RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/२ गते
१०७७ पटक

भैरहवा-कोरोनाभाइरस (कोभिड–१९)को संक्रमणसँग बच्न देशैभरी लकडाउन सुरु भएसँगै खाद्यान्न समस्या हुनसक्ने आशंका गरिए पनि बजारमा भने पर्याप्त खाद्यान्न मौज्दात रहेको अवस्था छ । भारतमा समेत लकडाउन भएको कारण खाद्यान्न ढुवानी नहुँदा समस्या हुने हो की भन्ने आशंका रहे पनि भारतबाट सहज रूपमा दिनहुँ चामल, धान, मकै लगायतका खाद्यान्नहरू आयात भइरहेको र देशमा पनि पर्याप्त मौज्दात रहेकाले तत्कालै खाद्यान्न संकटको कुनै सम्भावना नरहेको व्यवसायीहरूले बताएका छन् ।

प्रायः देशैभर खाद्यान्न ढुवानी हुने भैरहवाको गल्लामण्डीमा पर्याप्त चामल लगायतका खाद्यान्न रहेको व्यवसायीहरूले बताएका छन् । अहिले त्यस्तो कुनै समस्या नदेखिएको मौज्दात प्रशस्तै रहेको तर पहाडी क्षेत्रमा कम ढुवानी भएको सिद्धार्थ उद्योग वाणिज्य संघ रूपन्देहीका महासचिव तथा खाद्यान्न व्यवसायी नेत्र आचार्यले बताए । उत्तर भारतका विभिन्न स्थानबाट पूर्ववतः अनुसार नै चामल, धान, मकै लगायतका खाद्यान्न आइरहेका छन् । यहाँ पहिलाको मौज्दात पनि रहेको छ भने ठूला चामल मिलहरू प्नि छन् । ति मिलहरूसँग पनि ठूलो परिमाणमा तयारी चामल र कुटन बाँकी रहेको धान छ । त्यसैले खाद्यान्नको समस्या तत्काल नहुने आचार्यले बताए ।

नेपाल चामल, तेल दाल उद्योग संघका उपाध्यक्ष एवं सिद्धिविनायक एग्रो इण्डस्ट्रिजका प्रबन्ध निर्देशक राम थापाले खाद्यान्न उद्योग निरन्तर सञ्चालनमा रहेको तयारी चामल र धान पनि मौज्दात रहेको बताए । अहिले स्वदेशी धान पनि छ, किसानहरूले पनि यो सिजनको धान कुटेर राखेका छन् । गाउँघरमा वर्षभरीलाई पुग्ने गरी धान छुटयाएर अरु बिक्री गर्ने प्रचलन छ । सहरबजारमा पनि यो समय त्यस्तो अभाब छैन, भारतबाट पनि दैनिक रूपमा तयारी चामल, धान आइरहेको थापाले भने ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ५ का उपाध्यक्ष दिपक पौडेलले कम्तिमा ६ महिनालाई पुग्ने खाद्यान्न रहेको दाबी गरे । रोहीणी एग्रो ईण्डस्ट्रिज रूपन्देहीका सञ्चालक समेत रहेका पौडेलले पश्चिम नवलपरासी र रूपन्देहीका ६ ठूला चामल मिलमा मात्रै २५ हजार मेट्रिकटन धान मौज्दात रहेको बताए । तराईका जिल्लाहरूमा करीब २ दर्जन ठूला चामल मिल (स्टिम राइस प्लान्ट)रहेका छन् भने चारहजारका हाराहारीमा साना चामल मिल रहेका छन् ।

ठूला चामल मिलहरूमा अहिले लाखौ टन धान मौज्दात छ भने भारतबाट धान समेत आयात नियमित भैरहेकोले खाद्यान्नमा त्यस्तो समस्या नपर्ने व्यवसायीहरूको भनाइ छ । ठूला नाकाहरू भैरहवा, विराटनगर, वीरगन्ज, नेपालगन्ज लगायतबाट अहिले दिनहँु खाद्यान्न आयात भैरहेको छ । यस्तै, चामलमात्र नभएर गहुँ, मैदाको प्रयोग पनि घरमा अधिक हुने भएकाले खाद्यान्नको त्यस्तो संकट तत्कालका लागि नहुने व्यवसायीहरूको भनाइ छ ।

अहिले सहर बजारमा भन्दा पनि पहाडी जिल्लाहरूमा खाद्यान्न पठाउन भने समस्या रहेको व्यबसायीले बताएका छन् । हामीहरू संग मौज्दात छ , पहाडी जिल्लाबाट माग आएको छ , तर त्यताबाट ढुवानीका साधन पर्याप्त पठाउन नसक्दा खाद्यान्न पर्याप्त जान सकेका छैनन, सिद्धार्थ उद्योग बाणिज्य संघका महासचिब नेत्र आचार्यले भने । सरकारले खाद्यान्न ढुवानीका लागी अनुमतिपत्रको आबश्यकता नपर्ने बताए पनि बाटोमा सुरक्षा निकायले अनुमति पत्र माग गर्ने हुदा ढुवानी चालकहरू आउन नमान्ने गरेको र यस्लाई स्थानिय प्रशासनले सहजीकरण गर्नु पर्ने उनको भनाई छ । कारोबार दैनिकबाट ….

प्रतिकृया दिनुहोस्