RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/२ गते
५७३ पटक

काठमाडौं। सरकारले कोरोना भाइरस (कोभिड-१९) फैलिन नदिन लागू गरेको देशव्यापी लकडाउन अझै केहीदिन लम्ब्याउने तयारी गरेको छ।

अब कम्तिमा एक हप्ता लकडाउन थप्ने तयारी रहेको र त्यस सम्बन्धी निर्णय मंगलबार बस्ने मन्त्रीपरिषद बैठकले गर्ने जनाइएको छ । यसअघि बसेको मन्त्रिपरिषद्को बैठकले तेस्रो पटकका लागि ३ बैशाखसम्म लकडाउन लागू गरेको थियो। लकडाउनलाई निरन्तरता दिने वा नदिने र सरकारले कोभिड-१९ विरुद्ध अझै गर्नुपर्ने तयारी लगायतका विषयमा छलफल गर्न मंगलबार (आज) बिहान ११ बजे मन्त्रिपरिषद्को बैठक बस्दैछ।

तेस्रोपटक थप गरिएको लकडाउन अवधि बुधबार बिहान सकिँदैछ । त्यसले सरकारले मंगलबार नै कम्तिमा थप एक हप्ता लकडाउन लम्ब्याउने सम्बन्धी निर्णय गर्न लागेको हो । नेपालमा कोरोना संक्रमितको संख्या दिनहुँ बढिरहेका कारणले रोकथाम र नियन्त्रणका लागि लकडाउन बढाउनुपर्ने सरोकारवालाले सरकारलाई सुझाइरहेका छन्। प्रधानमन्त्रीले केही दिनअघि राष्ट्रका नाममा सम्बोधन गर्दै गर्दा पनि अब आउने दुईसाता केही चुनौतीपूर्ण हुने बताएका थिए।

काठमाडौँ उपत्यका तथा बाहिरी जिल्लामा पनि कोरोना भाइरसका संक्रमित तथा सम्भावित संक्रमित भेटिएको र विश्व स्वास्थ्य संगठनले पनि संक्रमण फैलिन नदिनका लागि लकडाउनसहितका उपायहरुलाई व्यवस्थित गर्न सुझाव दिएको अवस्थामा नेपाल सरकारले लकडाउन लम्ब्याउने सम्बन्धी निर्णय लिन लागेको हो ।

नेपालमा अहिलेसम्म १४ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिकृया दिनुहोस्