RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/३१ गते
७३० पटक

काठमाडौं :  प्रधानमन्त्री ओलीले बुधबार अपरान्ह साढे ४ बजेका लागि सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक बोलाएका हुन्। प्रधानमन्त्रीका सञ्‍चारविज्ञ रामशरण बजागाईंका अनुसार यो बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई बोलाइएको छ।

भारतले अघिल्लो शुक्रबार लिपुलेकस्थित नेपाली भूमिको २२ किलोमिटर क्षेत्रमा अतिक्रमण गर्दै सडक बनाएपछि यसअघि नै नेपालले विरोध जनाइसकेको छ।

बुधबार नै सरकारले भारतीय सैन्य क्याम्प रहेको नेपाली भूमि कालापानीबाट १२ किलोमिटर दक्षिण-पूर्वस्थित छाङ्रुमा सशस्त्र प्रहरीको २५ जनाको टोली उतारिसकेको छ।

छाङ्रुमा अब सशस्त्र प्रहरीले स्थायी क्याम्प नै बनाएर बस्ने तयारी गरेको छ।  प्रधानमन्त्री ओलीले बुधबारै बस्न लागेको नेकपा स्थायी कमिटी बैठक पनि स्थगित गरिसकेका छन्।

आजको बैठकमा केही दिनयता तीव्र गतिमा फैलिरहेको कोरोना भाइर संक्रमण र यसलाई नियन्त्रणमा अपनाइएका उपायबारे समीक्षा तथा भावी रणनीतिबारे पनि छलफल हुने भएको छ।

प्रतिकृया दिनुहोस्