RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/२ गते
६२३ पटक

काठमाडौं- कोरोना भाइरस (कोभिड—१९) को बहाना बनाएर एक घरधनीले गर्भवतीलाई जबरजस्ती कोठा (डेरा) बाट निकालेका छन्। कीर्तिपुर–१० का स्थायी बासिन्दा गणेशमान महर्जनले नौ महिनाकी गर्भवती देवी शर्मालाई आइतबार साँझ अमानवीय व्यवहार गर्दै डेराबाट निकालेका हुन्।

बागलुङ जैमिनी नगरपालिकाकी देवीका पति बैकुन्ठ शर्मा जाजरकोटमा अध्यापन गराउँछन्। काठमाडौंमा आउँदाजाँदा बस्नुपर्ने भएकाले शर्माले कीर्तिपुरमा पनि डेरा लिएका थिए। कीर्तिपुर आउनुअघि देवी जाजरकोटमा पतिसँगै बस्थिन्।

कीर्तिपुर–१० का स्थायी बासिन्दा गणेशमान महर्जनले कोरोना संक्रमण आशंकामा नौ महिनाकी गर्भवती देवी शर्मालाई आइतबार साँझ अमानवीय व्यवहार गर्दै डेराबाट निकालेका हुन्।
जाजरकोटबाट आएकाले कोरोना संक्रमण हुन सक्ने भन्दै घरधनी महर्जनले गर्भवती देवीसहित उनका पति र सानो बालकलाई डेराबाट निकालेर ढोकामा ताला लगाएका छन्।  चिकित्सकले यही वैशाख अन्तिम साता सुत्केरी हुने समय तोकेकाले उनीहरु गत बुधबार एम्बुलेन्समा कीर्तिपुरस्थित डेरामा आएर बस्न थालेका थिए।

घरधनी महर्जनले छिमेकीसमेत जम्मा गरी आफूहरूलाई दुव्र्यवहार गर्दै जबरजस्ती कोठाबाट निकालेको शर्माले बताए। ‘कोठामा सेल्फ क्वारेन्टाइनमा बसेका थियौं,’ शर्माले भने, ‘उताबाट आएको दिनदेखि नै घरधनीले कोठाबाट निस्किन दबाब दिएका थिए। घरधनीले आइतबार त दुव्र्यवहार गर्दै निकाले।’

घरधनीले कोरोनाको आशंकामा कोठाबाट निस्कन दबाब दिएपछि शर्माले प्रहरी र स्वास्थ्यकर्मीलाई खबर गरेर परीक्षण गराएका थिए। परीक्षणमा तीनैजनाको रिपोर्ट नेगेटिभ आएको थियो। ‘उहाँ (घरधनी) ले कोरोना भएको आशंका गरेपछि शंका मेटाउन हामीले नमुना परीक्षण गरायौं’, शर्माले भने,’ ‘रिपोर्ट नेगेटिभ आएको जानकारी गराउँदा पनि बल प्रयोग गरेर निकाले।’ आफूहरू विदेशबाट नआएको र विदेशबाट आएका मानिससँगको सम्पर्कमा पनि नरहेको जानकारी गराउँदा पनि घरधनीले कोठा छाड्न दबाब दिएको उनले बताए। लडडाउनको समयमा जाजरकोट बस्दा पनि अरु कसैको सम्पर्कमा नगएको उनले बताए।

घरधनी महर्जनले उनीहरूलाई कोठाबाट निकालेको स्वीकारे। छरछिमेकी डराएकाले कोठाबाट निस्कन भनेको उनले बताए। ‘बीचमा बाहिरबाट आएकाले कोरोना भएको आशंका लागेर निकालेको हो,’ उनले भने।

उनीहरू कोठामा आएकै दिन स्थानीयले विरोध गरेपछि कीर्तिपुर नगरपालिका–१० का अध्यक्ष अमन महर्जन त्यहाँ पुगेका थिए। घरधनी महर्जनले सुरुमा (बुधबार) गेटमा बाहिरबाटै ताला लगाइदिएका थिए। आफूहरूलाई घरधनीले दुव्र्यवहार गरी  निकाल्दा वडाध्यक्ष केही नबोलेको शर्माले बताए।नागरिक दैनिकबाट

प्रतिकृया दिनुहोस्