RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/५ गते
५८६ पटक

वैशाख ५ गते । उपत्यकाका स्थानीय तह कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण फैलन नदिन थप सजग हुँदै क्रियाशील हुन थालेका छन् । कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ स्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुई व्यक्तिमा तीन दिनअघि कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन झन् प्रभावकारी बनाई थप सजग भएका हुन् ।
कतिपय स्थानीय तहले अपरिचित व्यक्तिलाई पालिकाभित्र प्रवेश निषेध गरिएको छ भने कतिपयले बिहानको हिँड्डुल (मर्निङवाक) गर्न पूर्णतया रोक लगाएका छन् । त्यस्तै कतै दुई महिनादेखि विदेशबाट नगरपालिकाभित्र आएका व्यक्तिको खोजी गरी सबैको स्वास्थ्य परीक्षण गरी ¥यापिड डाइग्नोस्टिक टेस्ट गर्ने कार्य तीव्र बनाएका छन् । कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन पालिका स्तरका योजना थप प्रभावकारी बनाउन लागिएको कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले जानकारी दिनुभयो ।
उपत्यकाका १८ वटै नगरपालिकाले यसअघि नै पालिका स्तरको क्षमता अनुसार क्वारेन्टाइन निर्माण गर्ने, विदेशबाट आएका सबै व्यक्तिको तथ्याङ्क राख्ने, असङ्गठित क्षेत्रमा कार्यरत दैनिक ज्याला मजदुरी गर्ने नागरिकलाई राहत वितरण गर्ने, अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता दिने र सोको अनुगमन गर्ने काम भने गरिसकेका छन् ।

तारकेश्वरमा १५२ को परीक्षण
काठमाडौँको तारकेश्वर नगरपालिकामा विदेशबाट आएका १५२ जनाको कोरोना भाइरस परीक्षण गर्ने क्रममा ¥यापिड डाइग्नोस्टिक टेस्ट
(आरडीटी) परीक्षणमा कोरोनाको सङ्केत देखिएको छैन । सबै जनामा ‘नेगेटिभ’ देखिएपछि यस्तो परिणाम निस्किएको हो ।
सो नगरपालिका अन्तर्गत धर्मस्थली स्वास्थ्य चौकी र सहरी स्वास्थ्य केन्द्रमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका प्राविधिकको सहयोगमा विदेशबाट आएका ती व्यक्तिको स्वास्थ्य परीक्षण गरिएकोमा नेगेटिभ नतिजा आएको तारकेश्वर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जनार्दनप्रसाद अधिकारीले जानकारी दिनुभयो । विदेशबाट आउनेमा कोरोना भाइरस सङ्क्रमणको अवस्था परीक्षण गर्न नगरपालिकाले गरेको आह्वान अनुसार शीघ्र परीक्षण गरिएको जानकारी दिइएको छ । यसैबीच नगरप्रमुख रामेश्वर बोहराको अध्यक्षतामा बसेको बैठकले नगरभित्र बिहान ६ देखि ८ बजेसम्म मात्रै अत्यावश्यक पसल खोल्न दिने निर्णय गरेपछि बिहीबारबाट दिउँसोको समयमा सडकमा मानिसको ओहोरदोहोर घटेको छ ।

पसल बिहान तीन घन्टा खुल्ने
नगरपालिकाले कोरोना भाइरस सङ्क्रमण रोक्न नगरपालिका भित्रका खाद्य सामग्री पसल बिहान ५ देखि ८ बजेसम्म मात्र दिनको एकपटक खोल्न आग्रह गरेको छ । यो नियम बिहीबारदेखि नै लागू भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार ठेलागाढा लगायत सबै पसल बन्द गरिएको छ भने औषधि पसल भने चौबीसै घन्टा खुला रहनेछन् । अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन तारकेश्वर नगरपालिका प्रमुख रामेश्वर बोहोराले सार्वजनिक रूपमा आह्वानसमेत गर्नुभएको छ । उहाँले कोरोना भाइरस सङ्क्रमण रोक्न सरकारले गरेको लकडाउन सफल बनाउन स्थानीय विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, क्लबका पदाधिकारी लगायत सबै जिम्मेवार नागरिकले आ–आफ्नो भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको छ ।गोरखापत्र अनलाईनबाट

प्रतिकृया दिनुहोस्