RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/१३ गते
८२७ पटक

१३ चैत्र, सुर्खेत । कर्णाली प्रदेशमा कोरोना भाईरस रोकथाम तथा प्रतिकार्यको कामलाई थप तिव्रता दिईने भएको छ । विहिवार विहान मुख्यमन्त्री महेन्द्रवहादुर शाहीको अध्यक्षतामा विषयगत मन्त्री र सचिवहरुको संयुक्त वैठक वसि हालसम्म भएका कामको समिक्षा गर्नुको साथै आगामि दिनमा प्रतिकार्यको कामलाई तिव्र र प्रभावकारी वनाउने निर्णय गरेको छ ।

वैठकमा मुख्यमन्त्री शाहीले विश्वव्यापी रुपमा देखिएको कोरोना संकटको सामाधान सरकारको तात्कालिन प्राथमिकतामा रहेको वताउदै रोकथाम तथा प्रतिकार्यको कामलाई उच्च प्राथमिकताका साथ अगाडि वढाउन निर्देशन दिनुभयो ।

विपद व्यवस्थापन कार्यकारी समिति, अनुगमण समिति, आपुर्ति समिति तथा जिल्ला र स्थानीय तहका समितिहरुलाई थप सक्रिय वनाउन र कोरोना रोकथाम तथा प्रतिकार्यलाई थप प्रभावकारी वनाउन पनि निर्देशन गर्नुभयो ।

वैठकले स्वास्थ्यकर्मीहरुका लागि आवश्यक उपकरण, औजार, सुरक्षा सामाग्रि र औषधि लगायतका सामाग्रि तत्काल आपुर्तीका लागि संघीय सरकार, नीजि आपुर्तीकर्ताहरु, वाह्य आपुर्तिकर्ताहरुलाई अनुरोध गर्नुको साथै सम्भावित सवै उपायहरु अवलम्वन गर्ने निर्णय गरेको छ ।

यस्तै वैठकले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लावाट जुम्ला, कालिकोट, मुगु, र हुम्ला जिल्ला, चौरजहारी सामुदायिक अस्पत्तालवाट रुकुम पश्चिम, जाजरकोट, डोल्पा र पुर्वी सुर्खेत जिल्लाको कार्यक्षेत्र तोकी जनशक्ति परिचालन गरि गर्न निर्देशन गर्ने निर्णय गरेको छ ।

वैठकले प्रतिकार्य योजनाको लागि आवश्यक आर्थिक व्यवस्थापन तथा परिचालनका लागि आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालालाई जिम्मेवारी दिने, प्रदेश राजधानी र जिल्ला र स्थानीय तहमा रहेका क्वारेन्टाईनको समन्वय सहजीकरण गर्न भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्री विमला केसीलाई जिम्मेवारी प्रदान गर्ने, प्रदेश अस्पत्ताल र जिल्ला अस्पत्तालहरुमा संकास्पद विरामीहरुलाई आईसोलेशनमा राख्ने, उपचार गर्ने र जनशक्ति परिचालन गर्ने कार्यको समन्वयको लागि सामाजिक विकास मन्त्री दल रावललाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

यसैगरि दश वटै जिल्लामा आपुर्ति व्यवस्थालाई प्रभावकारी वनाउन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिं वुढाको नेतृत्वमा रहेको समितिलाई थप सक्रिय वनाउने पनि वैठकले निर्णय गरेको छ ।

प्रतिकार्य तथा पुर्वतयारीका कार्यहरुमा खटने समिति तथा युनिटहरुको नियमित वैठक, प्रतिवेदन कार्यका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिवको नेतृत्वमा हेल्प डेस्क संचालनमा ल्याउने र प्रतिवेदन, समन्वय तथा संचारको कामलाई वीद्युतीय तथा सामाजिक संजालको माध्यमवाट गर्ने निर्णय पनि वैठकले गरेको सुचना अधिकारी केशव उपाध्यायले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्