RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/२१ गते
११९२ पटक

काठमाडौं, चैत २१ । फोर्ब्सले बिहीबार उद्यमी, सामाजिक काममा सक्रिय, नेतृत्वदायी र समाजमा सकारात्मक भूमिका निर्वाह गरेका ३० वर्षभन्दा कम उमेरका एसियाली युवाको नाम सार्वजनिक गरेको हो।

उहाँहरु आआफ्ना कार्यक्षेत्रअनुसारका विभिन्न विधाका ३० प्रभावशाली युवाको सूचीमा पर्नुभएको हो । फोर्ब्सका अनुसार यसमा सूचीकृत हुन ३५०० को ‘नोमिनेसन’ भएको थियो। यसमध्ये तीन सय जना छानिएका छन, जसमा ५ नेपाली युवाले पनि आफ्नो स्थान बनाएका छन्।

यी हुन फोर्ब्सको सूचीमा पर्ने नेपाली

गल्फ खेलाडी प्रतीमा शेर्पा ‘इन्टरटेन्मेन्ट तथा स्पोर्ट्स’ विधामा सूचीकृत हुनुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको रोयल नेपाल गल्फ कोर्षमा काम गर्ने बुवाका साथमा बस्दादेखि नै शेर्पाले गल्फ खेल्न थाल्नुभएको हो । ११ वर्षको उमेरमा खेल्न सुरू गर्नुभएकी शेर्पाको पहिलो गल्फ क्लब रूखको हाँगाबाट बनाइएको फोर्ब्सले लेखेको छ। उहाँ नेपालकै अब्बल गल्फ खेलाडी मानिनुहुन्छ । शेर्पाका आमाबुवा अझै पनि रोयल गल्फ कोर्षभित्रै बस्दै आउनुभएको छ ।

यस्तै निकिता आचार्य र किरण तिम्सिना ‘अर्बान गर्ल’ अनलाइन कम्पनीका संस्थापक हुनुहुन्छ । फोर्ब्सको सूचीमा उहाँहरू ‘रिटेल एन्ड इकमर्स’ विधाका ३० मध्येमा सूचीकृत हुनुभएको हो । सन् २०१२ मा आचार्य र तिम्सिनाले करिब २० हजार रूपैयाँमा व्यवसाय सुरू गर्नुभएको थियो । अर्बान गर्लले विभिन्न डिजाइनका गरगहनादेखि ‘कस्टमाइज्ड’ टिसर्ट, पानीको बोतलका साथै मेकअप, घर सजावटका र विद्युतीय सामान बिक्री गर्छ।

फोर्ब्सका अनुसार यो कम्पनीमा अहिले ५० जनाभन्दा बढी कर्मचारी छन्। काठमाडौं र पोखरा गरी दुई ठाउँबाट काम गरिरहेको कम्पनीले सन् २०१६ देखि बेकरीजन्य सामग्री पनि बेच्छ। ‘युजी केक्स’ नामक यो कार्यक्रमले कान सुन्न नसक्ने महिलाहरूलाई तालिम दिएर रोजगारी दिँदै आएको छ।

इञ्जिनियर शुभांगी राणा र मानवअधिकार अधिवक्ता जेस्सेलिना राणा ‘प्याड टु‍ गो’ संस्थाका स‌ंस्थापक हुनुहुन्छ। राणाद्वयको नाम ‘सोसल अन्ट्रप्रनर विधामा परेको हो। उहाँहरूको संस्था सन् २०१८ मा स्थापना भएको हो जसले महिनावारी स्वास्थ्य र यसबारे समाजमा विद्यामान भ्रम हटाउन काम गर्छ। यसले सातै प्रदेशमा विभिन्न बैंक, स्कुल, फिल्म हल, अस्पताल लगायत ठाउँमा ८० वटा प्याड भेन्डिङ मेसिनु’ राखिसकेको छ। स‌ंस्थाले महिनावारीबारे सचेतना कार्यक्रम र स्यानिटरी प्याड सस्तोमा उत्पादन गर्ने कम्पनीसँग सहकार्य पनि गर्छ।

 

प्रतिकृया दिनुहोस्