RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/२९ गते
६८८ पटक

काठमाडौं । परराष्‍ट्र मन्त्रालयले नेपाली भूमि लिपुलेकमा भारतले सडक बनाएको विषयमा नेपालका लागि भारतीय राजदूतलाई बोलाएर सोधपुछ गरेको छ।

सोमबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय राजदूत विनयमोहन क्वात्रालाई मन्त्रालयमा बोलाएर लिपुलेकमा भएको निर्माणबारेमा औपचारिक धारणा माग गरेका हुन्। राजदूत क्वात्राले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सचिव शंकर वैरागीसहितका पदाधिकारीलाई मन्त्रालयमा भेटेका छन् ।

साथै नेपाली भूभागभित्र रहेको लिपुलेकमा बिनासूचना र जानकारी भारतीय पक्षले सडक निर्माणसहितका गतिविधि जारी राखेकोमा राजदूत क्वात्रालाई ‘कूटनीतिक नोट’ समेत दिइएको छ ।

‘परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रासँग परराष्ट्र मन्त्रालयमा भएको भेटमा सीमाको विषयमा नेपालको धारणाबारे जानकारी गराउनु भएको छ र यसै विषयमा एउटा कुटनीतिक नोट बुझाउनु भएको छ,’ परराष्ट्र मन्त्रालयले सोमबार जनाएको छ।

लिपुलेकमा नेपाली भूमि मिचेर भारतले निर्माण गरेको सडक केहि दिन अघि मात्रै उद्घाटन गरेको थियो । परराष्ट्र मन्त्रालयले यसअघि नै विज्ञप्ति जारी गरी उक्त घटनाको विरोध गरिसकेको छ ।

प्रतिकृया दिनुहोस्