RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/३/१० गते
१०८५ पटक

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य तथा व्यापार कम्पनीका कर्मचारीको चरम लापर्बाहीका कारण गोदाममा कुहिएको चामलको छानबिनमा ढिलासुस्ती गरिरहेको छ । ३ मंसिरमा राजधानीमा खाद्यका कर्मचारीको चरम लापर्बाहीका कारण गोदाममै कुहियो लाखौं मूल्यको चामल शीर्षकमा प्रकाशित समाचारलाई लिएर छानबिन सुरु गरेको अख्तियारले अझै टुंगो लगाउन सकेको छैन ।

खाद्य कम्पनीका कर्मचारीको लापर्बाहीले थापाथलीस्थित कम्पनीको गोदाममा ४० लाख ४३ हजार ९ सय २६ रुपैयाँ मूल्यबराबरको ४ सय ८७ क्विन्टल २२ किलो बास्मती चामल कुहिएको छ । सो चामल खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खानयोग्य नभएको प्रमाणितसमेत गरिसकेको छ । १ पुसमा खाद्य विभाग, जिल्ला प्रशासन खाद्य कम्पनी स्वयंको रोहवरमा थापथालीस्थित गोदाममा ४ सय ८७ क्विन्टल २२ केजी बास्मती चामल गोदाममै कुहिएको प्रस्ट भएको पाइएपछि ‘नष्ट गर्नुपर्ने’ भनेर मुचुल्का समेत गरी सकेको छ ।

तर, खाद्य विभाग, जिल्ला प्रशासन खाद्य कम्पनी स्वयंको रोहवरमा थापथालीस्थित गोदामको बास्मती चामल कुहिएको प्रस्ट भएपछि ‘नष्ट गर्नुपर्ने’ भनेर मुचुल्का गरिसकेको हुँदैहुँदै छानबिनकै लागि अख्तियार कुनै पनि सम्बन्धित निकायको रोहवरबिना नै आफैंले खाद्य कम्पनीको गोदाममा कुहिएको चामल चेकजाँचका लागि ७ पुसमा खाद्य विभागमा १० वटा नमुना बुझाएको थियो ।

अख्तियारले विभागलाई बुझाएको १० वटै नमुनाको गुणस्तर चेकजाँच गरी विभागले सो चामल खानयोग्य नभएको प्रमाणित गरी १० पुसमा नै अख्तियारलाई रिपोर्ट बुझाइसकेको छ । खाद्य व्यापार कम्पनीका कर्मचारीको लापर्बाहीले गोदाममा चामल कुहिएको प्रस्ट हुँदा समेत अख्तियारले छानबिन सुरु गर्न थालेको आठ महिना बितिसक्दा पनि गोदाममा लाखौंको चामल कुहाउने कर्मचारीलाई कुनै कारबाही गर्न सकेको छैन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले थापाथलीस्थित गोदाममा कोहिएको चामलमा अनुसन्धानका क्रममा नै रहेको बताए । प्रवक्ता कोइरालाले अहिले खाद्य व्यापार कम्पनीका सम्बन्धित कर्मचारीसँग स्पष्टीकरण सोध्ने काम भइरहेको बताए । उनले कोरोनाको त्रासका कारण सो कार्यमा केही समस्या भएको बताए । गोदाममा कुहिएको चामलमा को जिम्मेवार छन् भन्ने कुरा पूर्ण छानबिन र अनुसन्धान गरिसकेको पछि मात्र थाहा हुने प्रवक्ता कोइरालाले बताए ।

खाद्य व्यापार कम्पनीका नायब महाप्रबन्धक श्रीमणि खनालले अख्तियारले दुरुपयोग अनुसन्धान आयोगको छानबिन कार्य ढुलो हुँदा गोदाममा रहेको राम्रो चामल पनि बिक्री सक्ने उनले बताए । ४ सय ८७ क्विन्टल २२ किलो राखेको चामल गोदाममा खाद्य विभागले सिल गरेको र अख्तियारले छानबिन गरिरहेको हुँदा चामल लागेको कीरा मार्न नसक्दा अन्य चामल पनि बिग्रन सक्ने सम्भावना धेरै नै भएको उनले बताए । छानबिन कार्य ढिला हुँदा गोदाममा भएको चामल पशुपन्छीलाई दानाका लागि समेत प्रयोग गर्न नसकिने उनले बताए । त्यसकारण अख्तियारले छानबिन कार्य सक्दो छिटोभन्दा छिटो टुंग्याइदिए खाद्य कम्पनीलाई अघि बढ्न सहज हुने उनले बताए ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको हुँदा विभागले खाद्यको गादोममा कुहिएको चामल नष्ट गर्न अघि बढ्न नसकेको बताए । प्रवक्ता महर्जनले सो गोदाममा रहेको चामल पुनः प्रशोधन गरेर खान नमिल्ने बताए । दानाको लागि प्रयोग गर्न पशुपन्छीलाई दानाका लागि प्रयोगमा दिन पनि पशु दानाको गुणस्तर मापदण्डसँग मिल्नुपर्ने बताए । उनले गोदामको चामल हेर्दा पशु दानाको गुणस्तर मापदण्डसँग मिल्ने अवस्था नरहेको बताए ।

स्रोतका अनुसार आर्थिक वर्ष २०७१÷७२मा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले विभिन्न जिल्लाबाट खरिद गरेको धान जनकपुरस्थित मिलमा कुटाएको थियो । सो चामल कम्पनीले आर्थिक वर्ष २०७२÷७३ मा करिब ५ हजार क्विन्टल कम्पनीको थापाथलीस्थित अञ्चल कार्यालयको गोदाममा ल्याएर भण्डारण गरेको थियो ।

कम्पनीका अनुसार आव २०७२÷७३ जनकपुर मिलबाट ल्याइएको करिब ५ हजार क्विन्टल चामलमध्ये ४ सय ८७ क्विन्टल २२ किलो बास्मती चामल कुहिएको छ । कम्पनीको धान किन्दा र कुटाउँदासम्मको लागत खर्च प्रतिकिलो ६८ रुपैयाँ मात्र परेको थियो । सो चामल काठमाडौं आइपुग्दा प्रतिकिलो तीन रुपैयाँले ढुवानी भाडा जोड्दा ७१ रुपैयाँ प्रतिकिलो पर्न जान्छ । कम्पनीले निजी व्यापारीजस्तै उपभोक्ताबाट बढी नाफा असुल्नका लागि चामलको प्रतिकिलो १ सय ३० रुपैयाँ मूल्य निर्धारण गरेको स्रोतको दाबी छ ।

यदि, कम्पनीले थोरै मुनाफा राखेर बिक्री गरेको भए यति ठूलो परिमाणको चामल गोदाममै कुहिने अवस्था नआउने स्रोतको भनाइ छ । कम्पनीले २०७२÷७३ मा बिक्री गरेको प्रतिकिलो १ सय ३० रुपैयाँका दरले हिसाब गर्ने हो भने हाल थापाथली गोदाममा ६३ लाख ३३ हजार ८ सय ६० मूल्यको चामल कुहिएको स्रोतको भनाइ छ ।

थापाथलीस्थित गोदाम नम्बर २४ मा ३२३ दशमलव १७ क्विन्टल र ३० नम्बर गोदाममा १६४ दशमलव शून्य ५ क्विन्टल बास्मती चामल कुहिएको पाइएको छ । कम्पनीले सो बास्मती चामल प्रतिकिलो ८३ रुपैयाँका दरले बिक्री गर्दै आएको छ । प्रतिकिलो ८३ रुपैयाँका दरले हिसाब गर्दा ४० लाख ४३ हजार ९ सय २६ रुपैयाँको चामल गोदामै कुहिएको अवस्थामा छ ।राजधानी दैनिकबाट

प्रतिकृया दिनुहोस्