RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/३/८ गते
८०९ पटक

काठमाडौं । प्रतिनिधि सभा (संसद) को राज्य व्यवस्था तथा सुशासन समितिले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रावधानसहित नागरिकता विधेयक बहुमतले पास गरेको छ ।

आइतबार सिंहदरबारमा बसेको समितिको बैठकले उक्त प्रस्तावसहित नागरिकता ऐन संशोधन विधेयक बहुमतले पारित गरेर संसदमा पठाउने निर्णय गरेकोसमिति सभापति शशी श्रेष्ठले जानकारी दिएकी छन् । समितिको बैठकले नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलाले अंगीकृत नागरिकता लिन चाहेमा बैबाहिक सम्बन्ध कायम भई नेपालमा निरन्तर सात वर्ष स्थायी बसोबस गरेको हुनुपर्ने व्यवस्था थप गरेको छ।

सात वर्ष स्थायी बसोबास गरेको वडा कार्यालयले सिफारिस चाहिन्छ भने विदेशी नागरिकता वा सो सरहको राष्ट्रियता जनाउने प्रमाणपत्र नलिएको भए त्यसको प्रमाण वा लिएको भए परित्यागका लागि कारबाही चलाएको प्रमाण पनि पेश गर्नुपर्नेछ । समितिले आइतबार विधेयकमा अंगीकृत नागरिकता नपाञ्जेल विदेशी महिलालाई स्थायी बसोबास अनुमति पत्र दिने प्रस्ताव पनि ल्याएको छ । यसले राजनीतिक र सरकारी नियुक्ति जागिरबाहेकका विभिन्न ७ वटा अधिकारको व्यवस्था गरेको छ । यो प्रावधान पनि पारित भएको छ । अंगीकृतबाहेक राज्यव्यवस्था समितिले गरेका अन्य प्रस्तावहरु सर्वसम्मतिले पारित भएका छन् ।

समितिले पारित गरेको अंगीकृत नागरिकता सम्बन्धि प्रस्तावको विधेयकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, राजपा, समाजवादी र नेमकिपाले भने फरक मत राखेका छन् । उनीहरुले अहिलेजस्तै विवाह गरेर आएपछि अंगीकृत नागरिकता लिन पाउने व्यवस्था हुनुपर्ने मत राखेका छन्।

कांग्रेस सांसद दिलेन्द्र प्रसाद बडूले अरु बुँदामा आफ्नो सहमति रहेको तर वैवाहिक अंगीकृत नागरिकता विवाह गरेको ७ वर्षपछि दिने व्यवस्थामा सहमत हुन नसकेको बताए । कांग्रेसले समितिमा यसबारे आफ्नो फरक मत पनि दर्ता गराएको छ ।

राजपा नेता राजेन्द्र महतोले अंगीकृत नागरिकले नेपालको राष्ट्रियतामा कहाँ खलल पुर्‍याएका छन् भन्ने प्रश्न गरेका थिए । उनले यसले संवैधानिकमात्र नभइ पारिवारिक समस्या समेत पैदा हुने बताएका थिए ।

प्रतिकृया दिनुहोस्