RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/३० गते
९८५ पटक

निजी विद्यालयले शिक्षक–कर्मचारी तलब र घरभाडा तिर्न सरकारसँग ३ वर्षसम्मका लागि २ प्रतिशत ऋण माग गरेका छन् ।

सरकारले निजी विद्यालयको सहमतिबेगर एकलौटी निर्णय गरेर निजी विद्यालयलाई चरम आर्थिक संकटमा पारेको जनाउँदै निजी विद्यालयको संगठन प्याब्सनले सरकारसँग सहुलियतपूर्ण ऋणको माग गरेको हो । प्याब्सनको टोलीले उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई शनिबार भेटी आधा दर्जन बढी माग पेस गरेको हो ।

टोलीले सरकारले चैत महिनाको शुल्क मिनाहा गरेको विषयमा मौन समर्थन गर्दै त्यसको विकल्पका रुपमा तलब र घरभाडा तिर्न र निजी विद्यालयलाई सहुलियत दिन राहत कोष स्थापना गर्न माग गरेको छ । प्याब्सन अध्यक्ष टीका पुरीले मागको विषयमा सरकार सकारात्मक रहेको जानकारी दिनुभयो ।

उहाँले उपप्रधानमन्त्रीले आउँदो बजेटमा निजी विद्यालयलाई राहत दिने विषयमा छलफल गर्ने बताउनुभएको उल्लेख गर्नुभयो । कोरोना रोग नियन्त्रण गर्न सरकारद्वारा गठित टोलीको संयोजकसमेत रहनुभएका उपप्रधानमन्त्री पोखरेलले यो विषयमा सबै सरोकारवाला निकायसँग छलफल गर्ने बताउनुभयो ।

‘हामीले माग पेस गरेका छौं, माग सम्बोधन गर्न सरकार गम्भीर भएर लाग्ने जानकारी पाएका छौं’ –प्याब्सन अध्यक्ष टीका पुरीले भन्नुयो । उपप्रधानमन्त्री पोखरेलसँग भेट गर्न प्याब्सन अध्यक्ष पुरी, वरिष्ठ उपाध्यक्ष राजेन्द्र बानिया र महासचिव कुमार घिमिरे पुग्नुभएको थियो । कार्य व्यवस्थताको कारण एन–प्याब्सनका पदाधिकारी नपुगेको पुरीले जानकारी दिनुभयो । www.newsofnepal.com

प्रतिकृया दिनुहोस्