RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/९ गते
३४७ पटक

कोरोना भाइरस महामारीका लागि धेरै मानिसले विश्वव्यापीकरणलाई दोष दिएका छन्। उनीहरू यसको समाधानका लागि विश्वव्यापीकरणलाई रोक्नुपर्ने तर्क गर्छन्। जसका लागि ठूला पर्खाल निर्माण, आवागमनमा रोक र व्यापार नियन्त्रण आवश्यक हुन्छ। महामारी रोक्न अल्पकालीन क्वारेन्टाइन आवश्यक त छ तर दीर्घकालीन आपसी छोइछिटोले समग्र अर्थतन्त्र ध्वस्त हुन सक्छ, त्यतिबेला यो सरुवा रोग नियन्त्रण झनै असम्भव हुनेछ। यो महामारीको उपचार (एन्टिडोेट) भनेको एकआपसमा अलग रहनु होइन, बरु आपसमा सहयोग गर्नु हो।

विश्वव्यापीकरणअघि पनि विश्वमा महामारीले करोडौं मानिसको ज्यान लिएको थियो। चौधौं शताब्दीमा अहिलेका जस्ता जहाज थिएनन्, त्यतिबेला पनि पूर्वी एसिया तथा पश्चिमी युरोपमा ‘ब्ल्याक डेथ’ ले एक दशकभन्दा बढी समय मानव समुदायलाई आक्रान्त पारेको थियो। यो रोगका कारण झन्डै २० करोड मानिसले ज्यान गुमाएका थिए। यसले युरोएसियाका एक चौथाई जनसंख्या सखाप पारेको थियो भने इंग्ल्यान्डका हरेक १० जनामध्ये चारजनाले मृत्युवरण गरेका थिए। फ्लोरेन्स सहरमा एक लाख जनसंख्या रहेकोमा ५० हजारको मृत्यु भएको थियो।

सन् १५२० मार्चमा बिफरबाट संक्रमित एक व्यक्ति मेक्सिकोको फ्रान्सिस डी युगियामा पुग्छन्। त्यही वर्षको डिसेम्बरसम्म मध्य अमेरिकाको कुल जनसंख्याको एकतिहाइ जनसंख्या बिफरको महामारीले सखाप भयो।
सन् १९१८ मा फैलिएको स्पेनिस–फ्लुबाट विश्वको ५० करोड जनसंख्या अर्थात् कुल जनसंख्याको एक चौथाइ संक्रमित भए। स्पेनिस फ्लुले एक वर्षमै १० करोडको ज्यान लिएको अनुमान गरिएको छ। यो मानवीय क्षति चार वर्षसम्म चलेको प्रथम विश्वयुद्धको क्षतिभन्दा बढी हो। यसैगरी भारतमा कुल जनसंख्याको पाँच प्रतिशतले स्पेनिस फ्लुका कारण ज्यान गुमाएका थिए।

सन् १९१८ यता आएर यातायात र जनसंख्या वृद्धिका कारण मानव जाति महामारीको झन् बढी जोखिममा छ। महामारीका कीटाणु फैलावटका लागि टोकियो र मेक्सिको जस्ता सहर मध्यकालीन फ्लोरेन्स सहरको तुलनामा झन् सजिला बनेका छन्। सन् १९१८ को तुलनामा विश्वमा यातायात सञ्जाल व्यापक विस्तार भएको छ। एउटा भाइरस पेरिसबाट टोकियो र मेक्सिको सिटीमा २४ घन्टाभित्रै पुग्न सक्छ। यस्तो अवस्थामा महामारीको नर्कमा हामी बसिरहेका छौं भन्ने हेक्का गर्नुपथ्र्यो। हुन त, पछिल्ला दशकमा महामारीको संख्या र प्रभाव नाटकीय रूपमा निकै घटेको हो। २१औं शताब्दीमा एड्स र इबोलाको प्रकोप रहे पनि यसले सानो जनसंख्यालाई प्रभाव पा-यो।

यो अवधिमा भाइरसविरुद्धको मानवीय लडाइँको प्रमुख अस्त्र ‘आइसोलेसन’ थिएन, सूचना प्रवाह थियो। भाइरस अन्धाधुन्ध उत्परिवर्तनमा भर पर्छ भने वैज्ञानिक तथा डाक्टरहरू सूचनाको वैज्ञानिक विश्लेषणमा भर पर्छन्। १४औं शताब्दीमा ‘ब्ल्याक डेथ’ ले कयौंको ज्यान लिँदा धेरैले यो कसरी भइरहेको छ भनेर जानकारी नै पाएनन्। आधुनिक युगमा प्रवेश नगरुन्जेल धेरै मानिस भगवान् रिसाएका कारण, राक्षस र खराब हावाका कारण यसो भएको भनी विश्वास गर्थे। उनीहरू ब्याक्टेरिया र भाइरसको अस्तित्वबारे जानकार थिएनन्। स्वर्गका दूत र परीहरूमा विश्वास गर्ने मानिसलाई एक थोपा पानीमा आक्रामक लडाकु दस्तावेज हुन्छन् भन्ने हेक्का समेत थिएन। त्यसैले बिफर र ‘ब्ल्याक डेथ’ को महामारीका बेला मानिस प्रार्थना सभा गर्थे। यसले महामारीको समाधान त गरेन, उल्टै ठूलो संख्यामा मानिस भेला हुँदा झन् जोखिम बढेको थियो।

विगत शताब्दीमा वैज्ञानिक अनुसन्धानले महामारीका कारण र यसविरुद्ध लड्ने उपाय खोजी गरेको छ। विकास क्रमको सिद्धान्तले कसरी नयाँ रोग उत्पन्न हुन्छन् र पुराना रोग कसरी फैलन्छन् भनेर प्रस्ट पारेको छ। आनुवांशिक विज्ञान भाइरसबारे जासुसी गर्न सफल छ। मध्यकालीन युगमा ‘ब्ल्याक डेथ’ किन भयो भन्ने हालसम्म यकिन गर्न सकिएको छैन, तर नोवेल कोरोना भाइरसबारे दुई सातामै धेरै जानकारी प्राप्त भइसकेको थियो।

जब वैज्ञानिकलाई महामारीको कारण थाहा हुन्छ, तब त्यसविरुद्धको लडाइँ सहज बन्छ। खोपको विकास, एन्टिबायोटिक, सफा–सुग्घर आनीबानी र सुदृढ स्वास्थ्य संयन्त्रको विकासले मानव जातिलाई अदृश्य भाइरसविरुद्धको लडाइँमा सजिलो बनाइदिएको छ। सन् १९६७ मा बिफरले एक करोड ५० लाख मानिस संक्रमित भए र २० लाखको ज्यान गयो। तर त्यसपछिको दशकमा बिफरविरुद्ध खोपको विकास अत्यधिक सफल रह्यो। विश्व स्वास्थ्य संगठनले सन् १९७९ मा बिफरविरुद्ध लडाइँमा मानवताले विजय हासिल गरेको घोषणा ग¥यो। सन् २०१९ मा बिफरबाट विश्वमा एकजना पनि संक्रमित भएनन्।

इतिहासले कोरोना भाइरसबारे हामीलाई दुई पाठ सिकाएको छ। पहिलो, सीमा बन्द गरेर कोही पनि सदाका लागि सुरक्षित हुन सक्दैन। सम्झनुपर्ने कुरा के हो भने विश्वव्यापीकरण सुरु हुनुअघिको मध्यकालीन युगमा पनि महामारीको विस्तार भएको थियो। त्यसैले आइसोलेसनका लागि ढुंगेयुगमा जानु समस्याको समाधान होइन।

दोस्रो, इतिहासले सूचनाको साझेदारी र विश्वव्यापी ऐक्यबद्धताले मानिसको सुरक्षा भएको देखाएको छ। एउटा देशमा महामारी फैलिएमा, त्यो देशले त्यस्तो महामारीको सूचना इमानदारीसाथ अरु देशलाई उपलब्ध गराउनुपर्छ। यतिबेला चीनले विश्वलाई आफ्नो सिकाइ र अनुभव बाँड्नुपर्छ र यसका लागि ठूलो स्तरमा अन्तर्राष्ट्रिय सहयोग र विश्वासको खाँचो छ।

यसैगरी, प्रभावकारी ‘क्वारेन्टाइन’ का लागि पनि अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य छ। क्वारेन्टाइन र ‘लक–डाउन’ ले महामारी फैलन दिँदैन। तर, विभिन्न मुलुकबीच आपसमा अविश्वास रहँदा यो सम्भव हँुदैन। आफ्नो देशमा कोरोनाबाट सय जना संक्रमित भएका छन् भने तपाईंले सबै सहर र क्षेत्र ‘लक–डाउन’ गर्नुहुन्छ ? यसका लागि अन्य देशले गर्ने सहयोग महत्वपूर्ण हुन्छ। सहर ‘लक–डाउन’ गर्दा आर्थिक स्थिति ध्वस्त हुन सक्छ। तपाईंलाई अरु राष्ट्रले सहयोग गर्छन् भन्ने विश्वास छ भने ‘लक–डाउन’ जस्ता कडा कदम चाल्न सक्नुहुन्छ। तर, अन्य राष्ट्रले तपाईंलाई साथ दिँदैनन् भने तपाईं यस्तो कदम उठाउन आनाकानी गर्नुहुनेछ र त्यतिबेला धेरै ढिला भइसकेको हुनेछ।नागरिक दैनिकबाट …….

प्रतिकृया दिनुहोस्