RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/१२ गते
५५३ पटक

दुवै अध्यादेश फिर्ता लिने निर्णय आजको मन्त्रिपरिषद् बैठकले गरेको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशाेधन गर्न बनेको अध्यादेश’ र ‘राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई संशाेधन गर्न बनेको अध्यादेश’ फिर्ता लिने निर्णय गरेको हो ।

आकस्मिक रूपमा मन्त्रिपरिषद्को बैठकले ८ वैशाखमा उपरोक्त दुई अध्यादेश जारी गरेपछि सत्तारुढ नेकपाभित्रै विवाद सिर्जना भएको थियो । पार्टी आफूअनुकूल नहुँदा विभाजनका लागि ‘राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई संशाेधन गर्न बनेको अध्यादेश’ ल्याएको हुन सक्ने आशंकाले सत्तारुढ नेकपापंक्तिलाई पिरोलेको थियो ।

पार्टीमा विनाछलफल अध्यादेश ल्याएलगत्तै नेकपाका शीर्ष नेताहरूले पार्टी केन्द्रीय सचिवालयको बैठक बोलाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई दबाब दिएका थिए । त्यसै दिन साँझ बसेको नेकपा सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यादेशको विरोध गरेका थिए ।

आज मन्त्रिपरिषद् बैठक डाकेर दुवै अध्यादेश फिर्ता गर्ने निर्णय गराए । यसरी पाँच दिन बित्दानबित्दै दुवै अध्यादेशको अवसान हुन पुग्यो ।

प्रतिकृया दिनुहोस्