RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/२/२४ गते
१०३९ पटक

काठमाडौँ, जेठ २४ गते । काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिकाको क्वारेन्टाइनमा १४ दिन बस्दाको समय बितेको विनोद तामाङ (नाम परिवर्तन)ले पत्तै पाउनुभएन ।

मण्डन देउपुर नगरपालिकाले महादेव प्राथमिक विद्यालयमा सञ्चालन गरेको क्वारेनटाइनमा बस्दा पनि आफ्नै घरमा बसेजस्तो भएको उहाँ सुनाउनुहुन्छ । ‘१४ दिनसम्म घरमै बसेजस्तो महसुस गरेँ’ क्वारेन्टाइनबाट फर्किएपछि तामाङले भन्नुभयो । दुई हप्तामा नगरपालिकाले आरडीटी परीक्षण गरेपछि घर फर्कँदा ढुक्क हुनुभएका उहाँले स्थानीय सरकारको यो कामलाई सराहना गर्न कन्जुस्याइँ गर्नुभएन ।

निशुल्क वाइफाइ, टेलिभिजन, व्यायाम गर्ने प्रशस्त ठाउँ भएको मण्डनदेउपुर नगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा २९ जना विदेश तथा कोरोना प्रभावित जिल्लाबाट आउनुभएका व्यक्तिहरू बसेर फर्किएका छन् । अहिले पनि आठ जना क्वारेन्टाइनमै रहेको मण्डनदेउपुर स्वास्थ्य शाखामा कार्यरत दीपक घिमिरेले जानकारी दिनुभयो । दुबई, साउदी अरब र भारतबाट आएका स्थानीय नागरिकलाई अनिवार्य क्वारेन्टाइनमा बस्न अनुरोध गरिएकोमा सबैले क्वारेन्टाइनमा बसेर घर फर्केका घिमिरेले जानकारी दिनुभयो ।

सरसफाइ र स्वास्थ्य सुरक्षाको व्यवस्था
‘हामीले शौचालयमा साबुन, टावेल, कोठामा टिभी, वाइफाईको व्यवस्था गरेका छाैँ’ घिमिरेले बताउनुभयो । उहाँले क्वारेन्टाइन स्थलमै एम्बुलेन्स तयारी अवस्थामा राखिएको र घेराभित्र क्वारेन्टाइन स्थल बनाइएको बताउनुभयो ।

क्वारेन्टाइनमा नुहाउन, लुगा धुन पानीको राम्रो व्यवस्था गरिएको र पोषणलाई मिलाएर खानेकुरा खुवाएको भन्दै क्वारेन्टाइनमा बसेर फर्किएकाहरू निक्कै खुसी भएका छन् । चौध दिन क्वारेन्टाइनमा बस्नुभएका मण्डन दुई जनाले स्थानीय सरकारले आफूहरूलाई सरकार भएको अनुभूति गराएको बताउनुभयो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रणराज न्यौपानेका अनुसार क्वारेन्टाइनको बसाइ आफूसँगै घर परिवार र समुदायको सुरक्षाको लागि आवश्यक रहेको सचेतना फैलाएका कारण विदेशबाट र सङ्क्रमित क्षेत्रबाट आउनेहरू सिधै सम्पर्कमा आउने गरेका छन् ।

उहाँले भन्नुभयो, ‘क्वारेनटाइनमा बस्नेको नाम गोप्य राख्ने र उहाँहरूलाई क्वारेनटाइनको बसाइ सजिलैसँग बितोस् भनी नगरपालिकाले प्रयास गरिरहेको छ ।’गोरखापत्र अनलाइन….

प्रतिकृया दिनुहोस्