RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/७ गते
६९९ पटक

काठमाडौं- टेकुस्थित शुक्रराज सरुवा रोग अस्पतालमा सरुवा रोग विशेषज्ञका रुपमा कार्यरतडा. शेरबहादुर पुनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्पष्टीकरण पत्र पठाएको छ।  स्पष्टीकरण पत्रमा के लेखिएको छ भन्ने भने हेर्न नपाएको डा. पुनले बताए।  ‘म शुक्रबार अस्पतालबाट घर हिँडिसकेपछि मात्र अस्पताल प्रशासनले फोन गरेर मन्त्रालयबाट स्पष्टीकरण पत्र आएको जानकारी गरायो।  शनिबार अस्पताल प्रशासन बन्द भएकाले पत्र पढ्न पाएको छैन’, उनले भने।

यसअघि नै मन्त्रालय प्रशासनले अस्पतालका निर्देशक डा.सागरराज भण्डारीलाई फोन गरी डा. पुनलाई मन्त्रालयमा पठाइदिन भनेको थियो।  डा.पुनले आगामी बिहीबार मन्त्रालय जाने सोच बनाएको बताउँदै शनिबार साँझ नागरिकसँग भने, ‘म बिहीबार मन्त्रालय पुग्छु भनेको थिएँ, त्यसअघि नै पत्र आइसकेछ। ’डा.पुनका अनुसार यसअघि नै स्वास्थ्य सेवा विभाग तथा अन्य संयन्त्रले बोलाएर प्रवक्ता हुँदाहुँदै किन बोलेको भनी उनीसँग स्पष्टीकरण सोधेका थिए।  मन्त्रालयको स्पष्टीकरण पत्र पनि मिडियामा बोलेको र लेखेको विषयबारे नै हुनुपर्ने अनुमान डा. पुनको छ।  ‘मैले भ्रष्टाचार गरेको हैन, सरुवा रोगबाट कसरी बच्ने भन्नेबारेमा बोलेको छु,लेखेको छु’, उनले भने।

जापानबाट सरुवा रोगमा पिएचडी गरेर आएका डा.पुन १८ वर्षदेखि टेकु अस्पतालको अनुसन्धान विभागमा कार्यरत छन्।  आफ्नो विषय अनुुसन्धान र क्लिनिकल चिकित्सक दुवै भएकाले अस्पतालको नीतिका विषयमा नबोलेको तर रोगका बारेमा बोल्ने गरेको बताए।  ‘न बिराउनु  न डराउनु’, उनले भने। नागरिक दैनिकबाट

प्रतिकृया दिनुहोस्