RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/१३ गते
५९१ पटक

काठमाडौं । नेपालमा तीन महिनाको अवधिमा १२ जिल्ला कोरोना भाइरस (कोभिड–१९)बाट प्रभावित भएका छन् । नेपालमा पहिलोपटक १० माघ २०७६ मा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमितमध्ये केही निको भएकाले अहिले केही जिल्लामा संक्रमण शून्य रहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार सबै संक्रमित निको भएर काठमाडौं जिल्ला कोरोनामुक्त भएकामा खुसी व्यक्त गरेका छन् । यद्यपि, काठमाडौं जोखिममुक्त भने नरहेको चिकित्सकको भनाइ छ ।

कुल संक्रमित ४९ जनामध्ये केही भारतीय नागरिक छन् भने केही विदेशबाट फर्किएका नेपाली छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक जनामा स्थानीय संक्रमण देखिएको छ ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित भेटिएका छन् । हालसम्म काठमाडांै, धादिङ, चितवन, कैलाली, कञ्चनपुर, बागलुङ, पर्सा, रौतहट, उदयपुर, भोजपुर र सर्लाही जिल्ला प्रभावित भएका छन् ।

काठमाडौंमा तीन, धादिङमा एक, कैलालीमा चार, उदयपुरमा २८, बागलुङमा चार, चितवनमा दुई, सर्लाहीमा एक, भोजपुरमा एक जना संक्रमित भेटिएका हुन् । यस्तै, रौतहटमा एक, पर्सामा तीन, कञ्चनपुरमा एक जना संक्रमित भेटिएको पाइएको छ ।

संक्रमणको आधारमा सबैभन्दा बढी उदयपुर प्रभावित भएको छ । प्रदेश १ का उदयपुर र भोजपुर, प्रदेश २ का सर्लाही, पर्सा, रौतहट, बाग्मती प्रदेशका काठमाडांै, चितवन र धादिङ, गण्डकी प्रदेशको बागलुङ, सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर प्रभावित भएका छन् ।

सबैभन्दा धेरै कोरोना संक्रमित देखिएको प्रदेश १ मा विराटनगरस्थित कोसी अस्पतालमा २८ जनाको उपचार भइरहेको छ । चिकित्सकले प्रभावित जिल्लामा परीक्षणको दायरा बढाउन सुझाव दिएका छन् । संक्रमितमध्ये नेपालमा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएका व्यक्तिको जिल्ला पहिचान भएको छैन ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले प्रभावित जिल्लाको तथ्यांक एकीकृत भई नसकेको बताए । उनले भने, ‘तथ्यांक अद्यावधिक गर्दै छौं । अद्यावधिक गरेपछि जानकारी गराउँछौं ।’
प्रभावितहरू अधिकांश भारतबाट नेपाल भित्रिएका र विदेशबाट नेपाल आएका नागरिक रहेको पाइएको छ । प्रभावित जिल्लाका नागरिकलाई लकडाउनको पूर्ण पालना गर्न सरकारले आग्रह गरेको छ ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डोटी र अछाम, गण्डकी प्रदेशको बागलुङ, कर्णाली प्रदेशको जुम्ला जिल्ला महामारी संक्रमणका हिसाबले जोखिमपूर्ण रहेको निस्कर्ष निकालेको थियो । तर, कर्णाली र प्रदेश ५ मा संक्रमणको संख्या शून्य रहेको छ ।

यस्तै, हालसम्म आरटी–पीसीआर र आरडीटी प्रविधिबाट ४७ हजार ४ सय ९६ जनाको कोरोना परीक्षण भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार आरटी–पीसीआर प्रविधिबाट ९ हजार ४ सय ७ जना र आरडीटि प्रविधिबाट ३८ हजार ८९ जनाको कोरोना परीक्षण गरीएको छ ।

मन्त्रालयले प्रदेश १ मा ३ हजार ९ सय २९, प्रदेश २ मा ४ हजार ९ सय ७७, बाग्मतीमा ७ हजार १ सय ४३, गण्डकी प्रदेशमा ४ हजार ७ सय ८३, प्रदेश ५ मा २ हजार ८ सय ७०, कर्णालीमा ४ हजार ८ सय ७० र सुदूरपश्चिम प्रदेशमा ९ हजार ५ सय १३ जनाको नमुना परीक्षण गरेको छ ।

यस्तै, १२ हजार ९ सय ८५ जना क्वारेन्टाइनमा बसेका छन् भने ८९ जना विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत छन् । हालसम्म १० जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

प्रभावित जिल्लाहरू
काठमाडौं, धादिङ, चितवन, कैलाली, कञ्चनपुर, बागलुङ, पर्सा, रौतहट, उदयपुर, भोजपुर, सर्लाही र झापा

www.rajdhanidaily.com

प्रतिकृया दिनुहोस्