RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/२९ गते
६५९ पटक

चैत २९, काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले कोरोनाभाइरसका कारण विभिन्न देशहरूमा लागु गरिएका लकडाउन खोल्न हतार गरिए त्यसले भाइरसको घातक पुनरोदय हुनसक्ने चेतावनी दिएको छ ।

डब्लूएचओका प्रमुख डा. टेड्रस एड्हानोम गेहब्रेयससले देशहरूलाई बन्दाबन्दी खोल्नेबारे सचेत हुन आग्रह गरेका छन् । युरोपमा कोरोनाभाइरस सङ्क्रमणको मारमा परेको इटली र स्पेनले लकडाउनलाई जारी राख्दै बन्देज केही खुकुलो पार्ने बताइरहेका बेला गेहब्रेयससको चेतावनी आएको हो ।

कतिपय देशहरूले बन्दाबन्दीका कारण गम्भीर आर्थिक प्रभाव बेहोरिरहेका छन् । युरोपमा कोरोनाभाइरस सङ्क्रमणको सबभन्दा खराब असर बेहोरिरहेका इटली र स्पेनले त्यहाँ लगाइएका ‘लकडाउन’लाई जारी राख्दै बन्देजमा केही खुकुलो पार्ने बताइरहेका छन् ।

संसारभरिमा अहिले सङ्क्रमितको सङ्ख्या १६ लाख नाघेको छ भने मर्नेहरूको सङ्ख्या पनि एक लाख नाघेको छ । उनले विभिन्न सरकारहरूसँग मिलेर डब्लूएचओले बन्देजहरू खुकुलो पार्ने रणनीति निर्माण गरिरहेको तर तत्काल त्यसका लागि हतार भने गर्न नहुने बताए । ‘बन्देजहरू चाँडै हटाइएमा भाइरसको घातक पुनरोदय हुनसक्छ’ उनले भने ।

डब्लूएचओका प्रमुखले केही युरोपेली देशमा सङ्क्रमणको गति घटेकोमा सन्तोष प्रकट गरेका छन् । अमेरिकामा पनि अधिकारीहरूले त्यहाँ कोरोनाभाइरसको महामारी अब उच्च तहमा पुग्न लागेको हुनसक्ने बताएका छन् ।

ह्वाइट हाउसको कोरोनाभाइरस कार्यदलकी प्रमुख डिबोरा बिर्क्सले शुक्रवार उत्साहप्रद सङ्केतहरू देखा परेका तर अझै पनि महामारी उच्च विन्दुमा पुगिनसकेको बताइन् । यसबीच डा. टेड्रसले भाइरस अब अन्य देशमा तीव्र दरले फैलिरहेको चेतावनी दिएका छन् । उनले अफ्रीकामा ग्रामीण क्षेत्रमा भाइरस पुगेको बताए ।

बीबीसी

प्रतिकृया दिनुहोस्