RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/३/३ गते
५९६ पटक

‘आइसोलेसन वार्डको सरसफाइमा निरन्तर एक हप्ता खटिएपछि अस्पतालले १२ दिन क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरेको छ, तर म क्वारेन्टाइनमा बसेँ भने छोराहरु भोकै हुन्छन्’, बागलुङको बडिगाड गाउँपालिका–३ की ३४ वर्षीया बुद्धिमाया घर्ती भन्नुहुन्छ– ‘१४ र १७ वर्षका अपाङ्गता भएका २ छोरा छन्, श्रीमान् वितेको ६ वर्ष भयो, उनीहरुको म र मेरो उनीहरुबाहेक संसारमा कोही छैन ।’

चैत १५ गते बागलुङ जिल्लामा पहिलो कोरोना संक्रमित भेटिएपछि अहिलेसम्म बुद्धिमाया धौलागिरी अस्पततालको आइसोलेसन वार्डको सरसफाइ र संक्रमितको मनोबल बढाउने काममा लाग्नुभएको छ ।

‘शुरुका दिनमा निकै डर लाग्थ्यो, पीपीई लगाएपछि स्वास फेर्नै ग्राहो हुने, थरथर मुटु काप्ने’, बुद्धिमाया भन्नुहुन्छ– ‘डाक्टर र सिस्टरले सम्झाइबुझाइ गरेपछि आजभोलि बानी परेको छ ।’ आइसोलेसनको सरसफाइमा निरन्तर एक हप्तासम्म खटिएपछि अनिवार्य रुपमा अस्पतालले तोकेको क्वारेन्टाइनमा बस्नुपर्ने अस्पतालले व्यवस्था गरेको छ ।

तर बुद्धिमायालाई अस्पताल र आइसोलेसनको मात्र होइन अपाङ्गता भएका छोराहरुको समेत सरसफाइ, रेखदेख र खानपानको व्यवस्था गर्नुपर्ने भएकाले क्वारेन्टाइनमा बस्ने बातावरण छैन ।

‘अस्पतालमा कार्यालय सहयोगीका रुपमा काम गर्न थालेको तीन वर्ष भयो’, उहाँले भन्नुभयो– ‘अहिलेसम्म यति धेरै डरत्रास कहिलै लागेको थिएन ।’ ‘म आफूलाई कोरोना लागे त सञ्चो होला, अपाङ्गता भएका, जेष्ठ नागरिक र बालबालिकालाई छिटो संक्रमण हुन्छ भन्छन्’, बुद्धिमायाले भन्नुभयो– ‘मेरा अपाङ्गता भएका छोरालाई मेरो कारणले संक्रमण भयो भने कसरी बचाउँला ।’

धौलागिरी अस्पताल बागलुङको आइसोलेसन वार्डमा १ महिला, १ बालक र १३ जना पुरुषसहित १५ जना छन् । जसमध्ये ११ जना कोरोना संक्रमित हुन् । ३ जना आशंकामा राखिएको छ भने १ बालक आमासँग बसेका छन् ।

उनीहरुलाई खाना, पानी, खाजा लिएर मात्र होइन वार्डलाई कीटाणुमुक्त गर्न स्यानिटाइज गर्ने र सरसफाइ गर्नेसम्मका काममा बुद्धिमायासँगै अस्पतालका २२ सरसफाइ कर्मचारी पालैपालो खटिन्छन् ।

‘घरमा श्रीमती, छोरा, बुहारी र नातिनातिनी छन्, जहिले पनि अस्पतालबाट घर जाँदा बा ले के ल्याइदिनुभयो भनेर दौडेर आउने नातिनातिनी आजभोलि मसँग डराउन थालेका छन्’, बुद्धिमाया जस्तै अस्पतालको आइसोलेसन वार्डमा रहेका कोरोना संक्रमितको सेवामा खटिएका बागलुङ नगरपालिका–४ कुँडुलेका ५३ वर्षीय टीकाराम आचार्य भन्नुहुन्छ– ‘चैत १५ गतेबाट घरको कोठालाई क्वारेन्टाइन बनाएर छुट्टै बसेको छु ।’

संक्रमितलाई उच्च मनोबल बनाउनुस्, छिट्टो निको हुन्छ भन्ने गरे पनि कहिलेकाहीं आफ्नै मनोबल कमजोर हुने उहाँको भनाइ छ । ‘अस्पतालमा कोरोनाका मात्र विरामी छैनन्, हामीले पालैपालो सबै ठाउँको सरसफाइ गर्नुपर्छ’, आचार्य भन्नुहुन्छ– ‘आइसोलेसनमा रहेका संक्रमितमा कोरोनाका लक्षण नदेखिए पनि उनीहरुलाई भेट्दा मन झसङ्ग हुन्छ ।’

आचार्यले धौलागिरी अस्पतालमा कार्यालय सहयोगीको रुपमा काम गर्न थालेको ११ वर्ष पुगेको छ । सधैं घरजस्तै लाग्ने अस्पतालले पछिल्लो ३ महिना यता निद्रामा पनि तर्साउने गरेको उहाँको भनाइ छ । पीपीई लगाएपछि सुरक्षित छु भन्नेमा ढुक्क भए पनि परिवारको छेउमा जाँदा भने आफ्नै सुरक्षाप्रति शंका लाग्ने गरेको आचार्यले बताउनुभयो । www.newsofnepali.com

प्रतिकृया दिनुहोस्