RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/३/१ गते
५८६ पटक

काठमाडौं । सरकारले लकडाउनका कारण विद्यालय जान नपाएका विद्यार्थीहरुका लागि आजदेखि रेडियो र टेलिभिजनबाट पढाउन सुरु गर्ने भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले १८ जेठमा ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७’ जारी गरी १ असारदेखि अनिवार्य कार्यान्वयन गर्न आग्रह गरेको थियो। सोहीबमोजिम आजदेखि रेडियो, टेलिभिजन, भर्चुअल, स्वःअध्ययन सामग्रीलगायत विधिबाट वैकल्पिक अध्यपन शुरु भएको हो।  त्यसका लागि शिक्षा मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव विकास स्रोत केन्द्र श्रव्यदृश्य शाखाले  समय तालिका समेत सार्वजनिक गरेको छ। जसअनुसार असार १ गतेदेखि ३१ गतेसम्म नेपाल टेलिभिजनको एनटीभी प्लसबाट विषयगत पाठ पढाइ हुनेछ।

यस्तै कक्षा ९ र १० को विषयगत पाठहरु भने डिस होम, नेट टिभी, म्याक्स टिभीको स्कुल एजुकेसन च्यानलबाट प्रसारण हुने शिक्षा तथा मानव विकास स्रोत केन्द्र श्रव्यदृश्य शाखाले जानकारी दिएको छ। कोरोना महामारीका कारण तत्काल विद्यालय खुल्ने अवस्था नदेखिएपछि सरकारले विद्यार्थीको पढाइलाई निरन्तरता दिने उद्देश्यले घरमै बसेर पढ्ने व्यवस्था मिलाएको हो।

लकडाउनका कारण विद्यालय तहमा अध्ययनरत ७७ लाख विद्यार्थी प्रभावित बनेका छन्। सामुदायिक क्षेत्रका ५७ लाख र निजीका २० लाख गरी ७७ लाख विद्यार्थी आजदेखि वैकल्पिक अध्ययनमा जान लागेका हुन्।

प्रतिकृया दिनुहोस्