RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/३० गते
३१६७ पटक

धनगढी । सुदूरपश्चिम प्रदेशको कैलालीमा तीन र कञ्चनपुरमा एक गरी चार जना कोरोना संक्रमित देखिइसकेका छन् । संक्रमित चारै जनाको अहिले सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । अस्पतालले चारै जना बिरामीको अवस्था सामान्य रहेको जनाएको छ ।

सरकारले सेती प्रादेशिक अस्पताललाई कोरोना डेडिकेटेड अस्पतालमा रूपान्तरण गरेको छ । तर, अस्पतालमा भने समस्या नै समस्यामा बल्झिएको छ । प्रदेशमा कोरोना संक्रमणले गम्भीर रूप लिएको अवस्थामा बिरामी राख्न अस्पतालमा पर्याप्त मात्रामा आईसीयू र भेन्टिलेटर छैनन् । आवश्यकताअनुसारको जनशक्ति पनि छैन ।

हाल सेती प्रादेशिक अस्पतालमा पाँच बेड रहेको सघन उपचार कक्ष (आईसीयू) र एउटा भेन्टिलेटर मात्र छ । कोरोना संक्रमणको जोखिमलाई ध्यान दिँदै अस्पतालमा २३ वटा आइसोलेसन वार्ड बनाइएका छन् । अस्पतालका डा. जगदीश जोशीले संक्रमण फैलिएको अवस्थामा यो तयारी पर्याप्त नरहेको बताए ।

उनले भने, ‘अहिलेलाई पर्याप्त भए पनि संक्रमण फैलिएको अवस्थामा भने भेन्टिलेटर, आईसीयू र आइसोलेसन वार्ड थप्नुपर्ने हुन्छ ।’ अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले भने, ‘अहिले हामीसँग एउटा मात्रै भेन्टिलेटर छ । अब तत्काल दुइटा किन्ने तयारी भइरहेको छ ।’

सेती प्रादेशिक अस्पतालमा तीन जना कन्सल्ट्यान्ट फिजिसियन र क्रिटिकल कन्सल्ट्यान्ट फिजिसियन रहेका छन् । ११औं तहका ३० जना चिकित्सकको दरबन्दी भए पनि हाल १४ जना मात्रै कार्यरत रहेको अस्पतालका सूचना अधिकारी श्रेष्ठले बताए ।

हाल सेती प्रादेशिक अस्पतालमा फिजिसियन, स्त्रीरोग विशेषज्ञ र मेडिकल सुपरिटेन्डेन्टको पद रिक्त छ । बाल रोग विशेषज्ञ हेमराज पाण्डेयले मेडिकल सुपरिन्टेन्डेन्टको जिम्मेवारी सम्हालिरहेका छन् ।

‘हामीकहाँ पहिलेदेखि नै चिकित्सकको अभाव थियो । त्यसैमाथि कोरोनाको परीक्षण र उपचार हुँदा थप समस्या परेको छ,’ सूचना अधिकारी श्रेष्ठले भने, ‘उपकरण पठाएको सरकारले चिकित्सक नपठाउँदा हामीलाई कठिनाइ भएको छ ।’

गत १४ चैतमा दुबईबाट फर्किएका धनगढी उपमहानगरपालिकाका ३४ वर्षीय युवकमा कोरोनाको संक्रमण रहेको पुष्टि भएको थियो । युवकमा कोरोना पुष्टि भएपछि उपचारमा संलग्न चिकित्सकहरू नजिक जान पनि डराए । कारण थियो– पर्सनल प्रोटेक्टिभ इक्यूपमेन्ट (पीपीई) अभाव । समयमै सरकारले चिकित्सकलाई आवश्यक सामग्री उपलब्ध नगराउँदा उनीहरू जिम्मेवारीबाट पन्छिनुपरेको थियो । अहिले संघीय सरकारले सामग्री उपलब्ध गराए पनि अझै पर्याप्त नभएको चिकित्सकहरू बताउँछन् ।

प्रदेशमै आवश्यक जनशक्ति र उपकरणको कमी
नौ वटा जिल्ला रहेको सुदूरपश्चिम प्रदेशमा २८ लाख बढी जनसंख्या रहेको २०६८ सालको जनगणनामा उल्लेख छ । प्रदेशमा कोरोनाको संक्रमण फैलिए आवश्यक भेन्टिलेटर र आईसीयू यहाँस्थित सरकारी तथा निजी अस्पतालमा छैनन् । सुदूरपश्चिममा सरकारी र निजी अस्पतालमा गरी २५ बेड आईसीयू र १० वटा भेन्टिलेटर रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रदेशको महाकाली अस्पतालमा चार बेड तथा धनगढीको निजी अस्पताल नवजीवन र माया मेट्रोमा पाँच–पाँच तथा निसर्ग अस्पतालमा ६ बेडको आईसीयू छन् । सेती र महाकाली अस्पताल तथा दार्चुला र डडेल्धुरा जिल्ला अस्पतालमा एक–एक भेन्टिलेटर रहेको मेडिकल अधिकृत भूषण मिश्रले जानकारी दिए । उनले बाँकी ६ वटा भेन्टिलेटर निजी अस्पतालमा रहेको बताए ।

सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पाण्डेले प्रदेशमा २५ वटा आईसीयू र १० वटा भेन्टिलेटर हात्तीको मुखमा जिरा जस्तै भएको बताए ।

‘अहिले नै उपकरण र जनशक्तिको न्यूनतम तयारी नगरे संक्रमण फैलिएको अवस्थामा हुने परिस्थितिको कल्पना पनि गर्न सकिन्न,’ डा. पाण्डेले भने, ‘तर पूर्वतयारी नै भएको देखिँदैन ।’

प्रदेशमा चिकित्सकीय जनशक्ति र औषधि उपकरण तथा सामग्रीको पनि अभाव छ । प्रदेशमा उपचारमा खटिने कन्सल्ट्यान्ट फिजिसियन, क्रिटिकल केयर फिजिसियनको संख्या प्रदेशभरिका सरकारी अस्पतालमा ९ मात्र रहेको छ । त्यस्तै, मेडिकल अफिसर ५९ जना, स्टाफ नर्स १ सय ५२ जना, अनमि ८७ जना र ल्याब टेक्नेसियन ५३ जना रहेका मेडिकल अधिकृत मिश्रले जानकारी दिए ।

प्रदेशको महाकाली अस्पतालमा ११औं तहको मेडिकल सुपरिन्टेन्डेन्ट हुनुपर्नेमा नवौं तहका स्त्रीरोग विशेषज्ञ डा. हरि श्रेष्ठले निमित्त भएर चलाइरहेका छन् । प्रदेशभित्र सञ्चालित १४ सरकारी अस्पतालमा १ सय ३४ जनाको दरबन्दी छ । तर, हाल पदपूर्ति ४१ मात्रै छ । स्थानीय तह र अन्य निकायले वैकल्पिक स्रोतको व्यवस्था गरी ५८ चिकित्सक करारमा राखेका छन् । प्रदेशभित्रका सरकारी अस्पतालमा १ सय २९ स्टाफ नर्सको दरबन्दी छ । तर, ४१ प्रतिशत रिक्त छन् । करारमा ४९ जना स्टाफ नर्स भर्ना गरिएको छ ।

छुट्टै कोरोना उपचार अस्पताल आवश्यक
कोरोना अस्पताल बनाउने निर्णयसँगै सुदूरपश्चिमका हरेक जिल्लाका संक्रमितको उपचार सेती प्रादेशिक अस्पतालमा हुन थालेपछि त्यहाँ कार्यरत स्वास्थ्यकर्मी र चिकित्सकहरू सन्त्रासमा छन् ।

उनीहरूले सेती प्रादेशिक अस्पताललाई कोरोना अस्पताल बनाउदा अन्य बिरामी र स्वास्थ्यकर्मीहरू अत्यन्त जोखिममा पर्ने भएकाले कोरोना बिरामीहरूको उपचार अन्यत्र गर्न आग्रह गरेका छन् । सेती प्रादेशिक अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले कोरोना संक्रमितहरूको उपचारको लागि छुट्टै संरचना र स्थान तोकिने पर्ने प्रतिक्रिया दिइरहेका छन् ।

सेती अस्पतालका चिकित्सक डा. जगदीश जोशीले भने, ‘या त सरकारले कोरोनाको उपचारका लागि अलग्गै अस्पतालको व्यवस्था गर्नुप¥यो, होइन भने सेती अस्पतालमा आउने नियमित र आकस्मिक बिरामीको उपचारको तुरुन्त विकल्प खोज्नुप-यो ।’

सेती प्रादेशिक अस्पतालका इमर्जेन्सी कक्ष इन्चार्ज सिनियर अहेव कृष्णबहादुर बोहराले आफ्नो फेसबुक वालमा स्टाट्स लेखे, ‘सेती प्रादेशिक अस्पताललाई डेडिकेटेड कोरोना अस्पतालमा रूपान्तरण गरिएको हो भने नियमित र आकस्मिक बिरामीहरूको उपचारको तुरुन्त विकल्प खोजौं ।’
अस्पतालमा कार्यरत प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. प्रतीक्षा सिंह राठौरले आफ्नो फेसबुक वालमा प्रश्न गरेकी छन्, ‘कोरोनाको कहरबीच हामी जुध्यौं । सुदूरपश्चिमको एक मात्र रेफरल सेन्टरका रूपमा रहेको सेती प्रादेशिक अस्पताल जुन अब कोरोना अस्पताल बनाउनुपर्छ भन्नेहरूलाई मेरो प्रश्न । कोरोनाको कहर त छँदै छ, तर यी निर्दोष आमालाई बचाउने जिम्मा कसको ?’

नेपाल चिकित्सक संघ सुदूरपश्चिम प्रदेश शाखाका सचिव डा. प्रदीप मिश्रले अन्य बिरामीहरूसँगै संक्रमितहरूको समेत उपचार सुरु गरेपछि सेती प्रादेशिक अस्पतालका बिरामी र स्वास्थ्यकर्मीहरू जोखिममा परेको बताए ।

‘सेती प्रादेशिक अस्पतालमा जति सुविधा र साधन, स्रोतहरू छन्, त्यो अन्यत्र छैन,’ डा. मिश्रले भने, ‘यो सबै स्रोत यहाँ छोडेर अन्य नियमित रूपमा आउने बिरामी, गर्भवती महिलाको उपचार अन्यत्र गर्न सम्भव छैन । त्यसैले कोरोनाको छुट्टै उपचार केन्द्र हुनुपर्छ ।’

अहिले सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको उपचार हुन लागेपछि अन्य बिरामीहरूको चाप घटेको छ । धनगढीमै एक निजी अस्पताल सञ्चालन गरिरहेका सञ्चालकले भने, ‘सेतीमा अन्य बिरामी उपचार गर्न जान मानिरहेका छैनन् । यस्तो बेलामा निजी अस्पतालहरूले पनि सेवा सहज रूपमा दिइरहेका छैनन् ।’राजधानी दैनिकबाट सभार….

प्रतिकृया दिनुहोस्