RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/८ गते
८६१ पटक

मानिसको बाक्लो चहलपहल हुने व्यापारिक क्षेत्र, सपिङ हल, सिनेमा हल, खुला बजार खालीजस्तै
पढाइका लागि काठमाडौं बसेकी झापाकी सपना ताजपुरिया शुक्रबार बिहानै कलंकी बसपार्कमा भेटिइन् । कोरोना भाइरसको संक्रमण रोकथाम र सतर्कताका लागि सरकारले क्याम्पसको पठनपाठन र परीक्षासमेत स्थगित गरेपछि सपना घर फर्किएकी हुन् ।

‘यहाँ डेरामा एक्लै बस्नुपर्छ, उता घरबाट बाबाले यतै आइज भन्नुभयो, यहाँभन्दा उतै सुरक्षित हुन्छ भन्ने लागेर घर फर्किँदै छु,’ उनले भनिन् । सपना त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरमा एमएड अध्ययनरत छिन् । सपनाजस्तै, दोलखाका नरेश थापा पनि बिहीबारै घर फर्किए । काठमाडौंमा परिवारसहित बसेका उनी शिक्षण पेसा गर्छन् । तर, विद्यालय नै बन्द भएपछि उनी परिवारसहित गाउँ फर्किएका हुन् ।

सरकारले महामारीका रूपमा विश्वव्यापी फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम र पूर्वसतर्कताका लागि शैक्षिक संस्था बन्द गरी भिडभाडमा नजान भनेपछि काठमाडौंमा बसेकाहरू धमाधम गाउँ फर्किन थालेका छन् । दैनिक हजारौँको संख्यामा मानिसहरू बाहिरिन थालेपछि राजधानी काठमाडौं सुनसानजस्तै बन्न थालेको छ । विद्यालय, विश्वविद्यालय, सार्वजनिक सभासम्मेलन, सिनेमा हल बन्द गर्न, २५ जनाभन्दा बढी भिडभाड नगर्न र अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्किन सरकारले आग्रह गरेको छ । सरकारको यो आग्रहपछि काठमाडौं उपत्यकामा मानिसहरूको आवतजावत पातलिँदै गएको हो ।

काठमाडौंमा भन्दा गाउँमा सुरक्षित हुने भन्दै पढाइका लागि डेरा गरी बसेका विद्यार्थी, शिक्षण पेसासँग सम्बन्धित, विभिन्न काममा आबद्ध र साना व्यवसायीहरूसमेत धमाधम गाउँ फर्किन थालेका हुन् । ट्राफिक प्रहरीका अनुसार पछिल्ला तीन दिनमा ३ लाख २ हजार २ सय काठमाडौंबाट बाहिरिएका छन् । शुक्रबार साँझ ६ बजेसम्म ९८ हजार ५ सय १७ जना बाहिरिए । काठमाडौं भित्रिनेको संख्या १८ हजार ९ सय छ । बिहीबार १ लाख ८ हजार ४ सय ५८ राजधानीबाट बाहिरिएका थिए भने १८ हजार ५ सय ५४ जना भित्रिएका थिए । बुधबार ९५ हजार २ सय ४७ बाहिरिँदा १७ हजार ४ सय ४१ जना काठमाडौं भित्रिएका थिए । नयाँ पत्रिका दैनिकबाट…

प्रतिकृया दिनुहोस्