RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/१५ गते
६३८ पटक

काठमाडौं – विश्वभरि फैलिएको कोरोना संक्रमणका कारण नेपाल पनि यतिखेर लकडाउन अवस्थामा छ। यो बन्दाबन्दीको समय लम्बिन सक्ने संकेत सरकारले दिएको छ। यसो हुनु भनेको लामो समय घरभित्रै बस्दा व्यक्तिको जीवनशैलीमा आउने परिवर्तन पनि हो। यस्तो जीवनशैलीले दीर्घरोगी तथा स्वस्थ व्यक्ति दुवैमा विभिन्न किसिमका स्वास्थ्य समस्या निम्त्याउन सक्ने चिकित्सकले औंल्याएका छन्।

चिकित्सकका अनुसार विशेष गरी बन्दाबन्दीका कारण घरभित्रै बस्ने र मिठामिठा परिकार बनाएर खाने गरेको देखिन्छ। कतिपयले समय कटाउन मदिरा सेवन, अनावश्यक मात्रामा चिल्लो तथा गुलियो पदार्थ पनि खाने गरेको सुनिन्छ। घरभित्रै बस्ने र व्यायाम नगर्नाले मधुमेह, रक्तचाप, कोलस्ट्रोल बढ्ने तथा मुटुका रोगीमा धड्कन बढ्नेजस्ता समस्या आउन सक्छन्। यीसँगै मानिसहरु घरभित्र कोरोनाको त्रास बोकेर बसेका कारण पनि रक्तचाप बढ्ने, छाती दुख्ने, स्वाँस्वाँ बढ्नेजस्ता समस्या देखिएका छन्। मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलका अनुसार अहिले रोगभन्दा डरका कारण यस्ता लक्षण बढी देखिने गरेका छन्।

कोरोनाको जोखिमका कारण रक्तचाप, मुटु तथा अन्य दीर्घरोगी सीधै अस्पताल पुगेर उपचार गर्न सक्ने अवस्था नभएपछि विभिन्न सामाजिक सञ्जालमार्फत बिरामीको सूचना संकलन गरी परामर्श दिनेगरेको मनमोहन कार्डियो भास्कुलर तथा थोरासिक सेन्टरका मुटुरोग विशेषज्ञ डा. रत्नमणि  गजुरेल बताउँछन्। ‘विशेष गरी मुटु, रक्तचाप, मधुमेह र  गम्भीर खालको उपचार गराइरहेका बिरामीका हकमा अनलाइन परामर्श दिइरहेका छौं’, डा. गजुरेलले भने। लामो समय लकडाउन भएमा यी दीर्घरोगीमा विभिन्न समस्या आउन सक्छन्। त्यसैले यस्ता बिरामी र अन्य स्वस्थ व्यक्तिले पनि लकडाउनको बेला आफ्नो मानिसिक र शारीरि क स्वास्थ्यप्रति सचेत हुन आवश्यक रहेको चिकित्सक बताउँछन्। लामो समय कोरोनाको त्रासमा घरभित्रै बसिरहनुपर्दा भावनात्मक समस्या पनि आउन सक्ने त्रिवि शिक्षण अस्पतालका मानसिक रोग विभाग प्रमुख डा. सरोजप्रसाद वझा बताउँछन्। उनका अनुसार त्रासका कारण निद्रा नलाग्ने, तनाव बढ्ने, डराउनेजस्ता समस्या आउन सक्छन्। तनावले व्यक्तिको शारीरिक र मानसिक स्वास्थ्यमा असर पार्ने भएकाले बन्दाबन्दीका बेला स्वस्थ भएर जिउने कला हरेकमा हुनु जरुरी छ।नागरिक दैनिकबाट …

प्रतिकृया दिनुहोस्