RaraNews

भुपेन्द्र थापा प्रकाशित : २०७७/१/१३ गते
२४१ पटक
भुपेन्द्र थापा

विश्व समुदाय यतिखेर कोरोना भाइरस(कोभिड-१९) संक्रमण र यसबाट दिन प्रतिदिन हुने मानिसको मृत्यवाट सिगो मानव जाति आक्रान्त भइरहेको छ। यो आलेख तयार गरुन्जेल विश्वभर २,७१६,९१७ जना संक्रमित, १९०,८७२ जनाको मृत्यु र ७४,४,५८० सङ्क्रमण भई निको भई सकेको अवस्था रहेको छ। अधिकांश युरोप, पूर्वी एसिया र उत्तर अमेरिका राष्ट्रहरू कोरोना भाइरसबाट प्रताडित भैईरहेका छन् । चीनको वुहान सहरबाट फैलिएको यो भाइरस अहिले विश्वभर फैलिने क्रम जारी छ । विश्वको पहिलो अर्थतन्त्र रूपमा परिचित शक्ति राष्ट्र अमेरिकामा यस भाइरसबाट हाल सम्म सबै भन्दा बढी ८६,९, १७२ जनामा संक्रमण देखिएको, ४९,९६३ जनाको मृत्यु भइसकेको छ भने ८०,९३४ जना संक्रमणवाट निको भइसकेको छ । त्यसै गरी स्पेन, इटाली, फ्रान्स, जर्मनी र बेलायतमा संक्रमण हुने र मृत्यु हुनेको सङ्ख्या दिन दिन बढ्दै गइरहेको छ। तर ती देशहरूमा मृत्यु भन्दा निको भएर जाने संख्याले बढी भएकोले गर्दा आशाको किरण समेत देखिन थालेको छ ।

विश्व जगतलाई सूक्ष्म विषाणुले चुनौती दिँदै गर्दा शक्ति राष्ट्रहरूलाई पनि स्वास्थ्य पद्धति र महामारीको समय गरिने पूर्व तयारीको विषयमा समीक्षा गर्न बाध्य पारेको छ । विशेष गरी दोस्रो विश्व युद्ध पछि संसार भर विकास र आधुनिकीकरण गरी शक्ति सम्पन्न बन्ने होड बाजीले तीव्र रूपमा प्रकृति माथिको दोहनको परिणाम स्वरूप वातावरणीय प्रदूषण एवं पारिस्थितिक प्रणाली माथिको कृत्रिम क्रमभंगता लगायतकाहस्तक्षेपवाट उत्पन्न दुष्परिणामले बेला बेला मानव समुदाय विभिन्न खालका विनाशकारी प्राकृतिक प्रकोप र महामारीवाट प्रताडित हुँदै आएको छ ।

कोरोना भाइरसलाई निर्मूल पारी मानव समुदायलाई मुक्ति दिलाउन प्रयत्नरत यति वेला चिकित्सा विज्ञानलाई चुनौती सामना गरिरहनु परेको छ । हाल सम्म कोरोना भाइरस निर्मूल पार्ने कुनै पनि खोप तथा एन्टी भाइरल औषधी पत्ता लाग्न सकेको छैन । विश्व चर्चित धनाढ्य माइक्रोसफ्ट कम्पनीका सह-संस्थापक एवं विल एन्ड मेलिण्डा गेट्स सह-अध्यक्ष विल गेट्सले सङ्क्रमणबाट पीडित र अन्य जनसङ्ख्यालाई भाइरसबाट मुक्ति दिलाउन खोपको व्यवस्था गर्न सकिन तब सम्म यो प्राण घातक भाइरसलाई मानव जातिले जित्न नसकिने तर्क राख्छन् । स्वास्थ्य क्षेत्रमा भएको वैज्ञानिक अनुसन्धानको दृष्टान्तले पनि लाखौँ मानिसको जीवन रक्षाको लागी खोपको आविष्कारले ठुलो योगदान गरेको गरेको पाइन्छ । जोन ईन्डरसनले(१८९७-१९८५ )ले दादुराको खोप पत्ता लगाएर १२० मिलियनको जीवन बचाएका थिए, ग्यासटोन रमान(१८८६-१९६३) ले डिपथेरिया र टिटानसको खोपबाट ६० मिलियन, माउरिस हिलम्यानले एट भ्याक्सिनबाट १२९ मिलियन, गेस्र ईल्डेरिङ्ग(१९००-१९८८) र पर्ल केनड्रिक(१८९०-१९८०) हुपिङ्ग कफ १४ मिलियन लगायत वैज्ञानिकले खोप आविष्कार गरेर मानिसको जीवन रक्षा गरेको दृष्टान्त रहेको छ । माथि उल्लेखित दृष्टान्तबाट पनि के तर्क गर्न सकिन्छ भने विश्व भर डढेलोझैँ फैलिएको कोरानमा भाइरस सङ्क्रमणबाट मुक्ति दिलाउन खोप बाहेक अर्को विकल्प देखिँदैन ।

हाल विश्वभरका वैज्ञानिकलाई २१ औ शताब्दीमा देखा परेको सबैभन्दा घातक महामारीको संज्ञा पाएको कोरानाभाईरस विरुद्ध खोप आविष्कार गर्ने प्रयत्न जारी रहेको छ । हालै चीनको बेजिङ्ग स्थित औषधी बनाउने कम्पनी साईनोम्याक वायोटकले रातो मुख भएको बाँदरमा खोप परीक्षण गरी सफल भएको दाबी गरेको समाचार प्रकाशित भएको छ । बेलायत स्थित विश्व प्रसिद्ध अक्सफोर्ड विश्व विद्यालयले कोभिड-१९ विरुद्धको खोप मानिसमा परीक्षण सुरु भएबाट वैज्ञानिक समुदायबाट खोप आविष्कारको भगीरथ प्रयत्न जारी भएको कुरा बुझ्न सकिन्छ। कोभिड-१९ संक्रमण अवस्थाले विश्व शक्ति राष्ट्र समेतको स्वास्थ्य पूर्वाधार र आपत्कालीन योजना पूर्व तयारी माथि नै संशय पैदा गरेको छ।

अल्पविकसित राष्ट्र जहाँ स्वास्थ्य पूर्वाधार कमजोर हुनु र आपत्कालीन योजना अभावले गर्दा महामारी सङ्क्रमण निस्तेज पार्न ग्राहो भएको छ। जसबाट संक्रमण फैलावट न्यूनीकरण विश्व स्वास्थ्य सङ्गठनले घोषणा गरेका पूर्व सावधानीका सुरक्षा कवचहरू परिपालना गर्नु आम मानिसको कर्तव्य वनेको छ । सिगारपुरमा हाल सम्म ११,१७८ जनालाई संक्रमण, १२ जनाको मृत्यु र ९२४ जना संक्रमणवाट मुक्त भएका छन् । अर्को देश कतारमा ७,७६४ जनामा संक्रमण ,१० जनाको मृत्यु र ७५० जनाले निको भएर घर फर्केका छन् र त्यसैगरी दक्षिण कोरियामा १०,७०८ मा संक्रमण भएको २४० जनाको मृत्यु भएको र ८,५०१ जनाक निको भएर घर फर्केका छन् । कोरोना भाइरसको संक्रमणको प्रवृत्तिलाई विश्लेषण गर्दा जुन जुन देशले गम्भीरता डब्लुएचओको अनुसार पूर्व सावधानी अपनाउनुका साथै अन्तर्राष्ट्रिय आवागमन बन्द , ट्रिसेङ्ग र टेस्टिङ्ग, लक डाउन, क्वारेनटाईन र सामाजिक दुरीलाई परिपालना गरे ती देशहरू संक्रमण र मानवीय क्षतिको दर कमी भएको देखिन्छ ।

दक्षिण कोरियाले कोरोना भाइरस संक्रमण रोक्न एवं सम्भावित जोखिम गर्न आफ्नो मौलिक मोडल समेत विकास गरी कार्यान्वयनमा ल्याएको पाइन्छ । जसमा निम्न रहेका छन् : क) परीक्षण, परीक्षण, परीक्षण ख) सरोकारवाला बिच समन्वय, सहकार्य र सञ्चार ग) सामाजिक दुरी कायम र संकटग्रस्तहरुको संरक्षण घ) स्वास्थ्यकर्मीहरुको संरक्षण ङ) संक्रमण केशको अवस्था अनुसार सामना गर्ने योजना । यी पाँच वटा क्षेत्रहरूमा ध्यान पर्याई उचित कार्यान्वयनवाट अगाडी बढ्न सकेमा हाम्रो परिवेशमा उत्तिकै सान्दर्भिक र सफल हुन सक्ने देखिन्छ ।

कोभिड-१९ ले विश्वका धनी र गरिब सबै मानिसहरूलाई समानरुपले आक्रमण गर्दै आएकोले मानिसलाई सुरक्षित पार्ने अन्तिम विकल्प रूपमा मेडिकल सोलुसन खोप(भ्याक्सिन) नै हो । अव आगामी दिनहरूमा यस क्षेत्रहरूमा अनुसन्धानरत रहने जनशक्तिहरू नै महत्त्वपूर्ण साबित हुने देखिन्छ । किनकि भोलिका दिनहरू नयाँ भाइरस हरू देखा पर्ने सिगों मानव समुदाय अझै गम्भीर चुनौती देखिन प्रबल सम्भावना उत्तिकै देखिन्छ । अझ यस भाइरसले चिकित्सा विज्ञानलाई प्रतिरोधात्मक प्रतिकार्य गर्ने भ्याक्सिन आविष्कार एवं परीक्षण गर्न मेडिकल अनुसन्धानदाताहरूको लागी नयाँ अनुसन्धानको ढोका खुला गरिदिएको छ ।अहिले खोप आविष्कार र परीक्षण रहेता पनि खोप तयार सन् २०२१ मध्य सम्म सफल हुन सक्ने आँकडा वैज्ञानिक समुदायहरूमा रहेको छ । जुन शताब्दीको ऐतिहासिक उपलब्धिको रूपमा रहनुका साथै भविष्यमा पनि जैविक आतङ्क रूपमा देखा पर्ने नौला भाइरस विरुद्ध लड्न मद्दत मिल्ने आशा गर्न सकिन्छ । विज्ञानबाट मात्र त्यति बेला मात्र अधिकतम फाइदा लिन सकिन्छ जब यसको अविष्कारवाट फाइदा लिन हामी आफैले सामर्थ्य विकास गर्न सकेका हुन्छौ ।

खोप बाहेक अन्य २ वटा मेडिकल अनुसन्धानलाई सँग सँगै अगाडी लिन सकेमा मात्र जैविक आतकंवाद रूपमा देखा पर्ने नौला भाईरसहरुसँग युद्ध लड्न सकिने देखिन्छ । भाइरस सङ्क्रमणको आशङ्का हुने व्यक्तिको परीक्षण जसरी अहिले गर्भ परीक्षण घरमा बसेर सजिलै गर्न सकिन्छ सोही प्रकृतिको परीक्षण किट तयार हुन सकेको भए त्यति संक्रमण चुनौती थप जटिल हुने थिएन। अव यस क्षेत्रमा अनुसन्धानरत अनुसन्धानकर्ताले कुनै भाइरस सङ्क्रमण भए नभएको थाहा पाउन परीक्षण कीट सर्वसुलभ र सहज रूपमा तयार गर्ने सामर्थ्य राख्नु पर्छ । अन्तिममा अनुसन्धान कर्ताले यस्ता नौला प्रकृतिका भाइरस विरुद्ध एन्टी भाइरल औषधीहरू तयार गर्नु पर्ने हुन्छ। जुन अहिले सम्म भाइरस विरुद्ध लड्न ब्याक्टेरिया जस्तो ठ्याक्कै उपचार हुने गरी औषधि बन्न सकेको छैन जुन अनुसन्धानको पाटोको रूपमा रहेको छ । तर अव विश्व वेला वेला महामारीको रूपमा देखा पर्ने नौला र घातक भाइरसबाट मानव जातिलाई बचाउने हो भने एन्टीभाईरल औषधि आविष्कार गर्न ठुला, सुविधा सम्पन्न ,प्रयोगशाला र अनुसन्धान केन्द्रहरू आवश्यक भैईसकेका छन् । जसले नयाँ सिर्जित भाइरस छिटो छरितो हिसाबले परीक्षण र प्रभावकारी उपचार गर्न सकियोस् । माथिका ३ वटा प्रविधिजन्य हस्तक्षेपले आगामी दिनमा देखा पर्ने महामारीलाई समयमै सामना गरी सङ्क्रमण तथा मानिसको मृत्युदर पनि कम गर्न सकिने देखिन्छ ।

सन् १९४५ पछि युद्ध विभिषिकावाट प्रताडित विश्वलाई शान्ति सुरक्षा , विश्व भाइचारा तथा मैत्री भाव, अन्तर्राष्ट्रिय सहकार्य र मानव अधिकारको संरक्षण गर्न संयुक्त राष्ट्रसङ्घ स्थापना भयो । त्यसै गरी कोभिड -१९ प्रभाव समाप्त भए पश्चात् राष्ट्रिय, क्षेत्रीय र विश्वव्यापी प्रतिनिधित्व हुने गरी आगामी दिनमा देखा पर्ने महामारी लगायतका विपद्को सामना गर्न बलियो र कामयाबी संस्थागत संरचना स्थापना गर्नुपर्ने अपरिहार्यता देखिन्छ । यद्यपि हाल डब्लुएचओ जस्ता स्वास्थ्य क्षेत्रमा काम गर्ने विशिष्टिकृत संस्थाले भूमिका नखेलेको त होइन तथापि विश्वभरि महामारीको रूपमा फैलिने रोगको चुनौती सामना गर्नका लागि विशिष्टकृत एवं सक्षम संस्थाको महसुस विश्व समुदायले यतिखेर गरिराखेको छ । उक्त संस्था अन्तर्गत रहने अनुसन्धान संस्थाहरूले जनावर, जीव र जन्तुबाट मानवमा सर्ने भाइरसको नियन्त्रण गर्न परीक्षण अभ्यास गरेर पनि विश्वलाई जैविक आतङ्कवाद विरुद्ध रक्षात्मक बनाउने काम गर्न सकिन्छ ।

कोभिड-१९ जस्ता भाइरसले कुनै देशको अध्यागमन तथम सीमा कानुन पालना गर्नु नपर्ने र भिसा पासपोर्ट नचाहिने सूक्ष्म विषाणुको सञ्जालबाट सङ्क्रमण हुने गर्दछ। भूमण्डलीकृत विश्वमा फैलिने महामारी नियन्त्रण प्रयास कुनै देश, राष्ट्र, राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाको पहल कदमले मात्र पर्याप्त हुँदैन। विभिन्न काल खण्डमा देखा पर्ने नौला तथा प्राणघातक भाइरसबाट मानव समुदायलाई सुरक्षित बनाउन विश्वव्यापी समन्वय ,सहकार्य र साझेदारी हुन जरुरी छ । कोराला भाइरसको प्रकोपले यतिखेर धनी राष्ट्र लाईसमेत आफ्नो स्वास्थ्य पद्धतिलाई पुनर्विचार गरी सुदृढीकरण गर्नुपर्ने पाठ सिकाएको छ भने अल्प विकसित राष्ट्रलाई यतिखेर देशको प्राथमिक उपचार पद्धति सुदृढ गर्न अधिकाधिक मात्रामा परिचालन गर्ने स्वास्थ्य पूर्वाधार, उपकरण र तालिम प्राप्त जनशक्ति तयारी रहन सबक सिकाएको छ ।

हामीले के पाठ सिक्ने त ?
विश्वव्यापीकरणको वेभमा संजालीकृत नेपाल पनि यतिखेर कोरोना भाइरस सङ्क्रमणको महामारीबाट अछुतो हुन सकेन। छिमेकी देश चीनबाट फैलिन सुरुवात भएको कोरोना भाइरस नेपालमा फैलिने जोखिम बढिरहेको वेलामा विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई सजग गराउँदा गराउँदै हामी पर्ख र हरेको नीति आत्मसाथ गर्‍यौ । विदेशीबाट आएका मानिसहरूबाट सङ्क्रमण फैलिन पुग्यो । उचित समयमै अन्तर्राष्ट्रिय हवाई उडानलाई बन्द नगरिनु साथै छिमेकी देश भारतवाट आएका नागरिकबाट पनि अहिले सम्म सङ्क्रमण देखिनुले भारततर्फ खुला सिमानालाई समयमा कूटनीतिक संवाद द्वारा बेलैमा बन्द गर्न नसक्नु ठुलो कमजोरीको रूपमा रह्यो। नेपालले हाल सङ्घीय शासन प्रणाली अभ्यास गरिरहेको वेला कोरोना भाइरससँग सामना गर्न सङ्घ, प्रदेश र स्थानीय निकाय आफ्नो भूमिका निर्वाह गर्न सकेमा नेपाली जनताले सङ्घीय शासन प्रणाली महत्त्व र उपायदेयता बारेमा महसुस गराउने बेला आएको छ। यस युगहीन अवसरबाट शासन प्रणालीका कुनै पनि साझेदार कदापि चुक्नु हुँदैन । तीन तहका सरकारबिच हाल परस्पर रूपमा सञ्चार, समन्वय र सहकार्य गरी विभिन्न एकीकृत संयन्त्र एवं सु-स्पष्ट महामारी नियन्त्रण कार्य योजना बनाइ कार्यान्वयन गर्नुमा नै शासकीय सफलता निर्भर हुने देखिन्छ ।

कोरोना भाइरस कोभिड-१९ वाट हालसम्म नेपालमा ४८ जना सङ्क्रमित भएका छन् १० जना निको घर फर्किसकेका छन् भने हाल सम्म मृत्युको खबर सुन्नु परेको छैन नेपाल सरकारले १ महिना भन्दा बढी समयको लक डाउन घोषणा गरी अझै विचार गरी अगाडी बढ्नुपर्ने अवस्था आएको सिर्जना भएको छ । आगामी दिनमा यस्ता महामारी लगायत विपद्को सामना गर्न ध्यान पुर्‍याउनु पर्ने पक्षहरू देहायबमोजिम उल्लेख गर्न सकिन्छ :
१. महामारी नियन्त्रण समवन्धी आपत्कालीन राष्ट्रिय कार्य योजना बनाइ सङ्घ, प्रदेश र स्थानीय तहसँग समन्वयात्मक रूपमा कार्यान्वयन गर्नुपर्ने ।
२. महामारी नियन्त्रणको स्वास्थ्य पूर्वाधार, प्रयोगशाला, टेस्ट किट ,पिपिई र तालिम प्राप्त जनशक्ति तयारी लागि पर्याप्त बजेट विनियोजन गर्ने ।
३. ७ वटै प्रदेशमा परीक्षणको प्रयोगशाला र रेसपोन्स टिम लगायत आवश्यक उपकरण भण्डारको व्यवस्था मिलाई समन्वयकारी संयन्त्र मार्फत परिचालन गर्ने ।
४. प्रत्येक स्थानीय तहमा जनचेतना फैलाउने र सूचना समन्वय गर्न हरेक पालिकामा संयन्त्र खडा गरी परिचालन गर्ने ।
५. हरेक स्थानीय निकायले विपद् व्यवस्थापन कोष स्थापना गर्ने महामारी लगायत अन्य विपद्को घटनाको प्रतिकार्य गर्न आपत्कालीन कार्य योजना बनाइ कार्यान्वयन गर्ने ।
६. महामारी लगायत अन्य विपद्को घट्न पहिलो पङ्क्ति काम गर्ने स्वास्थ्य कर्मी र सुरक्षा कर्मी लगायत अन्य जनशक्ति जोखिम भत्ता र जीवन विमाको व्यवस्था गरी प्रभावकारी कार्यान्वयन गर्ने ।
७. बन्दा बन्दीको अवस्थामा जनतालाई आवश्यक पर्ने आधारभूत आवश्यकता वस्तु र सेवा आर्पूर्तिको लागि सम्बन्धित निकायले जिम्मेवारी सहितको सु स्पष्ट कार्य योजना र सोको कार्यान्वयन संयन्त्र परिचालन गर्ने ।
८. अति आवश्यक अवस्थामा पूर्व सावधानीका सुरक्षा कवचहरूको परिपालना गर्दै आन्तरिक आवागमनको कार्यविधि तयार गरी कार्यान्वयनमा ल्याउनु पर्ने ।

अन्तमा हाल विश्व समुदायलाई आक्रान्त र त्रसित बनाउने यस्ता खालका भाइरस विरुद्ध लड्न र भविष्यमा देखा पर्ने अझै नौलो र घातक खालका भाईस विरुद्ध सामना गरी मानव समुदायको अस्तित्वमाथि सङ्कटलाई पार लगाउन विश्व समुदाय एकजुट भई प्रतिकार गर्न वैज्ञानिक अनुसन्धान विकल्प छैन । युभाल नोहा हरारीले भने जस्तै “मृत्यु प्राविधिक समस्या हो” भन्ने तर्क सिद्ध गर्न खोप आविष्कार गरी भाइरस सङ्क्रमण निर्मूल भएको जानकारी विश्व समुदाय दिन ढिला गर्नु चिकित्सा विज्ञान र सिगो वैज्ञानिक समुदायलाई छुट मिल्नेवाला छैन । बेलायतले फस्ट ल्यान्ड भिक्टरी जितेको वेला विस्टिन चर्चिल एउटा भाषण घोषणा गरेका थिए “यो अन्तिम होइन, अझै अन्त हुने सुरुवात पनि भैईसकेको छैन, तर यो हो, सायद यो अन्तिम हुने सुरुवात चाहिँ हो ।”भन्ने भनाई कोरोना भाइरसको विश्व व्यापी लडाइको सन्दर्भमा मनन गरे मानव समुदाय हित हुने कुरामा निर्विवाद छ ।

[प्रशासन डटकमबाट साभार गरेका छौ]

प्रतिकृया दिनुहोस्