RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/१५ गते
११७४ पटक

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ३८ लाख घरायसी ग्राहकलाई २० प्रतिशत विद्युत् महसुलमा छुट दिने भएको छ । १ सय ५० युनिटसम्म विद्युत् प्रयोग गर्ने ग्रहाकले चैत महिनाभरको महसुलमा २० प्रतिशत छुट पाउने भएका हुन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको अध्यक्षतामा शुक्रबार मन्त्रालयमा बसेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समिति बैठकले मन्त्रिपरिषद्समक्ष महसुल छुटका लागि सिफारिस गर्ने निर्णय गरेको हो । कोरोना भाइरस (कोभिड–१९)को महामारी रोकथामका लागि सरकारले घोषित गरेको लकडाउनको समयमा धेरैको रोजगारी गुमेर आर्थिक गतिविधि ठप्प भएको अवस्थालाई मध्यनजर गर्दै ग्राहकलाई राहत दिने निर्णय गरेको छ । मन्त्रालयमा भएको छलफलमा एलपी ग्याँस विस्थापन गरी इन्डक्सनसहित विद्युतीय चुल्हो प्रयोगमा प्रोत्साहन गर्ने निर्णय गरिएको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पुनले बताएका छन् ।

लकडाउनका कारण खाना पकाउने ग्याँसको अभाव देखिएकाले त्यसको विकल्पमा इलेक्ट्रिक कुकिङलाई प्रोत्साहन गर्न तथा सरकारले जनतालाई राहत दिनुपर्ने भएकाले विद्युत् महसुलमा छुट गर्न लागिएको मन्त्री पुनले बताएका छन् । ग्याँसबाट इलेक्ट्रिक कुकिङमा सिफ्ट गर्ने अवसरका रूपमा महामारीलाई उपयोग गर्न सकिने स्पष्ट गर्दै, ‘एकातिर विद्युत्को माग घटेर गएको छ भने अर्कातिर ग्याँसको अभाव देखिएको छ’, मन्त्री पुनले भने, ‘यो ग्याँसबाट इलेक्ट्रिक कुकिङमा सिफ्ट गर्ने उपयुक्त अवसर हो ।’

ग्याँस बाहिरबाट आयात गर्नुपर्ने तर विद्युत् नेपालकै उत्पादन भएकाले इलेक्ट्रिक कुकिङ प्रवद्र्धन गर्दा अर्थतन्त्रमै सकारात्मक असर पर्ने विश्वास व्यक्त गरिएको छ । ‘नाकाबन्दीका बेला पनि ग्याँसको हाहाकार भयो, अहिले पनि अभाव देखिएको छ’, मन्त्री पुनले भने, ‘बिलुजी जस्तोसुकै संकटमा पनि आउने भएकाले स्विच थिचेपछि खाना पाक्छ ।’ सबै उपभोक्ता एकैपटक ग्याँसको विकल्पमा इलेक्टिङक कुकिङमा जान असम्भव भए पनि काठमाडांैसहित सहरी क्षेत्रबाट त्यसको सुरुवात गर्न सकिने पुनले दाबी गरेका छन् ।

३८ लाख ग्राहकलाई १ सय ५० युनिटसम्मको खपतमा २० प्रतिशत छुट दिँदा एक महिनामा सरकारी राजस्वमा ५० करोड नोक्सान हुन्छ । गत आर्थिक वर्षमा प्राधिकरणको महसुलबाट ३० अर्ब रुपैयाँ उठेको थियो ।राजधानी दैनिकबाट

प्रतिकृया दिनुहोस्