RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/४ गते
५५६ पटक

कोरोनाभाइरस (कोभिड–१९) का कारण नेपालमा गरिबीको दर झन बढ्ने भएको छ । कोभिड–१९ को प्रकोपले उत्पादन कमजोर बनेको र रेमिट्यान्स आप्रवाहमा समेत गिरावट आउँदा गरिबी दर झन बढ्ने निश्चित देखिएको हो ।

विश्वव्यापी रूपमै महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण नेपालले समेत तीन सातादेखि लकडाउनको सामाना गरिरहेको छ । जसकाकारण उद्योग धन्दा कलकारखाना प्रायः बन्द छन् भने हजारौं श्रमिक रोजगारविहीन बनेका छन् । त्यतिमात्र होइन, लकडाउनले रोजगारदातालाई बैंकको कर्जा तिर्न र श्रमिकलाई पारिश्रमिक दिन हम्मे परेको छ । केन्द्रीय तथ्यांक विभागको पछिल्लो तथ्यांक अनुसार हाल कुल जनसंख्याको १८.७ प्रतिशत जनसंख्या गरिबीको रेखामुनी छन् ।

नेपाल राष्ट्र बैकका पूर्वगभर्नर समेत रहेका अर्थशास्त्री दीपेन्द्रबहादुर क्षेत्री भन्छन्, “विश्वव्यापी रूपमा देखिएको मन्दीले नेपालमा गरिबी दर झन बढ्छ नै यसको मारमा सबैभन्दा बढी मध्यम वर्ग पर्ने देखिएको छ ।” उनले मध्यम वर्गले रोजगारी पाउने सम्भावना पनि कम देखिएको, सञ्चित गरेर राखेको पैसाले जीविका निर्वाह गर्नुपर्ने अवस्था आएको र महामारीका कारण मूल्यवृद्धि बढ्दा त्रयशक्तिमा ह्रास आउनसक्ने भय देखिएको बताए ।

तेश्रो श्रमशक्ति सर्वेक्षणअनुसार नेपालमा काम गर्ने उमेर समूहको जनसंख्या २ करोड ७ लाख ४४ हजारमध्ये ९० लाख ८० हजार बेरोजगार छन् । १७ लाख ६९ हजार दैनिक ज्यालादारी श्रमिक छन् । दैनिक ज्यालादारी र गरिब मानिसबाहेक कोरोनाले असर गर्ने अर्थतन्त्रका अन्य प्रमुख क्षेत्रहरूमध्ये पर्यटन, वैदेशिक रोजगार, र उद्योग हुन् । पर्यटन आवागमन सुचारु अहिले मात्र होइन निकट भविष्यमा पनि हुने देखिँदैन । उद्योगधन्दा बन्द छ । तर यी दुवै क्षेत्रको ठूलो स्थिर लागत छ ।

यदि यो स्थिर लागतलाई व्यवस्थित गर्न नसक्ने हो भने कोरोनाको कारणले धेरै होटेल, रिसोर्ट, रेस्टुरेन्ट, र उद्योग बन्द हुनेछन् । कोरोनाको कारणले नेपालको वैदेशिक रोजगारीका प्रमुख गन्तव्यहरू, जस्तै मलेसिया, र गल्फ देशहरू नराम्ररी प्रभावित भएका छन् । जसकाकारण गरिबीको दर झनै बढने देखिएको पुर्ब प्रशासक रामेश्वर खनालको तर्क छ ।

उनी भन्छन्, “कोभिड–१९ को महामारीले वित्तीय मध्यस्थता, खुद्रा तथा थोक व्यापार, यातायात, हवाई उड्डयनजस्ता सेवा क्षेत्र र अन्य सेवा क्षेत्र स्वास्थ्य, शिक्षाका क्षेत्र समेत नराम्ररी प्रभावित भएका छन् यसले नेपाल मात्रै नभएर सबै मुलुकमा गरिबी बढ्ने देखिन्छ ।” उनले साना तथा मझौला उद्योग स्वरोजगारजन्य उद्योगहरू ठूलो मारमा परेको यीनका कारण कयांै मानिस रोजगारविहीन हुने अवस्था देखिएको बताए ।

“कोभिड–१९ को प्रकोप अलि उच्च भयो भनेपनि उनीहरूलाई फर्केर आउन गाह्रो देखिएको छ, उनीहरूलाई आपूर्ति संकटका अतिरिक्त वासलात संकट पनि परेको छ,” उनी भन्छन्, “तिर्नुपर्ने साँवाको दायित्व छँदैछ, त्यसमा ऋणको ब्याजको भार थपिने सम्पत्तिको मूल्य घट्दै जाने त्यसपछि बैंकको परिमाण चै थपिरहने दोहोरो भार साना ब्यवसायमा देखिन थालेको छ ।” यो अवस्थाले हजारौं रोजगारविहीन हुने र लाखौं मानिस गरिबीतिर धकेलिने संकेत सुरु भइसकेको खनालको तर्क छ । कारोबार दैनिकबाट ….

प्रतिकृया दिनुहोस्