RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/३/४ गते
१६२२ पटक

कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले नेपाली किसानले कृषि कर्म गरेवापत मासिक कम्तिमा ३२ हजार रकम बचतको व्यवस्था राज्यले गर्ने बताएका छन् । बिहीबार राष्ट्रिय सभामा उनले सरकारले उत्पादनको बजारको ग्यारेन्टी गर्ने बताएका हुन् ।

कृषि कर्म गरेर बाँच्नका लागि कृषकलाई बाँच्ने वातावरण बनाउनु आवश्यक रहेको र कृषिमा टिक्नका लागि मासिक ३२ हजार बचत हुनुपर्ने अध्ययनले नै देखाएको उनले बताए । “बिरुवासँग ६ महिनाको बच्चा जस्तो भावनात्मक लगानी हुुन्छ, यसरी हुर्काएको बालीको नाफा भन्ने होइन,” भुसालले भने, “किसानले दुई छाक खाएर पनि न्युनतम बचतको व्यवस्था गर्छाैं ।”

संरक्षित कृषि, सुनिश्चित बचतको अवधारणा अनुरुप बीउ, पानी, बीजुली, सुलभ ऋण, बिमा र प्राविधिकमा किसानको पहुँच स्थापित गर्ने योजना रहेको भुसालले बताए । किसानले गरेको उत्पादनको उचित मूल्यको ग्यारेन्टी गर्न समर्थन मूल्यलाई लागू गरिएको बताए ।

कृषिका विषयमा विगतमा चर्चा मात्र भएकाले अब देखिने गरि कृषिमा सुधार गर्ने योजना अगाडि सारिएको उनले बताए । “कृषि, कृषिको महत्व, त्यसको निबन्ध लेखेर, कथा सुनेर कृषि मूलश्च जीवनम् भन्ने पंडितदेखि, स्कुलदेखि सर्वत्र चर्चा गरेर हामी हुर्केर आयौं,”

उनले भने, “राज्यले विगतमा भएका कमी कमजोरी सुधार्दै समस्या समाधानको जिम्मा लिनुपर्छ, जिम्मा लिएन भने हामी लोकतान्त्रिक मुलुक भन्न सुहाउँदैन ।” कृषिमन्त्रीको हैसियतले आफूले आफ्नो हिस्साको जिम्मा लिने प्रतिवद्धता उनको छ ।

प्रतिकृया दिनुहोस्