RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/२० गते
६३८ पटक

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समुदायबाट समुदायमा संक्रमण फैलिएको अवस्थामा त्यसलाई पूर्ण रूपमा नियन्त्रणमा लिने गरी घरमै उपचार गर्ने व्यवस्था मिलाउने तयारी थालेको छ । कोरोना महामारीको सम्भावित जोखिम कम गर्न सबै उपाय अपनाएर जुधिरहेको सरकारले संक्रमण रोकथाम र नियन्त्रणका लागि चारवटा रणनीति बनाएको थियो । रणनीतिअनुसार नै व्यवस्थित किसिमले काम गरिएकाले कोरोना संक्रमणको दर बढ्न नपाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले जानकारी दिए ।

सचिव कोइरालाका अनुसार संक्रमण दर थेग्नै नसक्ने गरी फैलिए घरमै गएर उपचार गर्ने व्यवस्था मिलाउनेसम्मको तयारी गरिएकाले आत्तिनुपर्ने अवस्था छैन । ‘हालसम्म नेपालमा ५९ जनामा कोभिड–१९ पोजेटिभ देखिएको छ भने १६ जना निको भएर घर फर्किएका छन् । कोइरालाका अनुसार कोभिड–१९ का जटिल बिरामीलाई अस्पताल र सामान्यलाई घरमै उपचारको व्यवस्था मिलाउने योजना बनाइएको छ ।

कोइरालाले भने, ‘थेग्नै नसक्ने गरी (अमेरिका, युरोपमा जस्तै) संक्रमण फैलिएको अवस्थामा चौथो रणनीतिक योजना कार्यान्वयनमा ल्याइनेछ, जुन अन्तिम विकल्प हो ।’ पहिलो र दोस्रो रणनीतिलाई सफलतापूर्वक कार्यान्वयनमा ल्याएको मन्त्रालयले हाल तेस्रो रणनीतिअनुसार काम गरिरहेको छ । जसअन्तर्गत स्थानीय रूपमा संक्रमण फैलिन नदिने योजना बनाइएको र सफल भएको मन्त्रालयको निष्कर्ष छ । कैलालीमा एक महिलामा देखिएको स्थानीय संक्रमण नियन्त्रण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोभिड–१९ रोकथामका लागि रणनीतिक योजनाअनुसार काम गरिरहेको मन्त्रालयले हाल कोरोना संक्रमणबाट जोगिन ६ वटा ‘टी’अर्थात् ट्राभल, रेस्ट्रिक्सन, टेस्टिङ, ट्र्याकिङ, ट्रिटमेन्ट र टुगेदरको रणनीतिसमेत कार्यान्वयन गर्दै आइरहेको कोइरालाले जानकारी दिए ।

मन्त्रालयले कोभिड–१९ लाई मध्यनजर गर्दै २५ वटा हब अस्पताल तोकेको छ । ‘ती कोरोना अस्पतालमा आवश्यकताअनुसार स्वास्थ्यजन्य सामग्रीहरू उपलब्ध गराउँदै आएका छौं । यस्तै, कोरोना परीक्षणका लागि आवश्यक ल्याब व्यवस्था गरिएको छ,’ सचिव कोइरालाले राजधानीसँग भने ।राजधानी दैनिकबाट ….

प्रतिकृया दिनुहोस्