RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/२/१३ गते
५६२ पटक

काठमाडौं । सरकारले रुकुम पश्‍चिमको घटनाको छानविनका लागि पाँच सदस्यीय छानविन समिति गठन गरेको छ ।

राष्ट्रियसभाको आजको बैठकमा गृहमन्त्री रामबहादुर थापाले जाजरकोट र रुकुम पश्चिमबीचका केही युवाका बीचमा विवाहको विषयलाई लिएर भएको घटनाका सम्बन्धमा छानविनका लागि गृहमन्त्रालयका सहसचिवको संयोजकत्वमा प्रहरी वरिष्ठ उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अधिकृत, महान्यायाधिवक्ताको कार्यालयका अधिकृत र गृह मन्त्रालयका उपसचिव सदस्य रहने गरी समिति गठन गरिएको जानकारी दिए ।

समितिलाई एक महिनाभित्र प्रतिवेदन पेश गर्न अख्तियारी दिइएको छ । यही जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका¬–८ बस्ने वीरबहादुर मल्लकी छोरी १७ वर्षीया सुष्मालाई भगाई ल्याउनका लागि जाजरकोट भेरी नगरपालिका–४ का मोहन विकका छोरा २१ वर्षीय नवराजसहितको १९ जनाको समूह स्थानीय सोती पुगेको अवस्थामा झगडा भएको थियो ।

मन्त्री थापाका अनुसार युवतीलाई भगाई लाने क्रममा केटी पक्ष र केटा पक्षका आफन्तबीच झैझगडा हुँदा केटी पक्षकाले केटा पक्षलाई भेरी नदीतर्फ लखेटेका थिए ।

जाजरकोट भेरी नगरपालिका–४ बस्ने केटा पक्षका २१ वर्षीय सुदीप खड्का सामान्य घाइते भएको र केटा पक्षकै पाँचजनालाई अस्थायी प्रहरी पोष्ट रावतगाउँ र सातजनालाई इलाका प्रहरी कार्यालय चौरजहारीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको मन्त्री थापाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्