RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/२७ गते
१०२३ पटक

काठमाडौं : लामो लकडाउनका कारण खाद्यान्न र अत्यावश्यक वस्तुको अभाव सिर्जना हुने हो कि भन्ने सर्वसाधारणमा त्रास देखिन्छ। तर, ढुक्क हुनुहोस्, देशमा पर्याप्त मौज्दात छ। सरकारको तथ्यांकले भन्छ– विभिन्न व्यवधान छिचोल्दै भए पनि विदेशबाट आयात बढाइएको छ।

‘लकडाउन लम्बिनसमेत सक्ने अवस्थालाई दृष्टिगत गर्दै खाद्यान्न तथा दैनिक अत्यावश्यक वस्तुको आयात र भण्डारण बढाइएको छ’, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले भने, ‘आपूर्ति प्रणाली थप व्यवस्थित पारिएको छ।’

लकडाउनयता बुधबारसम्म सरकारले ४३ करोड ९२ लाख ६६ हजार रुपैयाँको तयारी औषधि आयात गरेको छ। औषधि उद्योगलाई चाहिने कच्चा पदार्थ ९ करोड २ लाख ६५ हजार रुपैयाँ यस अवधिमा भित्रिएको छ।

त्यस्तै, खाद्यान्न ३१ हजार १ सय २५, दलहन ११ हजार १ सय ३४, तरकारी १८ हजार ५ सय ७४, फलफूल ५ हजार १ सय १८ र दुग्धजन्य पदार्थ ३० मेट्रिकटन दुई सातामा आयात भएको छ।

‘आवश्यकताअनुसार भण्डारण क्षमता बढाउन गोदाम भाडामा लिन सकिनेछ। लकडाउनमा आमजनताको सहजताका लागि सरकारी स्वामित्वको खाद्य संस्थानले अनलाइन व्यापार पनि सुरु गरिसकेको छ’, मन्त्री भट्टले भने। राजधानीमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङसँग मात्रै अत्यावश्यक खाद्यवस्तु भण्डारण गर्न मिल्ने गोदाम छन्। आपूर्ति सहज भइरहेकाले उपभोक्ताले चाहिनेभन्दा बढी मौज्दात राख्नु नपर्ने मन्त्री भट्टले बताए।

विपद्मा आपूर्ति व्यवस्था सहज बनाउन भूकम्प र नाकाबन्दीले पाठ सिकाएकाले पनि लकडाउन अवधिमा आपूर्तिमा खासै समस्या नआउने देखिन्छ। अहिले अत्यावश्यक वस्तुको आयातमा कुनै असर परेको छैन।अन्नपुर्ण पोष्ट दैनिकबाट

प्रतिकृया दिनुहोस्