RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/२/२८ गते
७७६ पटक

काठमाडौं । साढे दुई महिनाभन्दा बढी समयदेखि जारी लकडाउनको मोडालिटी परिवर्तन गर्ने विषयमा सरकार अलमलमा परेको छ । सरकारले गत ११ चैत २०७६ देखि कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै लकडाउन घोषणा गरेर अत्यावश्यकबाहेकका सवारीसाधन चलाउन र आवतजावतमा रोक लगाउँदै आएको छ ।

लामो समयसम्म लकडाउनका कारण सर्वसाधारण, श्रमजीवी, मजदुर तथा व्यवसायीले लकडाउनको स्वरूप परिवर्तन गर्न दबाब दिँदै आएपनिस्वरूप कस्तो बनाउने भन्नेमा नै सरकार अन्योलमा परेको छ । एकातर्फ लकडाउन खुकुलो बनाउन दिनदिनै जनदबाब बढिरहेको छ भने अर्कातर्फ दिनहुँ कोरोना भाइरसका संक्रमित थपिने क्रम बढ्दो छ । मंगलबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार नाघेको छ ।

सरकारले लकडाउनको स्वरूप परिवर्तन गर्न ढिला गर्दा काठमाडौं उपत्यकालगायतका सहरमा व्यवसायीले एकतर्फी रूपमा पसल खोल्न थालेका छन् । सडकमा सवारीको चापसमेत बढ्न थालेको छ ।

मन्त्रिपरिषद्को गत १७ जेठमा बसेको बैठकले पछिल्लोपटक ३२ जेठसम्म लकडाउन अवधि बढाउँदै क्षेत्रगत रूपमा खुकुलो बनाउने र कडाइ गर्ने जिम्मा समन्वय समितिलाई दिएको थियो । पुनः बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन स्वरूप परिवर्तनको कार्ययोजना पेस गर्न समितिलाई जिम्मेवारी प्रदान गरेको थियोे । समितिको यसअघिको बैठकले तहगत रूपमा लकडाउन खुकुलो बनाउन सिफारिस गर्ने निर्णय गरिसकेको छ । पुनः मन्त्रिपरिषद् बैठकले कार्ययोजना पेस गर्न भनेपछि भने समिति पनि अलमलमा परेको पाइएको छ ।

गत बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा पनि लकडाउन खुकुलो बनाउने विषयमा छलफल भएको थियो । बैठकले कुनै निर्णय गर्न नसकेपछि कस्तो मोडालिटी तय गर्न सकिन्छ भनेर त्यसको तयारीको जिम्मेवारी समितिलाई दिएको थियो । मन्त्रिपरिषद् बैठकले लकडाउन खुल्ने मोडालिटीसहितको कार्ययोजना पेस गर्न जिम्मा दिएपछि समितिको लगातार बैठक बस्दै आएपनि कुनै निष्कर्ष निस्कन सकेको छैन ।राजधानी दैनिकबाट …..

प्रतिकृया दिनुहोस्