RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/२/३२ गते
७५० पटक

लकडाउनका कारण पेट्रोलियम पदार्थको आयातमा ७० प्रतिशतले कमी आएको छ । सरकारले कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्नका लागि चैत ११ देखि लकडाउन गरेको थियो । लकडाउनका कारण इन्धनको खपत कम हुँदा आयातमा ७० प्रतिशतले कमी भएको नेपाल आयल निगमले जानकारी दिएको छ ।
निगमका अनुसार सामान्य अवस्थामा मासिक १२ अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात हुने गरेकोमा लकडाउनयता चार अर्ब रुपैयाँ बराबरको इन्धन आयात भएको हो । पेट्रोलियम पदार्थ आयात गरेवापत मासिक पाँच अर्ब राजस्व संकलन हुदै आएकोमा अहिले घटेर २ अर्बमा झरेको छ । सामान्य अवस्थामा मासिक एक लाख ३५ हजार किलोलिटर डिजल आयात हुने गरेकोमा लकडाउनपछि ४० हजार किलोलिटर डिजेल आयात भएको छ । यस्तै, सामान्य अवस्थामा मासिक ५० हजार किलोलिटर पेट्रोल आयात हुने गरेकोमा लकडाउनपछि २० हजार किलोलिटर डिजेल आयात भएको छ ।

मासिक ६ सयदेखि ७ सय किलोलिटर हवाई इन्धन खपत हुने गरेकोमा लकडाउनपछि हवाई इन्धनको आयात ठप्प भएको छ । लकडाउनका कारण आन्तरिक र वाह्य विमान उडानमा रोक लगाएपछि हवाई इन्धनको खपत हुन सकेको छैन । निगमका प्रवक्ता विनितमणि उपाध्यायले लकडाउनपछि इन्धनको खपत नै नभएकाले आयातमा कमी भएको बताए । लकडाउन अवधिमा ७० देखि ८० प्रतिशत इन्धन आयातमा कमी आएको उनको भनाइ छ । निगमका अनुसार मार्च महिनामा४७ हजार आठ किलोलिटर पेट्रोल आयात भएकोमा अप्रिल महिनामा ४ हजार ६ सय ८४ किलोलिटर पेट्रोल आयात भएको छ ।
मे महिनामा २० हजार दुई सय ८ किलोलिटर पेट्रोल आयात भएको छ । यस्तै मार्च महिनामा एक लाख एक लाख १७ हजार ७ सय किलोलिटर डिजेल आयात भएकोमा अप्रिल महिनामा ३९ हजार ८ सय ४८ किलोलिरट आयात भएको छ । यस्तै मे महिनामा ९३ हजार ७६ किलोलिटर डिजेल आयात भएको छ ।
मार्च महिनामा ४५ हजार दुई सय ९९ सय मेट्रिक टन खाना पकाउने एलपीजी ग्यासको आयात भएकोमा अप्रिल महिनामा ३५ हजार दुई सय १८ मेट्रिक टन आयात भएको छ । यस्तै मे महिनामा ३१ हजार ६ सय ७७ मेट्रिक टन ग्यास आयात भएको निगमको भनाइ छ ।

बढ्न थाल्यो इन्धन खपत
सरकारले लकडाउन खुकुलो बनाएलगत्तकै बजारमा पेट्रोलियम पदार्थको खपत बढेको छ । निगमको थानकोट डिपोबाट तीन दिनदेखि दैनिक पेट्रोल ८ लाख लिटर र डिजल १६ लाख लिटरको हाराहारीमा बिक्री भएको छ । निगमका प्रवक्ता उपाध्यायले लकडाउन खुकुलो बनेसँगै पेट्रोलियम पदार्थको खपत बढन थालेको बताए । लकडाउनको अवधिमा पेट्रोल १ लाख र डिजल २ लाख लिटरको हाराहारीमा बिक्री हुने गरेको थियो । सरकारले ८० दिनपछि लकडाउन खुकुलो बनाउँदै निजी सवारी साधन जोरविजोरबाट चलाउन दिन थालेको छ । निगमका अनुसार उद्योग र निर्माणका काम खुला गरेपछि डिजलको बिक्री बढेको छ । अहिले कृषिमा समेत माग बढेकाले डिजलको बिक्री बढेको उपाध्यायको भनाइ छ । सामान्य अवस्थामा मुलुकभर दैनिक पेट्रोल ३० लाख लिटर र डिजल ८० लाख लिटर बिक्री हुन्थ्यो । लकडाउन खुकुलो भएसँगै बजारमा निजी सवारी साधन चल्न थालेसँगै इन्धनको खपत बढ्न थालेको हो । कारोबार दैनिक

प्रतिकृया दिनुहोस्