RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/२/८ गते
१६४० पटक

सल्यान : कोरोना भाइरस संक्रमणको परीक्षणबिनै सल्यानमा झन्डै पाँच सय नागरिक जिल्ला भित्रिएका छन्। भारतका विभिन्न स्थानबाट नेपालगन्ज आएकालाई कोरोना भाइरस भए÷नभएको कुनै पनि परीक्षण गरिएको छैन।

जिल्लाको कपुरकोट नाकाबाट ५८ जना र बबई नाकाबाट ४ सय १२ जना जिल्ला भित्रिएका जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ। ठूलो संख्यामा नागरिकहरु आएकाले स्थानीय तहले गरेका क्‍वारेनटाइनको संख्या बढाउनुपर्ने प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताए।

कपुरकोट नाकाबाट भित्रिएका सबैलाई त्यहीँ रोकेर राखिएको र सोही स्थानमा आरडिटी गरी सम्बन्धित स्थानीय तहको क्‍वारेन्टाइनमा पठाइने उनले जनाए। यस्तै बबई नाकाबाट आएका ४ सय १२ जनालाई बनगाड कुपिण्डे नगरपालिकाका सल्लीबजारमा रोकिएको छ।

उनीहरुलाई पनि नगरपालिकामा स्थापना गरिएका क्‍वारेन्टाइनमा राखी स्वास्थ्य जाँच गरी भित्र्याइने मेयर गोविन्द कुमार पुनले बताए।  भारतका विभिन्न स्थानमा रोजगारीका लागि झन्डै १८ हजार सल्यानी पुगेका छन्। लकडाउनयता एक हजार आइसकेका र ६ देखि ७ हजार आउने अनुमान गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताए।

दुई गुणा चर्को भाडा तिरेर आए नागरिक

भारतबाट नेपालगन्ज नाका हुँदै आएका सल्यानका नागरिकहरुले दुई गुणा भाडा तिरेर जिल्ला आइपुगेको बताएका छन्। बाँके प्रहरी र यातायात व्यवसायीले चर्को भाडा तिराएर जिल्ला पठाएको उनीहरुले बताए।

कतिपयले नगद नभएपछि मोबाइल बिक्रीसमेत गरेका छन्।  कपुरकोट नाकामा आएका नागरिकहरुले प्रतिव्यक्ति १५ सय रुपैयाँ भाडा तिरेको बताए। यस्तै बबई नाकाबाट आएका नागरिकहरुले पनि साढे तीन सय भाडा भए पनि एक हजार रुपैयाँ तिरेको बताए।  नेपालगन्जमा १५ सय नदिए डण्डा लगाउँछौ भन्दै गाडीमा आफूहरुलाई राखिएको बनगाड कुपिण्डे नगरपालिकाका गोपीलाल रानाले बताए। भारतमा भन्दा नेपालमा आएपछि थप दुःख पाएको उनको गुनासो छ।
thahakhabar.com

प्रतिकृया दिनुहोस्