RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/२/२७ गते
५५४ पटक

जेठ २७ गते । यातायात व्यवस्था विभागले कोरोनाको बन्दाबन्दीमा सार्वजनिक सवारी सञ्चालनको तयारी थालेको छ ।

बन्दाबन्दी बिस्तारै खुकुलो बनाउने तयारीसँगै यातायात व्यवस्था विभागले सार्वजनिक सवारी सञ्चालनका लागि निर्देशिका तर्जुमाको तयारी थालेको हो ।

नयाँ निर्देशिका कोरोनाबाट सुरक्षित रहेर सार्वजनिक सवारी सञ्चालन गर्नका लागि निर्माण गरिएको विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिनुभयो । निर्देशिकामा छलफल भइरहेको उहाँले जानकारी दिनुभयो ।

महानिर्देशक हमालले भन्नुभयो, “कोरोनाबाट सुरक्षित रहेर सार्वजनिक सवारी सञ्चालन गर्ने सवालमा प्राविधिक मापदण्ड बनाएको हो, यसमा सरोकारवालासँग छलफल भइरहेको छ ।” उहाँले अहिलेको अवस्थामा कोरोनाबाट सुरक्षित रहेर सार्वजनिक यातायात सञ्चालन गर्ने कुरा नै प्रमुख रहेको तर सरकारबाट सार्वजनिक सवारी खुला गर्ने कुरा नआउँदा पनि आफ्नो तयारी गरेको जानकारी दिनुभयो ।

बन्दाबन्दीकै अवस्थामा सरकारले सार्वजनिक सवारी सञ्चालन गरेको खण्डमा कसरी सुरक्षित रहेर काम गर्ने भन्ने सवालका तयारी थालिएको हमालले बताउनुभयो ।

उहाँका अनुसार बन्दाबन्दीमा सार्वजनिक सवारी सञ्चालन गर्नुपरे सामाजिक दूरी कायम हुनेगरी सञ्चालन गर्नुपर्ने छ । जसमा पहिलाजस्तै सबै सिटमा यात्रु राख्न पाइने छैन । मास्क, पन्जा तथा स्यानिटाइजरको प्रयोग अनिवार्य गरिनेछ । निश्चित स्थानबाट मात्रै यात्रु चढाउने तथा ओराल्ने गरिनेछ ।गोरखापत्र अनलाइन

प्रतिकृया दिनुहोस्