RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/३/१ गते
१०६७ पटक

कर्णाली प्रदेश सरकारले आगामी आवका लागि करिब ३३ अर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउँदै छ । अहिलेको अवस्थामा चालू आवकै हाराहारीमा बजेट ल्याउन लागिएको आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले जानकारी दिए ।

संघीय सरकारले कर्णाली सरकारलाई समानीकरण अनुदान १० अर्ब र राजस्व बाँडफाँटतर्फ ७ अर्ब गरी १७ अर्बको सिलिङ पठाएको मन्त्रालयका प्रवक्ता दिलीप केसीले बताए । ‘अहिले बजेट बढेर आउनुपर्ने हो,’ केसीले भने, ‘आन्तरिक स्रोत हामीले अनुमान गरेभन्दा धेरै घट्न सक्छ, त्यसैले चालू खर्च कम गरेर प्राथमिकतामा परेका योजनामा बजेट बढाउने गरी काम गरिरहेका छौं ।’

बजेटमा स्वास्थ्य, विपद्, रोजगारी र कृषिलाई प्राथमिकतामा राखिने मन्त्री ज्वालाले बताए । ‘आगामी आवमा पूर्वाधारलाई प्राथमिकतामा राखिनेछैन,’ उनले भने, ‘अहिलेको परिस्थितिलाई हेरेर विदेशबाट फर्किएका युवाका लागि रोजगारी सिर्जना गर्ने खालका योजना प्राथमिकतामा पारिनेछ ।’

बजेटका लागि मन्त्रालयले सात वटै मन्त्रालयमा सिलिङ पठाएको थियो । आर्थिक मन्त्रालयले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ३० करोड ८० लाख, सामाजिक विकास मन्त्रालयमा ३ अर्ब २५ करोड, आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा ३५ करोड, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा ३ अर्ब ५० करोड, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा १ अर्ब ८७ करोड, भौतिक पूर्वाधार विकास मन्त्रालयमा पुँजीगततर्फ ५ अर्ब ९० करोड र चालुतर्फ ४५ करोडको बजेट सिलिङ पठाएको हो ।कान्तिपुर दैनिकबाट

प्रतिकृया दिनुहोस्