RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/१५ गते
१०१६ पटक

काठमाडौं । लकडाउनको चौथो दिन आइपुग्दासम्म तरकारी र फलफूलको मूल्य अकासिएको छ । गत सातासम्म प्रतिकिलो ५० रुपैयाँ पर्ने गोलभेंडाको अहिले बजार मूल्य १ सय २० रुपैयाँ पुगेको छ । पाँच रुपैयाँ पर्ने कागतीको मूल्य २० रुपैयाँ पुगेको छ ।

यो अवधिमा सागको मूल्य प्रतिमुठा २० रुपैयाँबाट बढेर ५० रुपैयाँ पुगको छ । तरकारीसँगै काठमाडौं उपत्यकामा फलफूलको पनि मूल्य बढेको छ । स्याउको मूल्य गत सातासम्म १ सय ५० रहेकोमा अहिले ३ सय रुपैयाँ पुगेको छ भने केराको मूल्य १ सयबाट बढेर १ सय ५० रुपैयाँ पुगेको छ ।

‘कोभिड–१९’ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले सकेसम्म घर बाहिर ननिस्कन र आवश्यक सामग्री किन्नुपरे नजिकैका पसलमा खरिद गर्न आमनागरिकलाई भने पनि त्यस्ता सामग्रीको अभाव रहेको छ । नजिकको पसल अझै नखुलेकाले केही टाढासम्म पुग्नुपरेको महाराजगन्जकी शर्मिला गौतमले बताइन् ।

सरकारले स्टक नराख्न भने पनि उनले खाद्यान्न केही महिनालाई पुग्ने राखेको बताइन् । तरकारी, फलफूल र दूध किन्न दैनिकजसो बाहिर निस्कनुपरेको उनको दुःखेसो छ । थोरै पसल मात्रै खुलेकाले पनि पसलले चर्काे मूल्य लिएको अन्य उपभोक्ताको भनाइ छ । थोरै पसल मात्रै खुलेको कारण बढी मूल्य तिर्न बाध्य हुनुपरेको उनको भनाइ थियो ।

काठमाडौं उपत्यकाका आसपासका क्षेत्रले सहरी क्षेत्रमा तरकारी र दूधको आपूर्ति गर्दै आएकामा यातायातका साधन नहुँदा त्यस क्षेत्रबाट ती सामग्री आउन सकेका छैनन् । खाद्यवस्तु बजारसम्म पु-याउन नपाउँदा दूध र तरकारी त्यसै खेर गइरहेको उनीहरूको गुनासो छ । बजारमा अहिले पनि कतिपयले संकटलाई कमाउने अवसरका रूपमा लिन थालेको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका माधव तिमिल्सना बताउँछन् ।

बजारमा अहिले कृत्रिम अभाव सिर्जना गर्ने, सामान मूल्यभन्दा बढीमा बिक्री गर्ने त कतिले अवधि सकिन लागेको खाद्यसामग्रीको बिक्री गरिरहेका छन् । तरकारी र फलफूल ‘लकडाउन’ पहिलेभन्दा अहिले दोब्बरदेखि तेब्बर मूल्यमा बिक्री हुँदासमेत अनुगमन हुन नसकेको उपभोक्ताको गुनासो छ ।राजधानी दैनिकबाट ….

प्रतिकृया दिनुहोस्