RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/११ गते
५८५ पटक

गाउँबाट पन्ध्र मिनेट टाढाको पैदल दुरीमा रहेको थापाखेतमा हाम्रो जग्गा छ । आमासँग त्यही जग्गामा काम गर्दै थियौं ।
आमाको मलिन अनुहार पसिनाले भिजेको थियो । उही अनुहारको हातमा कोदालो ! अनुभूत गरेँ कि आमाका मनमा चिन्ताका गहिरा भाव छचल्किएका छन् । सिरदेखि पाउसम्म एक टकले नियालेँ आमालाई । उहाँको घाँटीको तल्लो भाग भकभक गर्दै थियो । हामीले आराम गर्न अनुरोध गर्‍यौँ तर पनि आराम गर्न मान्नु भएन । अप्ठेरो गरी कोदालो उचालिरहनुभयो ।

आमाले स्याँ स्याँ गर्दै भन्नुभयो ‘भाउअ मुकन एक फेरा काठमान्डु लिकन ओख्तो गर्‍या भया हुने छियो ।’
‘हुन्छ आमई बुवा न पुनि भुनुला, हिँउद र बर्ख क्याम्पसमा छुट्टी हुन्छ त्यही बेला तुमीन लिँउला,’ मैले भनेँ ।
आधा जूनले प्रकाश छरेझैँ भयो, आमाको मुहार । काम सकेर घर फक्र्यौं । त्यस दिनदेखि आमाको स्वास्थ्य चिन्ता ममा थपियो । दसैं विदा सकिएपछि काठमाडौं र्फकने तयारीमा जुटेँ । रातो टीका थालीमा लिएर विदाइ गर्न आमा घरको ओटालो (आँगन) मा उभिनु भयो ।

खस्रा उहाँका हातले निधारमा रातो टिका लगाइ दिनु भयो । मेरो चिउँडो र गाला मुसारेर विदा गर्नु भयो । भन्नु भयो पनि, ‘राम्मो गरी पढेस् भाउअ, मेरो चिन्ता नमानेस् । पढाइदेखि ठुलो क्या छ ? मु निकी होइ जाउँला ।’
मनमनै भनेँ, मेरा लागि तपाईभन्दा ठूलो कोही छैन आमा !

गह भरियो । आमालाई हेरेँ । आमाका आँखामा आँसु टिलपिल गरि रहेका थिए । हामी दुईले टिठलाग्दो नजरले एकअर्कालाई पुलुक्क हेर्‍यौँ । निराशा र चिन्ताका भाव बोकेका आमाका आँखामा मेरा आँखा जुधाइ रहन सकिन । झुकेँ । ढोगेर विदा भएँ ।

केही पर पुगेपछि फर्केर हेरेँ, पछ्यौराको फेरले आमा आँसु पुछि रहनु भएको थियो । भक्कानिएको गहलाई जबर्जस्त दबाएँ । यसपटक उहाँको स्वास्थ्य अवस्था पनि खस्किएको महसुस भएको थियो । सायद त्यही भएर होला हामीमा भावुकता गाढा भएको । यसअघि आमालाई यति धेरै भावुक कहिल्यै देखेको थिइन ।

भारी मन लिएर काठमाडौं पुगेँ । दसैं विदामा घर गएका साथीहरू पनि होस्टेल फर्किदै थिए । राजधानीका सुनसान सडकमा क्रमशः चहलपहल बाक्लियो । क्याम्पसको पढाइ सुचारु भयो । साथी भेटिए । क्याम्पस भेटियो । गुरुहरू भेटिनु भयो र पनि मनको गहु्रङ्गो भारी बिसाउने चौतारी भेटिएन । विदाइको क्षण, आमाको स्वास्थ्य अवस्था र काठमाडौंंमा उपचार गराउने आमाको चाहना पहाड बनेर एकसाथ थिच्न थाले ।

एकदिन होस्टेलमा फोन आयो । त्यो फोन थियो तत्कालीन सांंसद डिल्ली बहादुर महतको । केही रैवारको सङ्केत गर्दै आफ्नो निवासमा बोलाए । त्यतिबेला मोबाइलको प्रचलन थिएन । हतारिदै उनको निवासमा पुगेँ । उनको हाउभाउ हेर्दा लाग्थ्यो सुखको खवर छैन । सायद वातावरण सहज बनाउनलाई होला, पढाइ बारे जिज्ञासा राखे । अन्ततः आमाको असमायिक निधनको खवर सुनाए ।

अनपेक्षित खवरले धर्ती भासिएझैँ भयो । केही देखिनँ । संसार नै अँध्यारो लाग्यो ।

मैले बुबाको चिठी र पैसाको अपेक्षा गरेको थिएँ । यस्ता विगतका सन्देशले खुसी बोकेर ल्याउँथे । सुखद सन्देश सुन्ने बानी नै परि सकेको थियो । तर यस पटकको अप्रत्यासित यो खवरले मुटुमै बाँण रोपियो । साँच्चै यो खवर नभएर कसैले मसँग ठट्टा त गरेको छैन ? एक मनले सोच्योे पनि ।

काठमाडौंमा मेरा आफन्तजनहरू कोही थिएनन् । आफन्त दाइ महेन्द्र भारती र महेन्द्र थापाले पनि काठमाडौं छाडि सकेका थिए । विभिन्न उद्देश्यमा काठमाडौं बस्ने कर्णालीका मान्छेहरू औँलामा गन्न सकिन्थ्यो । ६,५०० रुपैयाँ बोकेर भविष्यको खोजीमा केही महिना पहिले मात्र एक्लै सपनाको सहर काठमाडौं पुगेको थिएँ । १६ वर्षको अपरिपक्व उमेर थियो । नलुटिओस्/नहराओस् भनेर सो रकम बुबाले मेरो भित्री कपडामा सिलाएर राखि दिनुभएको थियो ।

कल्पनासम्म नगरिएको यो खबरले सपनाको म सिकारु रथवाहकलाई विचलित बनायो । रथमार्ग नै अँध्यारो सुरुङमा फसेको भान भयो । मुटु चुँडिने पीडालाई कसरी पचाउनु ? आमाको उमेर केवल ३६ वर्ष थियो । अस्वाभाविक र अपत्यारिलो नलागोस् पनि कसरी ? फर्कंदा बाटोसमेत पहिल्याउन हम्मेहम्मे भयो । होस्टेल कसरी पुगेँ आफैंलाई हेक्का भएन । चुपचाप यो दुःखद् घटनालाई जीवनको अङ्ग बनाउन विवश थिएँ ।

सान्त्वना दिने कोही नभेट्दा विलकुल एक्लो महसुस भयो । मेरो आँसुको मूल्य नबुझ्नेहरूका अगाडि आँसु झार्न उचित ठानिनँ । सिरकमा गुटमुटिएर रोएँ । बिल्कुल एक्लै । सुनेको थिएँ, रुवाइले पीडा कम गर्छ । मैले पनि रोएर पीडा कम गर्ने कोसिस गरेँ । शान्त तलाउजस्ती ममतामयी मेरी आमा पीडाले छपटाइ रहेझैँ लाग्न थाल्यो । त्यही छटपटाहट ममा सरेझैँ महसुस भयो । रिसले आगो हुँदा ममताको सागरबाट केही लोटा पानी खन्याइ दिनुहुन्थ्यो । मेरो रिस नामक क्षणिक पागलपन त्यसै त्यसै लजाउँथ्यो अनि आमा सामुन्ने आत्मसमर्पण गथ्र्यो । आमाले सहजै माफी दिनु हुन्थ्यो ।

सम्झेर सबै बिगत आँसु थामिएनन्, साउनको भेलझैँ अनवरत बगि रहे । सेतो सिरकमा लागेका आँसुका दाग त साबुनपानीले पखालेँ जो आँखाले देखिन्थ्यो । हृदयमा लागेका शोकका दाग पखाल्न सकिनँ । हेर्नेले पनि देख्दैनथे । पखालिएजस्ता लाग्थे फेरि कट्कटिन्थे । यस्तो शोकको घडीमा सान्त्वनाको खाँचो हुँदो रहेछ । कसैलाई सुनायो भने मनको पीडा आधा कम हुन्छ भनेको सुनेको थिएँ । तर यो चरम दुखदायी घटनासँग एक्लै जुधेँ ।

एकान्तमा रहन रुचिकर लाग्न थाल्यो । एकान्त मेरो दुःखको साथी बन्यो । पीडाका ज्वारभाटाहरू आमाको मृत्युको खबरमा ठोक्किएर हृदयमा कम्पन पैदा गर्न थाले ।

यस सिलसिलाले तत्काल उम्कन दिएन । सोचेँ, संसारमा नदुखेको मन र नरसाएको आँखा कसको पो होला र ? नुनिलो आँसुको घुट्का पिउँदै क्रमशः सामान्य अवस्थामा फर्केँ । अन्यथा उर्लिएको भावनाका भेलले स्वयंलाई बगाएर नभेटिने गरी गायब पार्न के बेर ?

बुबासँग तत्काल सम्पर्क गरेर आमाको अल्पायुमा भएको मृत्युको कारणबारे जानकारी लिन चाहन्थेँ । तर, सम्भव भएन । सहज सञ्चार पहुँच थिएन । आमाले नेपालगन्ज अस्पतालमा प्राण त्यागेको तीतो सत्यले थप मर्माहत भएँ । पढाइ छाडेर घर र्फकने सोच नबनाएको पनि होइन तर मेरो भावनात्मक पक्षले हार खायो । पढाइ ख्याल गर्दै आमाका अन्तिम कष्टकर पलहरूमा मलाई सहभागी नगराइएको लख काटेर चित्त बुझाएँ ।

सुनेँ कि आमाले जीवनको अन्तिम सासमा समेत मलाई सम्झिनु भएको रहेछ । मेरी आमाको कठिन क्षणमा न सहभागी हुन सकेँ न त दाहसंस्कारमा नै । अन्तिम प्रहर ममताको खानीको मुहार नियाल्न पनि पाइनँ । सुनेको थिएँ- आमा मरे पुरा टुहुरो, बाबुु मरे आधा टुहुरो । जेजस्तो भएपनि टुहुरो भएँ ।

आमालाई गुमाएर बुबा घर फर्कनुभएछ । भाइ विवेकले बुबालाई सोधेछन्, ‘बुबा ! आमा खै ?’ ५ वर्षको अबोध बालकलाई के थाहा ‘आमाले नफर्किने गरी विदा लिइ सक्नुभयो सदाका लागि ।’ जबाफमा बुबा मौन र भावुक मात्र हुनु भएछ ।
बुबाले मलाई पत्रमार्फत् आमाको निधनको खवर र कारण उल्लेख गर्नु भएको थियो । बासी पत्रहरू मात्र प्राप्त हुन्थे त्यतिबेला । यातायातका साधनहरूको सुगमता थिएन । पत्रहरू हुलाकबाट आइ पुग्थे, पैसा भने ड्राˆट बनेर । उक्त पत्रमा आफ्नो भविष्यबारे चिन्तन गर्न सुझाइएकोे थियो । चाहेर पनि तत्काल बुबासँग भेटेर दिवङ्गत आमाको विषयमा बुझ्न सम्भव थिएन । जुम्ला र काठमाडौंको दुरी मेरो चाहनाको अवरोध बन्यो ।

प्रायः लोग्नेले श्रीमती त पाउँछ तर छोराछोरीले आमा पाउँदैनन् । त्यस्तै स्वास्नीले लोग्ने त पाउँछे, प्रायः सन्तानले बुबा पाउँदैनन् ।

अहिलेकी कर्म दिने मेरी आमाले ममत्वमा कसर बाँकी राख्नु भएको छैन । हामीलाई आमाको अभावको अनुभूति हुन दिनु भएको छैन । कहिले पनि विभेद, अभाव र तिरस्कारकोे महससु गर्नु परेको छैन ।आमा तपाई धन्य हुनु हुन्छ ! आफूजस्तै असल आमा हामीलाई दिएर जानु भयो । हरेक आमा महान् हुन्छन् तर ‘आमई’ सम्झनाले व्याकुल भएको बेला लाग्छ कि तपाई अझ बढी महान् हुनु हुन्थ्यो । भन्न मन लाग्छ, प्रलय आउँदा समुद्रले मर्यादा छाड्ला तर मबाट कहिल्यै मर्यादा भङ्ग हुने छैन आमा ।

दसैं विदामा घर जाँदा भेरी अञ्चल अस्पताल पुगेँ । बेड चिहाएँ । आमाले अन्तिम सास लिएको बेड कुन होला ? मनमनै सोचेँ । अस्पताल परिसरको रुखनजिक उभिएर केहीबेर टोलाएँ । श्रद्धाले सिर झुकाएँ ।

जुम्ला पुगेपछि टुहुरा भाइहरूलाई भेटेँ । घर शून्य लाग्यो । पाँच वर्षदेखि एघार वर्षसम्मका ममत्वबाट वञ्चित ती बच्चाका मनोदशा नियाल्दा मन धुजा धुजा भयो । भक्कानिन मन लाग्यो । कान्छो विवेकलाई छातीमा टासेँ । बुबालाई सोधेको प्रश्न दोहार्‍याउँलान् कि भन्ने सोचेँ । दोहार्‍याएनन् । बुबाले दिन नसकेको जवाफ मैले कहाँ दिन सक्थेँ र ! धेरै जिद्दी गरेको भए मेरो आँसुको थोपामा उनले उत्तर पाउँथे ! रोगी बनाउने त्यही चुलोमा आमा कतै आगो फुक्दै हुनु हुन्छ कि भनेर हेरेँ । सदाझैँ बस्दै आएको मैडो (स्थान) मा नजर डुलाएँ । आमालाई देखिँन । गाँसमा, पानीको घुट्कोमा आमालाई खोजेँ । कहीँ भेटिँन ।

केही दिनको बसाइपछि कर्म दिने हालकी आमाबाट भाइहरूलाई न्यानो छहारी मिलेको ठानेँ । अनि, फर्किएँ सपनाको सहर काठमाडौं । त्यसपछि दुइटा आमाबाट जन्मेका हौं भन्ने महसुस हामी भाइबहिनीले कहिल्यै पनि गरेनौँ । बुबा र आमाको अभिभावकत्वमा हुर्कियौँ ।

मृत्यु केवल मुत्यु मात्र हुँदैन । त्यो नयाँ जीवन बनेर पनि आउँछ । सबै घटनाका मूल्य र परिणाम समान हुँदैनन् । रुखबाट स्याउ खस्नु सामान्य घटना हो । तर, बालक न्युटनले त्यस घटनाको कारण खोजे । विज्ञानको भण्डारमा नयाँ आविष्कार थपे । थपिएको त्यो आविष्कार गुरुत्वाकर्षणको नियम बन्यो । सामान्य लाग्ने स्याउ खसेको घटनासामान्यमा सीमित रहेन ।

मेरी आमाजस्तै अन्य आमाहरूको अल्पायुमा भएको निधनको कारण खोज्न थालेँ । आगामी दिनमा दुर्गम क्षेत्रका आमाहरूले यो नियति भोग्न नपरोस् भन्ने चिन्तन गर्न यस घटनाले प्रेरित गर्‍यो ताकि बाँकी आमाहरूको अल्पायुमा हुने अकाल मुत्यु रोकियोेस् । नानीहरू टुहुरा नहोऊन् ।

हरेक दुर्घटनाले समस्या मात्र होइन समाधान र निर्मम घटनाहरूले त्यही अनुपातमा सम्भावनाहरूका ढोका पनि खोल्दा रहेछन् । समयले साथ दियो । इतिहासले मलाई संविधान सभा सदस्यको जिम्मेवारी सुम्प्यो । मैले आमाहरूको निधनको घटनालाई न्याय गर्नै पथ्र्याे । यही घटनाले मलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन घच्घच्यायोे । अन्ततः यो दुखान्त घटना प्रतिष्ठानको भ्रूण सावित भयोे ।

सायद भाइ विवेकले पनि आमा नर्फकने कारणको खोजी गरि सकेका छन् । आमाको व्यक्तित्वका स्मृतिहरू मेरो मानसपटलमा धमिलो रूपमा जीवित छन् । भद्र, शिष्ट, मर्यादित, सभ्य भाषामा प्रस्तुत हुनु, धुम्रपान नगर्नु, गरिवप्रति दयाभाव देखाउनु, आफ्ना जिम्मेवारीलाई कुशलतापूर्वक सम्पन्न गर्नु नै उनका गुण र हाम्रा मातृ सम्पत्ति हुन् ।

बिगत फर्काउन सक्ने यति महान् र भविश्य बदल्न नसक्ने त्यति निरीह मानिस पनि कोही नहोला । तसर्थ आमाका अन्तिम सास लिदाका शब्दहरूलाई अहिले चाहेर पनि त्यहीरूपमा न्याय गर्न सक्ने स्थिति छैन । जीवित आमाहरूका लागि भने अवश्य पनि केही गर्ने छु ।

कल्पनाको नदीमा डुबुल्की मारेँछु । आमा यतै कतै मेरै छेउमा हुनु हुन्छ । उहाँको स्वास्थ्य अवस्था गम्भीर छ । पीडाले छटपटाइरहनु भएको छ । मलाई खोज्दै हुनु हुन्छ । प्रतिष्ठानको डाक्टरमार्फत् सफल उपचार हुँदैछ । म आमाकोे काखमा छु । मेरो सफलतामा उहाँ रमाइ रहनु भएको छ । गर्वले उहाँको छाती चौडा भएको छ ।

त्यसपछि वास्तविक संसारमा ओर्लिएँ । केवल आमाको मधुरो आकृति मेरो आँखा अगाडि उभियो । आमालाई जीवित राख्ने सोचेर काँसीकला फाउन्डेसन स्थापना गर्‍यौँ । हुन त कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पनि उहाँकै प्रतिष्ठान हो । किनकि यो प्रतिष्ठान मेरी आमाजस्तै थुप्रै आमाहरूको अकाल मृत्युको मूल्यमा जन्मियो ।

मृत्युको अवश्यम्भावितालाई टार्न सकिँदैन । सार्न भने सकिन्छ । जुम्लामा नभएर सुविधासम्पन्न स्थानमा भएको भए आमाको आयुलाई लम्ब्याउन सकिन्थ्यो । उपचारार्थ नेपालगञ्ज ल्याउँदा ल्याउँदै आमाको देहान्त भयो । यही वास्तविकता पटक-पटक घाउ बनेर दुखिरहन्छ ।

सोच्छु, ‘यदि आमा जीवित भए, मेरा सफलतामा कति खुसी हुनुहुन्थ्यो होला ? मेरा खुसीका पलहरूमा मेरी आमालाई सहभागी गराउन पाएको भए !’
आमासँग खुसी बाँड्न चाहन्थेँ । दुःख बिसाउने भरपर्दो चौतारी पनि बनाउन चाहन्थेँ । अपसोच ! यो अवसर सदाका लागि मेरो जीवनबाट नर्फकने गरी गायब भइसक्यो तिला नदीमा बगेको पानीझैँ ।

आमा केवल पीडा, मेरो र भाइहरूको अनिश्चित भविष्यको चिन्ता बिचबाट विदा हुनु भयो । उहाँलाई सन्तुष्टि दिन सकिएन । हरेक सन्तानले आˆना सफलता, खुसी जन्मदातालाई सेयर गर्न चाहन्छ । मैले पनि संविधान सभा सदस्य विजेता घोषित हुँदा र प्रतिष्ठान विधेयक पास हुँदा दिवङ्गत आमालाई सम्झेँ । माला पहिर्‍याउन आउने महिलाहरूको भिडमा मेरा नयनहरूले आमालाई खोजेँ । उनीहरूकै अनुहारमा आमा देखेर चित्त बुझाएँ ।

आमाको मृत्यु अल्पायुमा नभएको भए, यस धर्तीले जनयुद्ध नजन्माएको भए, जनतारूपी मेरा मालिकहरूले मलाई जनप्रतिनिधि बन्ने अवसर नदिएको भए सायद कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जन्मदैनथ्यो होला ।

आमा फोटो र सम्झनामा मात्र सीमित भएको झन्डै २० वर्ष बिति सकेछ । आमाको मुख हेर्ने दिन हरेक वर्ष आइरहन्छ । त्यसले पीडा थपेर जान्छ । खाटा बसेको घाउ फेरि उप्काउँछ । नुनचूक छर्किन्छ ।

सदाझैँ २०५३ मा पनि आमाको मुख हेर्ने दिन आयो । जीवित आमाको मुख हेर्न पाउने अवसर अन्त्य भइसकेको थियो सदाका लागि ।

फोटोमा आमालाई हेर्ने सोचेँ । तर, उहाँको फोटो थिएन । निर्जीव फोटोमा समेत ममतामयी आमाको मुख हेर्न नपाउँदा भावनाको भेल उर्लेर आयो । त्यो भेल आँखाबाट गालाको बाटो हुँदै आँसु भएर बग्यो ।

यसरी बग्ने आँसु पलपल आइरहे आमाको सम्झनामा तर आमा भने कहिल्यै फर्केर आउनुभएन नेपालगन्जबाट । केही वर्षपछि आमाको फोटो घरमा बल्ल तल्ल भेटियो । त्यो पनि त्यति प्रस्ट थिएन । मेरो मानसपटलमा कुँदिएको आमाको तस्विर र त्यो फोटो उस्तै लाग्थे- धमिला धमिला । आखिर कर्णालीका आमाहरूका जीवन नै धमिलो धमिलो, अँध्यारो अँध्यारो न छ ।

उज्यालो फोटो कहाँ पाउनु र !

दूधको भारा तिर्न बाँकी नै छ । लाग्छ, कम्प्युटरको दुनियाँमा त्यस्तो कुनै सप्फट्वेयर नै छैन जसले आमा शब्द मेटाउन सकोस् ।

आमाको काख भन्दा अर्को ठुलो कुनै दुनियाँ भेटिनँ । आमाको महानतालाई जोख्ने तराजु कहीँ कतै पाइँन ।
त्यसैले त फ्रान्सका राष्ट्रपति नेपोलियन बोनापार्टले भने होलान्, ‘तिमी मलाई असल आमा देऊ, म तिमीलाई एउटा असल राष्ट्र  दिनेछु ।’

(हामीले कर्णाली सरकारका आन्तरिक मामिला मन्त्री नरेश भण्डारीको पुस्तक चादिको घेराबाट साभार गरेका छौ )

प्रतिकृया दिनुहोस्