RaraNews

काठमाडौंबाट हिँडेरै सात दिनमा भालुवाङ

दिनमा १८ घन्टासम्मको हिँडाइले खुट्टा सुन्निएका मजदुर भन्छन्– खानेकुरा सकियो, आफ्नै देशमा अलपत्र भयौँ

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/२७ गते
१५८ पटक

कैलालीको भजनी गाउँपालिकाका विक्रम डँगौरा काठमाडौंबाट घर जान भनेर हिँडेको सात दिन भयो । बल्लतल्ल बुधबार दाङको भालुवाङ आइपुुगेका उनलाई घर पुग्न अझै उत्तिकै लामो बाटो पार गर्नु छ । लामो हिँडाइले उनका खुट्टा सुन्निएको पीडा त छ नै, झोलामा खानलाई राखेको चिउरा पनि सकिएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको लमही र भालुवाङ क्षेत्रमा बुधबार भेटिएका मजदुर
विक्रमसँगै भेटिएका बर्दियाकै बारबर्दिया गाउँपालिकाका ६० वर्षीय सूर्यप्रसाद रिजाल पनि तनहुँबाट पाँच दिन लामो बाटो पार गरेर बल्लतल्ल भालुवाङसम्म आइपुगेका छन् । दिनरात गरी करिब १८ घन्टा हिँँडेर उनीहरू घर पुग्ने आधा बाटो छिचोल्न सफल भएका हुन् ।

विक्रम र सूर्य एक महिनाअघि मात्र घर खर्च चलाउने पैसा जुटाउन भनी क्रमशः काठमाडौंको सामाखुसीमा घर र तनहुँमा कुलो बनाउने कामका लागि गएका थिए । तर, घर खर्च चलाउने भनी पैसा कमाउन हिँडेका उनीहरू लकडाउनका कारण आफैँ घरसम्म पुग्न सकिरहेका छैनन् ।

बिरानो ठाउँमा खाने अन्न नभएपछि बाध्यतावश कोसौँ टाढाको घर पुगे बाँच्न सकिने आशामा हिँडेका उनीहरू अलपत्र अवस्थामा छन् । सरकारले लकडाउन घोषणा गरेसँगै कमाइको बाटो त बन्द भयो नै, पेट भर्ने मेसो पनि बन्द भएको उनीहरू बताउँछन् । ‘भारतीय ठेकेदार थियो, ऊ भागेर हिँड्यो । केही दिनलाई पुग्ने चामल थियो । त्यसले पुग्नेसम्म बस्यौँ । त्यसपछि दिने कोही पनि भएन,’ डँगौराले भने, ‘भोकै मर्नुभन्दा हिँडेरै भए पनि पुगिन्छ कि भनेर हिँडेको हो । तर, यहाँ आएर अलपत्र परियो ।’

घर फर्किएका सयौँ मजदुर राजमार्गमा अलपत्र

पूर्व–पश्चिम राजमार्गमा लकडाउन घोषणा गरिएको केही दिनपछि पैदल यात्रा गरेर घर पुग्न खोज्नेहरू दिनहुँ सयौँको संख्यामा भेटिने गरेका छन् । राज्यले उनीहरूलाई हिँडेर घरसम्म पुग्न सकिने छुट दिएको छ, तर सवारीसाधनमा जान दिएको छैन । दिनभरि पिच सडकमा हिँडेर भए पनि आफ्नै घर पुग्न खोज्ने प्रायः ती मजदुरको प्रश्न छ– ‘हिँडेर भोकै भए पनि जाऊ भन्ने, तर सवारीसाधनमा पुर्‍याउन नसकिने यो कस्तो खालको सरुवारोग हो ? यो उखरमाउलो गर्मीमा हामीजस्ता सयौँ नागरिक सडकमा भोकै हिँडिरहँदा मन नपोल्ने यो कस्तो सरकार हो ?’ यसरी अलपत्र पर्नेहरूमा रोजगारीका लागि दैनिक ज्यालामा काम गर्ने मजदुर छन् ।

सरकारले लकडाउन घोषणा गरेसँगै आफूले काम गर्ने स्थानमा खान पाउने अवस्था नभएपछि घर जान भनी हिँडेका सयौँ यात्रु पूर्व–पश्चिम राजमार्गमा भेटिन्छन् । भालुवाङमा भेटिएकी पाल्पाबाट चार दिनअघि घर जान भनेर हिँडेकी कैलालीकी शारदा सुनारले राजमार्गमा आफूहरूजस्तै सयौँ यात्रु अलपत्र अवस्थामा रहेको बताइन् । ‘यो गर्मीमा पिच सडकमा हिँड्नुपर्दा कैयन् मजदुर बाटोमै बिरामी परेका छन् । भोकै, चिउराको भरमा हिँडेका छन् । किनकि उनीहरूसँग अरू विकल्प पनि छैन,’ उनले भनिन्, ‘राज्यले सबैलाई एउटै व्यवहार नगरिदिए हुन्थ्यो । कोरोनाले के गर्ला भन्न सकिन्न, तर यो गर्मीमा यही अवस्थामा हिँड्नुपरे कैयन्ले बाटोमै ज्यान गुमाउनुपर्ने हुन सक्छ ।’ यसरी राजमार्ग हिँड्नेहरूमध्ये ज्येष्ठ नागरिकको अवस्था अत्यन्त कठिन भएको उनको भनाइ छ । नयाँ पत्रिका दैनिकबाट …..

प्रतिकृया दिनुहोस्