RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/२५ गते
६६७ पटक

विराटनगर- लकडाउन थपेको थप्यै गर्ने तर कोरोना जोखिम कम गर्न आवश्यक काम भने सुस्त गतिमा अघि बढाउने सरकारी शैलीको सर्वत्र आलोचना भइरहेको छ।  लकडाउनको मोडालिटीबारेमै पुनःविचार हुनुपर्ने राय विज्ञहरुबाट आइरहेका बेला सरकारले बुधबार यही अवस्था अरु १० दिन लम्ब्याउने निर्णय लिएको छ।

राजनीतिक वृत्तमा प्रश्न बाक्लिएको छ के सरकार राजनीतिक विरोध छल्न लकडाउनको सहारा लिइरहेको छ ? उनीहरुको प्रश्नलाई स्वास्थ्य क्षेत्रका  विज्ञहरुको प्रश्नले पनि बल  दिन्छ।  स्वास्थ्य विज्ञहरु नै सरकारलाई निरन्तर सोध्दैछन् ‘ अब १० दिन थपेको लकडाउन पछि के ? फेरि लकडाउन ?’

उनीहरुका अनुसार सरकारको यो शैलीले समाधानको दिशामा  होइन मुलुकलाई समस्याको चाङतिर अरु अग्रसर गराउनेछ।  बरु चुनौतीको आयाम थप बढ्दै जानेछ।  ‘लकडाउन किन थपेको भन्ने कुराको उत्तर र अनुमान अब सरकारले मात्रै गर्न सक्नेभयो’, विराटनगरका महामारी रोग विशेषज्ञ डा. सूर्य पराजुली भन्छन् ‘यति लामो लकडाउनमा सरकारले जोखिम क्षेत्र नै पहिल्याएको छैन।  यस्तोमा परीक्षणको दायरा कसरी बढाउने भन्ने कुरा नै अन्योलपूर्ण छ। ’

उनका अनुसार प्रदेश १ मा उपचार तयारी, अस्पतालहरुको निर्माण लगायतका व्यवस्थापकीय काममा सरकारले उत्कृष्ट नतिजा दिने गरी काम गरेको छ।  तर, चिन्ताजनक कुरा चाहिँ  अहिलेसम्म प्रदेशमा १ हजार ७  सय जनाको मात्रै परीक्षण भएको छ।  ‘यो दायरा बढाउने माग चर्को छ, दायरा बढाउन पनि जरुरी छ तर कसको परीक्षण गर्ने’, उनले भने ‘यो बेलासम्ममा प्रदेशका हरेक वडामा जोखिममा कति जनसंख्या छ भन्ने यकिन तथ्यांक संकलन भइसक्नुपर्ने थियो।  मधुमेह, उच्चरक्तचाप जस्ता दीर्घरोगबाट पीडितहरु बढी जोखिममा पर्ने देखिएको छ।  अहिलेसम्म सरकारसँग त्यस्ता रोगीहरुको कुनै तथ्यांक छैन।  त्यसैले लकडाउनको समाधान खोज्न पनि गाह्रो परिरहेको छ। ’  विदेशबाट आएका, संक्रमण रहेको क्षेत्रबाट घरघर पुगेका को कति छन् भन्नेसमेत तथ्यांक नहुनु खतरनाक पक्ष भएको उनको भनाइ छ। नागरिक दैनिकबाट

प्रतिकृया दिनुहोस्