९ चैत्रदेखि २१ सम्म अत्यावश्यकबाहेक सबै सेवा बन्द
४. १० चैत्रदेखि केही अवधिका लागि नेपालभर लामो दूरीका सवारी सञ्चालनमा रोक
५. खाद्यन्न तथा उपभोग्य वस्तुको नियमित आपूर्तिको व्यवस्था
६. कालोबजारी गर्नेलाई कठोर कारबाही गरिने
७. अर्थतन्त्रमा संकुचन आउन नदिने प्रतिबद्धता
८. सरकारी कार्यालय भने बन्द नहुने
९. सम्भावित जोखिमलाई परास्त गर्न कुनै कसर बाँकी नराखिने उद्घोष
१०. असहज परिस्थितिको डटेर सामना गरिने
११. असहज परिस्थितिलाई छिटोभन्दा छिटो अन्त्य गरिने
१२. राष्ट्रिय विपद्मा राष्ट्रिय भावना प्रकट गर्न आग्रह
१३. सार्क संयुक्त कोषमा १० करोड

राजधानी दैनिकबाट…

प्रतिकृया दिनुहोस्