RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/२/२४ गते
७१२ पटक

काठमाडौं । सरकारले क्वारेन्टिनमा बस्दै आएका सबै नागरिकको आरटीपीसीआर परीक्षण नगर्ने भएको छ । तर, विज्ञहरूले भने भरपर्दो र विश्वसनीय भएकाले पीसीआर परीक्षण गर्नुपर्ने सुझाव दिँदै आएका छन् । तर, सरकारले उनीहरूको सुझावलाई बेवास्ता गरेको छ ।

विश्व स्वास्थ्य संगठनले पनि कोरोना भाइरस पहिचानका लागि आरटीपीसीआर विधि नै उपयुक्त भएको बताए पनि क्वारेन्टिनमा बस्दै आएका सबै नागरिकको आरटीपीसीआर परीक्षण नगर्ने योजनामा सरकार पुगेको हो । जसका कारण संक्रमणको दर अत्यधिक बढ्ने खतरा देखिएको छ ।

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस पहिचानका लागि आरडीटी कीट प्रयोग नगर्न पटक पटक भन्दै आएको छ । तर, संक्रमणको स्रोत नै मानिएका क्वारेन्टिनमा बस्दै आएका नागरिकहरू लक्षणविहीन देखिए तत्कालका लागि आरडीटी कीट प्रयोग गर्ने गरी स्वास्थ्य मन्त्रालयले निर्देशिका तयार पारेको छ ।

शुक्रबार मात्रै सुर्खेतको क्वारेन्टिनमा बसेका एक युवाको आरडीटीमा नेगेटिभ रिपोर्ट आएको थियो । तर, उनको मृत्युपश्चात् पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो । सरकारले क्वारेन्टिनमा बस्दै आएका सबैको पीसीआर टेस्ट गर्नुपर्ने माइक्रोबायोलोजिस्टको जोड छ ।

त्रिवि माइक्रोबायोलोजी केन्द्रीय विभागका विभागीय प्रमुख प्राडा. मेघराज बन्जाराले नेपालमा हाल प्रयोग भइरहेको आरडीटी कीट गुणस्तरहीन रहेको बताए । उनले भने, ‘नेपालमा प्रयोग भइरहेको आरडीटी टेस्ट गुणस्तरयुक्त छैनन् । आरटीपीसीआरलाई प्राथमिकता दिनुपर्छ ।’

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले १ लाख ६६ हजार ७ सय ६५ जना क्वारेन्टिनमा बस्दै आएको जानकारी दिए । हालसम्म ८८ हजार ३ सय ६६ जनाको मात्रै आरटीपीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ ।

‘नेसनल टेस्टिङ गाइडलाइन फर कोभिड–१९’ मा क्वारेन्टिनमा बस्दै आएका र कोरोना भाइरसको कुनै लक्षण नदेखिए नागरिकलाई घर पठाइने उल्लेख छ ।

यद्यपि, हालका लागि क्वारेन्टिनमा बस्दै आएकाहरूको आरडीटी परीक्षण गर्ने निर्देशिकामा उल्लेख छ । निर्देशिकामा हाललाई क्वारेन्टिनमा रहेका व्यक्तिहरूको १४ दिनपछि आरडीटी परीक्षण गर्ने उल्लेख छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २० जेठमा निर्देशिका जारी गरेको थियो । पहिलो प्राथमिकतामा संक्रमण फैलिएको समुदाय, आइसोलेसनमा बसेका व्याक्तिहरू र संक्रमितसँगको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिको आरटीपीसीआर परीक्षण गरिने योजना बनाइएको छ ।

यस्तै, दोस्रो प्राथमिकतामा फ्रन्ट लाइनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, दीर्घरोग भएका बिरामीहरू र अस्पतालमा काम गर्ने एम्बुलेन्स चालक र अन्य कर्मचारी रहने उल्लेख छ । तेस्रो प्राथमिकतामा लक्षण भएका नागरिक पर्नेछन् । निर्देशिका अनुसार कुनै लक्षण, ट्राभल हिस्ट्री नभएको र आफंै परीक्षण गराउन पुग्नेहरू टेस्टिङ प्राथमिकतामा पर्दैनन् ।

विश्वस्वास्थ्य संगठनले कोरोना भाइरस पह्चिानका लागि प्रयोग नगर्न भनेको कीट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप १ लाख ५० हजार थान ¥यापिड डाइग्नोस्टिक टेस्ट कीट (आरडीटी) खरिद गर्ने तयारी थालेको छ । हालसम्म १ लाख ३२ हजार ९ सय ६६ जनाको आरडीटी परीक्षण गरिएको छ ।राजधानी दैनिकबाट

प्रतिकृया दिनुहोस्