RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/३/३ गते
५६७ पटक

सिमकोट, असार ३ गते । राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरको निर्माण कार्य बन्दाबन्दीमा पनि जारी रहेको छ । बन्दाबन्दीको लामो समयका बीच पनि कर्णाली करिडोरको सडकको कामले निरन्तरता पाउँदै आएको छ ।
स्थानीय कामदार र नेपाली सेनाका २०६ जना गरी ५५६ जना कामदारले हुम्ला खण्डको अदानचुली गाउँपालिकाको गल्फागार्डदेखि सलिसल्लासम्म काम तीव्र रूपमा गरिरहेका छन् ।
खुलालु, लैफु, कवाडी हुँदै सलिसल्ला सडक निर्माण आयोजनाका योजना प्रमुख मिलन कार्कीका अनुसार करिडोरमा कामदारले पुल निर्माण गर्नेदेखि भीर फुटाउने, विस्फोटन गर्ने र ग्याबिन भर्ने काम भइरहेको छ ।
हाल नेपाली सेनाले निर्माण कार्य अगाडि बढाएको खण्डमा नयाँ कामदार नलिएर बन्दाबन्दी अगाडि काममा प्रयोग हँुदै आएका कामदारलाई नै सामाजिक दूरी कायम गरेर सुरक्षासहितको विधि अपनाएर काम भइरहेको छ ।
प्राथमिक उपचार विधि, औषधि र कामदारको बिमासमेत गरिएको छ । सर्केगार्ड गाउँपालिकाको तुम्चदेखि सलिसल्ला खण्डको सबै भागमा कामदार खटाएर सडक निर्माण गर्ने काम भइरहेकाले असार मसान्तसम्म प्रारम्भिक ट्रयाक खोल्ने कार्य सम्पन्न गर्ने लक्ष्य नेपाली सेनाको रहेको छ ।
हुम्ला खण्डको कवाडी खोलादेखि सलिसल्लासम्मको ६१ किलोमिटर दूरी रहेको छ । जसको अधिकांश भागमा सडकको ट्रयाक खोल्ने कार्य पूरा भएको छ । अब सात किलोमिटर असजिलो र चट्टानी भागमा काम तीव्र भइरहेको सेनाले जनाएको छ । नेपाली सेनाको लक्ष्य आगामी असार मसान्तसम्म हुम्ला खण्डको ६१ किलोमिटर सडकको प्रारम्भिक ट्रयाक खोल्ने रहेको छ । आगामी मङ्सिर महिनासम्म उक्त खण्डको विस्तारको काम सकेर सडक विभागलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।गोरखापत्र दैनिकबाट

प्रतिकृया दिनुहोस्