RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/५ गते
५६६ पटक

यस वर्ष मासिक औसत १ खर्ब १५ अर्बको आयात हुँदै आएकोमा लकडाउन सुरु भएपछिका २३ दिनमा १८ अर्ब २१ करोडको मात्रै आयात औषधि, खाद्यान्न, तरकारी र पेट्रोलियमको आयात भने नियमित, लकडाउन सुरु भएयता १ अर्बका अत्यावश्यक वस्तु भित्रिए:

कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि मुलुक लकडाउन गरिएपछि आयात करिब ८० प्रतिशतले घटेको छ । सामान्य अवस्थामा चालू आवमा मासिक औसत १ खर्ब १५ अर्बको आयात हुँदै आएको थियो । तर, ११ चैतमा लकडाउन सुरु भएपछिका २३ दिनमा जम्मा १८ अर्ब २१ करोडको मात्रै आयात भएको छ । यस हिसाबले महिनाभरिमा २३ अर्ब ७५ करोडको आयात हुनेछ । यो नियमित आयातको २० प्रतिशत मात्रै हो ।

लकडाउनका कारण समग्र आयात घटे पनि अत्यावश्यक वस्तुको आयात भने नियमित रूपमा भइरहेको भन्सार विभागले जनाएको छ । लकडाउन सुरु भएपछि १ अर्ब ३ करोड ५६ रुपैयाँबराबरका अत्यावश्यक वस्तु भित्रिएका छन् ।

खाद्यान्न, औषधि, पेट्रोलियम पदार्थ, तरकारी तथा फलफूल, औषधिका कच्चा पदार्थलगायत अत्यावश्यक वस्तुको आयात नियमित नै भइरहेको भन्सार विभागका महानिर्देशक सुमन दाहालले जानकारी दिए । ‘सामान्य अवस्थामा भन्दा त केही प्रभावित भएकै देखिन्छ, स्मुथ आयात हुने कुरै भएन,’ उनले भने, ‘तर, अत्यावश्यक वस्तुको आयातलाई नियमित नै राख्ने र बजारमा आपूर्तिलाई सहज गराउने सरकारी योजनाअनुसार काम भइरहेको छ ।’

नेपालमा भारत र चीनबाट सबैभन्दा बढी आयात हुने गरेको छ । अहिले उत्तरतर्फको आयात लगभग बन्दजस्तै छ । तर, दक्षिणतर्फबाट भने नियमित आयात भइरहेको छ । खासगरी अत्यावश्यक वस्तुको आयातलाई प्राथमिकता दिई सहजीकरण गर्ने सरकारी नीतिअनुसार भन्सार विभागले काम गरिरहेको छ । सोहीअनुसार अत्यावश्यक वस्तुको आयात नियमित नै रहेको दाहालले बताए । नयाँ पत्रिका दैनिकबाट

प्रतिकृया दिनुहोस्