RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/२४ गते
१६८४ पटक

चैत २४ ।  प्रधानमन्त्री केपी ओलीको सरकारी निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस उच्चस्तरीय समन्वय समितिमा नरहेका बाँकी नौ मन्त्रीलाई परिभाषित जिम्मेवारी तोकेको हो ।

बालबालिका, समाजकल्याण तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङलाई कोरोना भाइरसको संक्रमणले बालबालिकाहरूमा पारेको र पार्न सक्ने असर तथा त्यसमा गर्नुपर्ने सुधारात्मक कामका साथै उनीहरूलाई सम्बोधन गर्नुपर्ने विषयमा कार्ययोजना तयार पार्ने जिम्मेवारी तोकिएको छ । त्यस्तै, मन्त्री गुरुङलाई नै भाइरसको रोकथाम र नियन्त्रणका लागि सामाजिक संघसंस्थाहरूलाई परिचालनका लागि समन्वय गर्ने जिम्मेवारी दिइएको छ ।

यस्तै युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मालाई युवा खेलाडीहरूलाई कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा राहत वितरणका लागि स्वयंसेवकका रूपमा तयार गरेर परिचालन गर्ने जिम्मेवारी तोकिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्याललाई गण्डकी प्रदेश सरकारसँगको समन्वय गर्ने र वनमन्त्री शक्तिबहादुर बस्नेतलाई कर्णाली प्रदेश सरकार र भौतिक पर्वाधार तथा यातायात मन्त्री बशन्त नेम्वाङलाई प्रदेश एक सरकारसँगको समन्वय गर्ने जिम्मेवारी तोकिएको छ ।

बैठकले उर्जामन्त्री वर्षमान पुनलाई प्रदेश ५ को सरकार, कानुनमन्त्री डा. शिवमाया तुम्बाहाम्फेलाई संसद्मा रहेका राजनीतिक दलहरूसँगको समन्वय, श्रम तथा रोजगारमन्त्री रामेश्वर राय यादवलाई प्रदेश २ को सरकारसँगको समन्वयको जिम्मेवारी तोकिएको छ । यसैगरी खानेपानी तथा सरसफाइमन्त्री बिना मगरलाई सुदूरपश्चिम प्रदेश सरकारसँगको समन्वयको जिम्मेवारी तोकिएको छ । कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सरकारले गत १८ फागुनमा उच्चस्तरीय समन्वय समति गठन गरेको थियो । समितिमा बाँकी नौ मन्त्री थिए । तर, समितिमा नरहेका मन्त्रीहरूलाई लकडाउनपछि परिभाषित जिम्मेवारी नतोकिएकाले फुर्सदिलाजस्ता बनेका थिए ।

 

प्रतिकृया दिनुहोस्