RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/२/१८ गते
१३७९ पटक

काठमाडौं । कोरोना भाइरस संक्रमण भई जटिल अवस्थामा पुग्ने बिरामीका लागि अत्यावश्यक मानिएको भेन्टिलेटर र आईसीयू बेडको संख्या निकै न्यून मात्रामा हुँदा थप जोखिम बढेको छ । कोरोना भाइरस संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गए पनि भेन्टिलेटर र आईसीयूको संख्या विस्तारमा सरकारी निकायले पर्याप्त ध्यान नदिँदा यो अवस्था आएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १ हजार ५ सय ९५ आईसीयू बेड (सघन उपचार कक्ष) र ८ सय ४० भेन्टिलेटर छन् । संक्रमितहरू जटिल अवस्थामा पुगे भेन्टिलेटर अत्यावश्यक मानिन्छ । नेपालमा हालसम्म संक्रमितको संख्या १ हजार ४ सय १ पुगेको छ । यस्तै, संक्रमितमध्ये सात जनाको मृत्यु भएको छ ।

तर, अधिकांश संक्रमितमा लक्षण नदेखिएकाले अहिलेसम्म भेन्टिलेटर र आईसीयू जरुरत परेको छैन । यद्यपि, संक्रमण दर तीव्र बन्दै गए र जटिल प्रकृतिका संक्रमित अत्यधिक भए हाल रहेका भेन्टिलेटर र आईसीयूले धान्न नसक्ने जनस्वास्थ्य विज्ञहरू बताउँछन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले सरकारले पर्याप्त मात्रामा पूर्वतयारी नगरेको बताए । उनले भने, ‘पर्याप्त मात्रामा भेन्टिलेटर र आईसीयू बेड तयारी अवस्थामा राख्नुपर्ने थियो । धेरै जसो अस्पताल भेन्टिलेटरविहीन छन् । तर, सरकारले भेन्टिलेटर जडानमा कुनै चासो दिएको जस्तो लाग्दैन ।’

स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गए लक्षण नभएका सामान्य प्रकृतिका बिरामीलाई घरमै सेल्फ आइसोलेसनमा बस्न आग्रह गरिने बताए ।

राजधानी दैनिकबाट…

प्रतिकृया दिनुहोस्