RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/३/२ गते
६३८ पटक

काठमाडौँ, असार २ गते । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको लामो बन्दाबन्दीपछि सोमबारदेखि सरकारी तथा निजी कार्यालय खुलेका छन् । चैत ११ देखि जारी बन्दाबन्दीमा आवश्यक सेवाबाहेक सरकारी तथा निजी कार्यालय, व्यवसाय, उद्योग बन्द रहेका थिए । लामो बन्दपछि खुलेकाले कतिपय कार्यालयले व्यवस्थापन मिलाउने क्रममा बिहान १० बजे मात्र कार्यालय सुरु गरेका थिए । मङ्गलबारदेखि सरकारी कार्यालय दुई समूह (सिफ्ट)मै सञ्चालन हुने सम्बन्धित कार्यालयले जनाएका छन् ।
कोरोना महामारी नियन्त्रणमा नआइसकेकाले कार्यालयहरूमा उच्च सतर्कता अपनाइएको छ । सेवाग्राहीलाई पनि आवश्यक काम परे मात्र कार्यालय आउन आग्रह गरिएको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले पहिलो दिन भएकाले सेवाग्राही कमै आएको जानकारी दिनुभयो । सो विभागमा यसअघि दैनिक पाँच सयभन्दा बढीले सेवा लिने गरेकामा सोमबार १० जना मात्र आएका थिए ।
उहाँले भन्नुभयो, “जनतामा कोरोनाको त्रास छ, सबैतिर सतर्क भएर काम गर्नुपर्छ । त्यही भएर सेवाग्राही नआएका होलान् तर विस्तारै यो क्रम बढ्दै जानेछ ।” उहाँले मङ्गलबारदेखि दुई सिफ्टमा सेवा प्रवाह हुने जानकारी दिनुभयो । महानिर्देशक दाहालका अनुसार कार्यालयको सोधपुछ कक्षलाई व्यवस्थित गरी फोन, ईमेल र एसएमएसबाट आवश्यक जानकारी उपलब्ध गराउने प्रयास भइरहेको छ । मालपोत कार्यालय ललितपुरका प्रमुख सुबोध खनालले दुई सिफ्टमा काम गर्न अप्ठ्यारो भएको बताउनुभयो । उहाँले भन्नुभयो, “बिहानको सिफ्टमा सेवाग्राही नै आउँदैनन्, कार्यालय मात्र कुरेर बस्नुपर्छ । जब कर्मचारी बिहानको खाना खान जान्छन् अनि सेवाग्राही आउन थाल्छन् । त्यसले सेवा प्रदानमा समस्या भएको छ ।”
उहाँले भन्नुभयो, “बरु १० देखि ६ बजेसम्म गर्दा राम्रो, यो बिहानको सिफ्टले हैरानी मात्र बढाएको छ, फाइदा छैन ।” उहाँका अनुसार मालपोतमा बिहानको सिफ्टमा दुई जना सेवाग्राही मात्र आएका थिए । त्यसपछिको सिफ्टमा जम्मा ५० जना सेवाग्राही आएका थिए । ललितपुर मालपोतमा सोमबार १७ वटा रजिस्ट्रेसन पास र १४ वटा जग्गा रोक्का कार्य भएका छन् । त्यसबाट ३६ लाख ७४ हजार १५५ रुपियाँ राजस्व उठेको थियो ।
नापी कार्यालय ललितपुरको अवस्था पनि त्यस्तै थियो । सोमबार पहिलो दिन पाँच प्रतिशत सेवाग्राही पनि आएका थिएनन् । नापी कार्यालयका सर्वेक्षक शुभकान्त झाका अनुसार अहिले मानिसहरू डरले गर्दा भीडभाडमा जान मान्दैनन् । त्यही भएर सेवाग्राहीको उपस्थिति निकै कम छ ।
जेठ २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार असार १ देखि सबै सरकारी कार्यालय बिहान ८ देखि साँझ ८ बजेसम्म सञ्चालन गरिने भएको छ । सो निर्णयअनुसार जनस्वास्थ्य र सुरक्षा मापदण्डका आधारमा आवश्यक प्रोटोकल बनाई दुई सिफ्टमा सेवा दिने व्यवस्था सम्बन्धित कार्यालयले गर्नुपर्नेछ ।
यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र, ठूलो भ¥याङका शाखा अधिकृत उपेन्द्र शाहले पहिलो दिन भएकाले सेवाग्राही त्यति नआएको बताउनुभयो । उहाँका अनुसार स्मार्ट कार्ड वितरण, नवीकरण र पासको राजस्व बुझ्नेलगायत सेवा सुरु भएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रबहादुर सुवेदीले सोमबार सेवाग्राहीको काम एकदमै कम भएको बताउनुभयो । उहाँले सेवाग्राहीले सबभन्दा बढी फोनमा सुझावहरू मागेको जानकारी दिनुभयो ।
महानिर्देशक सुवेदीका अनुसार विभागबाट आइतबार, मङ्गलबार र शुक्रबार ६० लाख रुपियाँभन्दा कम पुँजी भएका प्राइभेट फर्म नवीकरण, संशोधन, प्रतिलिपि र खारेजीका कार्य हुनेछ । त्यस्तै सोमबार प्राइभेट फर्म नयाँ दर्ता, बुधबार ६० लाख रुपियाँभन्दा माथि पुँजी भएका प्राइभेट फर्म नवीकरण, संशोधन, प्रतिलिपि र खारेजी र कम्पनीको व्यापार अनुमति दिने कार्य हुनेछ । बिहीबार साझेदारी फर्म दर्ता, नवीकरण, संशोधन, प्रतिलिपि र खारेजी, एजेन्सी दर्ता र नवीकरण संशोधनलगायत कार्य हुनेछ ।

स्थानीय तहमा पनि काम सुरु
सार्वजनिक तथा सरकारी कार्यालय खुलेसँगै काठमाडौँ उपत्यकाका सबै नगरपालिकामा सेवाग्राहीले सेवा लिन थालेका छन् । सेवा लिन आउनेमा धेरैजसो विकासनिर्माणका कामसँग सम्बन्धित छन् भने केहीले कर पनि तिरेका छन् ।
महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले कतिपय वडा कार्यालयमा सेवाग्राहीले व्यवसाय कर, व्यवसाय दर्ता लगायतका विषयमा जिज्ञासा राखेको जानकारी दिनुुभयो । यसैगरी यही ४ गते महानगरपालिकाको नगरपरिषद् बस्ने भएकाले त्यसको तयारीमा कर्मचारीहरू जुटेका छन् ।
महानगरपालिका वडा नं. ९ का अध्यक्ष रामकृष्ण जयखूका अनुसार घरजग्गा कर र मालपोत तिर्न सेवाग्राही आए । वडा नं. ८ का अध्यक्ष दिनेश डङ्गोलका अनुसार यो वडामा नयाँ व्यवसाय दर्ताको निवेदन निकै पर्न आएको छ । वडा नं. ७ का वडा सदस्य कृष्णमणि भट्टराईका अनुसार वडामा मालपोत शुल्क र जरिवानाका विषयमा जिज्ञासा राख्नेदेखि मालपोत र व्यवसाय कर तिर्न एवं जिज्ञासा लिन सेवाग्राही वडा कार्यालय आए ।  गोरखापत्र दैनिकबाट

प्रतिकृया दिनुहोस्